coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रेमलाई जुट्यो ९५ लाख ‘ब्लड मनी’

इलाम- २ वर्षयता साउदी अरबको जेलमा जीवन बिताइरहेका जिल्लाका एक युवकलाई आवश्यक ‘ब्लड मनी’ जुटेको छ। माई नगरपालिका–४ शुक्रबारे बजारका ३१ वर्षे प्रेमबहादुर राईलाई जेलबाट उद्धार गरी नेपाल फर्काउन ९५ लाख रुपैयाँभन्दा बढी ब्लड मनी संकलन भएको हो।

प्रेमका गाउँबासी, जिल्लाबासी, देशबासी र देशबाहिरका नेपालीसमेतको सक्रियतामा यो रकम जम्मा भएको ‘प्रेम राई बचाउ अभियान’का माई नगर संयोजक दुर्गाराज शंकरले बताए। ‘हामीले लगातार रकम संकलन अभियान चलायौं, रकम संकलनका लागि माई नगरपालिका र काठमाडौंमा २ वटा समिति बनाएका छौं,’ उनले भने, ‘अब रकम पुग्ने भएकाले रकम संकलन गरिरहेको बैंक खाता बन्द गरेका छौं ।’ उनले माई नगरपालिकाबाट मात्रै ४ लाख रुपैयाँ जम्मा भएको बताए। ‘स्थानीय विद्यालय, संघ–संस्था र व्यक्तिले रकम सहयोग गर्नुभयो,’ उनले भने, ‘१ हजारदेखि ५० हजार रुपैयाँसम्मको सहयोग एकै ठाउँबाट आयो।’

प्रेमलाई बचाएर घर ल्याउन माई नगरपालिकाका मेयर दीपककुमार थेवेसमेत सक्रियतासाथ जुटेका छन् । उनले माई नगरपालिका, इलाम जिल्ला र देशभर छरिएका नेपालीले मात्र नभई विदेशमा पसिना बगाइरहेका नेपाली युवाले प्रेमलाई बचाउन महत्वपूर्ण सहयोग गरेको बताए । मेयर थेवेले परराष्ट्र मन्त्रालयले प्रेमको उद्धारका लागि पहल गरिरहेको र केही दिनभित्रैमा काठमाडौं पुग्न प्रेमकी पत्नीलाई बोलाएको उनले बताए।

प्रेमको ब्लड मनी जुटाउन खोलिएको बैंक खाता बन्द भइसकेपनि उनलाई अझै सहयोग जुट्नेक्रम जारी छ। शुक्रबार पनि युवा संघ नेपाल माई नगरपालिका, नगर खेलकुद विकास परिषद र मलेसियामा रहेका नेपालीले एक कार्यक्रम गरी उनको परिवारलाई आर्थिक सहयोग गरे। माई नगरपालिका–९ चिसापानी घर भइ मलेसियामा कार्यरत बीर्ख लावती, पिटर लावती, बमबहादुर लावतीलगायत १० जनाले संकलन गरेको रकम शुक्रबार प्रेमकी श्रीमती सरितालाई प्रदान गरियो । युवा संघ नेपाल र नगर खेलकुद परिषद्ले संकलन गरेको ५१ हजार र मलेसियामा काम गर्ने नेपालीले संकलन गरेको ४६ हजार ६ सय १५ रुपैयाँ परिवारलाई प्रदान गरिएको नगर खेलकुद परिषद्का संयोजक अनिल राईले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका प्रेम नदिम रियादको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन्। उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका थिए। प्रेमकी पत्नी सरिताका अनुसार सन् २०१२ मा साउदी पुगेका प्रेम घर आएर पुनः जनवरी २०१६ मा त्यही कम्पनीमा कामका लागि गएका थिए । उनी अल सहलावी कम्पनीको गाडी (लहरी) चलाउँथे । आफूले चलाएको गाडीमा रहेको केबुलको तार चोरी भएपछि उनी त्यसैको आरोपमा जेल परेका हुन्।

       ‘जेलमा बस्दा तिर्खा लागेका बेला पानीसमेत पिउन नदिएर पतिलाई बिजोक बनाइएको छ,’ प्रेमले आफूसँग पोखेको दुःख सुनाउँदै सरिताले भनिन्, ‘कम्पनीले झुटो आरोप लगाएर जेलमा राखेको छ ।’       गाडीमा रहेको सामान लिएर जाँदै गर्दा १० किलोमिटर टाढा पुगेपछि गाडी रोकेर प्रेम साथी भेट्न गएका थिए । त्यहीबेला लहरीसहित तार चोरी भएको थियो । २ दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा गाडी भेटिएपनि तार भने भेटिएन । यही आरोपमा उनले २ महिना कैद र ५० कोर्राको सजाय भोगिसकेका थिए । तर, घर फर्कने बेला पुनः कम्पनीले अर्को मुद्दा लगाएर विमानस्थलबाटै पक्राउ गराइ उनलाई ३ लाख रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिमाना तोकेको थियो ।

       राई काठमाडौंको क्राउन इम्प्लोइमेन्ट प्रालिबाट लहरी ड्राइभिङमा साउदी गएका हुन् । आर्थिक अवस्था दयनीय रहेका राईको घरमा पत्नी, बालबालिका र वृद्ध आमा–बाबु मात्रै छन्।

प्रकाशित: १२ जेष्ठ २०७५ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App