७ वैशाख २०८१ शुक्रबार
समाज

सुन तस्करी प्रकरण : गोरेको बयान लम्बियो

फाइल फाेटाे

विराटनगर – सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए। 

सुन तस्करी र शाक्य हत्या प्रकरका मुख्य अभियुक्त भएका कारण उनीस“ग घटनाबारे विस्तृत रुपमा सोधपुछ गर्नुपर्ने भएकाले बयान लम्बिएको गौतमले बताए। उनका अनुसार आइतबार सम्ममा बयान सकिने संभावना छ। शुक्रबारसम्म गोरेस“ग २७ पेज लामो बयान लिइएको छ। पहिलो दिन ६ पेजको बयान लिइएको थियो भने दोस्रो दिन १० र शुक्रबार ११ पेजको बयान लिइएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भइरहेको छ। बन्द इजलासमा बयान भइरहेका कारण बयानकाबारेमा कुनै पनि कुरा अदालतले सार्वजनिक नगरेको स्रेस्तेदार गौतमले जानकारी दिए। उनले विभिन्न सञ्चार माध्यममा गोरेले बयानमा भनेको भन्दै अनेक खालका समाचारहरू सम्प्रेषण भइरहेको बारेमा अदालतको ध्यानाकर्षण भएको बताएका छन्। ‘सञ्चारमाध्ययममा आएका समाचारबारे हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने‘बयानको विषयमा अदालतले हालसम्म केही पनि सार्वजनिक गरेको छैन ।’

गोरेका सहयोगी पक्राउ 
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङ उर्लावारीका सुन व्यापारी  रेवत आचार्य पक्राउ परेका छन् । सुन तस्करी र हत्या प्रकरणमा सहयोग गरेको आरोपमा  बिहीबार राती पक्राउ परेका आचार्यलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गोरेको बयानका आधारमा पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा राखि अनुसन्धान थालिएको  छ । आचार्यलाई ६० दिन अनुसन्धान गरी पुरक अभियोगमा मुद्दा चलाइने छ । यस अघि पनि सुन तस्करीमा संलग्न रहेको आरोपमा दुई जना हुण्डी व्यवसायी पक्राउ परेका थिए । दुवैको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । हाल सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएर पक्राउ परेकाहरूको संख्या ३४ जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेका मध्ये जिल्ला अदालत मोरङको आदेश अनुसार एक जना साधारण तारेखमा र एक जना धरौटीमा रिहा भएका छन् । यस्तै प्रहरीका उच्च अधिकारीहरूसहित २८ जना पुर्पक्षको लागि थुनामा छन्। घटनामा संलग्न रहेको अभियोग लागेका ३२ जना अझै फरार छन्।  सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएकाहरूको संख्या हालसम्म ६६ पुगेको छ। 

प्रकाशित: ११ जेष्ठ २०७५ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App