७ वैशाख २०८१ शुक्रबार
अर्थ

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

रौतहटको गरुडा स्थित श्रीराम सुगर मिल्स । तस्बिर: मदन ठाकुर

रौतहट– रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको किसानहरु बताउँछन्।

गढीमाई नगरपालिका ४ का वीरेन्द्र झाले रकम अभावको कारण छोरालाई पढाउन पठाउन नसकेको बताएका छन्। काठमाडौँमा अध्ययन छोरो पैसा लिन घर आएको तर रकमको व्यवस्था गर्न नसक्दा छोराको पढाइलाई नै बाधा पुग्नेगरी घरमै राख्नुपर्ने बाध्यतात्मक अवस्था रहेको झाको भनाइ छ। चिनी मिलबाट झाले करिब पचास हजार रुपैया पाउनु पर्ने बाँकी रहेको बताउँदै झाले ब्याजमा साहुसित ऋण लिन खोज्दा सामान्य परिवारको भएको कारण कुनै साहुले दिन नमानिरहेको दुखेसो गरेका छन् । उद्योगलाई बेचेको उखुको भुक्तानी आउने भरमा पहिले नै आफूले ऋण लिइसकेको तर उद्योगले भुक्तानी नदिएर साहुलाई तिर्न नसकिएको कारण कुनै साहुले आफूलाई नपत्याउँदा घर व्यवहार धान्न निकै मुस्किल भएको झाको भनाइ छ ।

यमुनामाई गाउँपालिका ४ का जयनारायण यादवले पनि उद्योगसँग करिब १६ लाख रुपैयाँ लिनुपर्ने बाँकी रहेको बताउँदै उद्योगले भुक्तानी नदिँदा आफूले महंगो व्याजमा ऋण लिनुपरेको बताएका छन्। चिनी उद्योगले समयमा भुक्तानी नदिँदा खेती गर्न समेत समस्या भएको यादवको भनाइ छ । आफ्नो २० बिगाहा खेतमा उखु रहेको बताउँदै अगुवा किसान यादवले खेतीको लागि मलखाद किन्न नै समस्या भएको बताउँछन्। आफूले लिएको ऋणको ब्याज निरन्तर बढ्दै गइरहेको तर उद्योगले भने आफूहरुकै पैसाबाट ब्याज खाइरहेकोमा किसानहरु दोहोरो मारमा परेको अगुवा किसान यादवको भनाइ छ ।

झा र यादव त उदाहरण मात्र हुन् । जिल्लाको १४ हजार किसानको उखुको भुक्तानी उद्योगले बाँकी राखेको देखिएको छ । उद्योगले १४ हजार किसानको ५० करोड रुपैयाभन्दा बढी बाँकी राखेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् । उद्योगले हजारौँ किसानको करोडौँ रुपैयाँ बाँकी राखेकोले किसानलाई निकै समस्या भएको यादवको बताउँछन्।

किसानको समस्या उद्योगले बुझ्दै नबुझेकोले किसानले पनि उद्योगको गोदामबाट चिनी निकाल्न दिएको छैन। गोदाममा करिब ३० करोड रुपैयाको चिनी थन्किएको छ। उद्योगले किसानको भुक्तानी दिन सुरु गरेपछि बल्ल किसानले उद्योगको गोदाममा रहेको चिनीलाई गोदामबाहिर निकाल्न दिने बताएका छन्।

गरुडा स्थित श्रीराम सुगर मिल्सका उखु प्रबन्धक सियाराम साहले चालू आर्थिक वर्ष र पहिलेको बाँकी गरी करिब ५० करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको स्वीकार गरेका छन्। किसानले पाउने पर्ने भुक्तानीको विषयमा उद्योग सकारात्मक रहेकोले भुक्तानीको लागि पहल गरिरहेको प्रबन्धक साहको भनाइ छ।

उद्योग मन्त्री मातृका यादवले किसानको रकम तत्काल भुक्तानीको लागि निर्देशन दिएको भए पनि गरुडाको श्रीराम सुगर मिल्सले भने भुक्तानीको लागि आलटाल गरिरहेको देखिएको छ। उद्योग मन्त्रालय र उद्योगमन्त्रीको ध्यान गरुडाको श्रीराम सुगर मिल्सतिर पनि जानुपर्ने किसानको माग रहेको छ। उद्योग मन्त्रालयले पहल नगरेसम्म उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने बताउँदै उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले उद्योग मन्त्रालय र उद्योग मन्त्रीले नै हस्तक्षेप गरेर किसानलाई रकम दिलाउनु पर्ने माग गरेका छन्।

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App