विराटनगर – प्रदेश १को वर्षे अधिवेशन जेठ १७ गते देखि सुरू हुने भएको छ । मन्त्री परिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराह्न ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख तुम्वाहाङलाई प्रदेशसभाको दोस्रो अधिवेशन जेठ १७ गते आह्वान गर्न सिफारिस गरेको थियो। प्रदेश प्रमुखका सचिव रामकृष्ण गुरागाईले शुक्रबार विज्ञप्ती मार्फत प्रदेशसभाको वर्षे अधिवेशन जेठ १७ गते आह्वान गरिएको जानकारी गराएका छन्।
प्रदेशको ऐन कानुन निर्माणमा लागेको प्रदेश सरकारले आगामी अधिवेशनमा कानुनः निर्माणलाई प्राथमिकतामा राखी विधेयकहरू संसदमा पेश गर्ने तयारी गरेको छ। यस्तै वर्षे अधिवेशनमा आगामी आर्थिक वर्ष ०७५/७६को नीति तथा कार्यक्रम पनि पेश हुने छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी गरिरहेको छ। प्रदेश सभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावलीसहित १२ वटा विधेयक पारित गरेको थियो । पहिलो अधिवेशन ९३ दिनसम्म चलेको थियो।
प्रकाशित: ११ जेष्ठ २०७५ १३:३३ शुक्रबार