coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विवादले पोखरा नुडल्स बन्द

मजदुरले बन्द गराएको पोखरा औद्योगिक क्षेत्रभित्रको पोखरा नुडल्स प्रालिको सुनसान रहेको उत्पादन कक्ष । तस्बिर : सन्तोष/नागरिक

पोखरा - व्यवस्थापनसँग विवाद चुलिएपछि पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि त्यहाँ कार्यरत मजदुरले बन्द गराएका छन् । केही मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन्।

उद्योग प्रशासनले भने अह्राएको काम नगरेका मजदुरलाई स्पष्टीकरण सोधेको विरोधमा उद्योग नै बन्द गराएको बताएको छ । उद्योग दुई दिनदेखि पूर्ण रुपमा ठप्प छ । मजदुरले मंगलबार दिनभर उद्योग परिसरमा बसेर दिन कटाएका थिए ।

केही दिनअघि व्यवस्थापनले मजदुर सञ्जीव अधिकारीलाई उद्योगभित्रकै फरक ठाउँमा खटाएको थियो । विवादको चुरो त्यही हो । सुपरभाइजरले अधिकारीको काममा असन्तुष्टि जनाउँदै अन्यत्र खटाएका थिए । अधिकारीले अटेर गरेपछि व्यवस्थापनले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको विवाद चुलिँदै जाँदा केही मजदुर संगठित भई उद्योगविरुद्ध लागेका थिए।

पोखरा नुडल्सका कार्यकारी निर्देशक बाबुराम पन्तले अधिकारीलाई स्पष्टीकरण सोधेको र खटाएको ठाउँमा काम नगरेको भन्दै हाजिरी रोकेको बताए । ‘हामीले खटाएको ठाउँमा काम गर्न नमानेपछि अधिकारीलाई हाजिर गर्न रोकेका हौं,’ पन्तले भने, ‘त्यसैलाई आधार बनाएर अधिकारीसहितको टोलीले चलिरहेको उद्योग अचानक बन्द गराए । कार्यरत अरु कर्मचारीलाई पनि काम नगर्न धम्क्याएका छन् ।’

उद्योगभित्रको मजदुर युनियनले अधिकारीलाई गरिएको कारबाही प्रक्रिया नमिलेकाले अरु मजदुरले पनि साथ दिएको बताएको छ ।पन्तका अनुसार सुपरभाइजरलाई हातपात गरेको भन्दै उद्योग प्रशासनले सञ्जीव अधिकारी, सुरेश तिवारी, पुष्पराज भट्टराई, सन्तोष श्रेष्ठ, सुजन आचार्य र विकास भुजेलविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । प्रहरीले मंगलबार अधिकारी र भुजेललाई मात्र पक्राउ गरेको छ । ‘हाम्रा सुपरभाइजरलाई हातपात गरेपछि ६ जना मजदुरविरुद्ध जाहेरी दिएका थियौं । तर, प्रहरीले अधिकारी र भुजेललाई मात्र पक्राउ गरेको छ । अरु फरार छन्,’ पन्तले भने ।

पन्तका अनुसार मजदुरले मंगलबार विहान उद्योग परिसरमै सुपरभाइजरद्वय बालकृष्ण बाँस्तोला र लेखनाथ बराललाई हातपात गरेका थिए । ‘हातखुट्टा भाँच्ने र मोसो दल्ने भन्दै मजदुरले कुटपिट गर्न थालेपछि हामीले सुरक्षा माग गरेका हौं,’ पन्तले भने, ‘त्यसपछि प्रहरीले मजदुरलाई पक्रेको हो ।’पन्तका अनुसार व्यवस्थापनविरुद्ध उत्रेका मजदुरले सोमबार बिहान चलिरहेको उद्योगको उत्पादन प्लान्ट एकाएक बन्द गराएका थिए । एकाथरी मजदुरले अरुलाई काम नगर्न धम्की दिएको पन्तले बताए ।

‘यो कुनै पनि मजदुर संगठनको आन्दोलन होइन, गुण्डागर्दी हो,’ पन्तले भने, ‘मजदुर संगठनको नाममा भए मागपत्र लिएर व्यवस्थापनसामु आउँथे । यहाँ त एकाएक चलिरहेको उद्योग बन्द गराइएको छ ।’मजदुरले व्यवस्थापनविरुद्ध समयमै पारिश्रमिक नदिएको आरोप पनि लगाएका छन् । कार्यकारी निर्देशक पन्त पारिश्रमिकमा ढिलाइ नभएको बताउँछन् ।

‘हामीले हरेक महिनाको ७ गते मासिक पारिश्रमिक दिन्छौ । सोमबार बिहान पनि हामीले मजदुरको तलब बैंकमा पठाउने तयारी गरिरहेका थियौ,’ उनले भने, ‘तर अचानक उद्योग नै बन्द गरियो । व्यवस्थापनविरुद्ध आन्दोलन गर्न अरु निहुँ नपाएपछि मासिक तलब ढिला भएको निहुँ बनाएका हुन् ।’ पन्तले अहिलेसम्म कुनै पनि महिना पारिश्रमिक दिन ढिलाइ नभएको बताए।

उत्पादन शाखाका इन्चार्ज विष्णु बाँस्तोलाका अनुसार सोमबार बिहान साढे १० बजेतिर मजदुरले अचानक उत्पादनको मूल मेसिन बन्द गरिदिएका थिए । ‘चलिरहेको मेसिन अचानक बन्द हुँदा हामी नै अचम्भित भयौं । मेसिनमा ठूलै खराबी पो आयो कि भन्ने लाग्यो,’ बाँस्तोलाले भने, ‘तर, चाउचाउ बनाउन चाहिने पिठो मिक्स गर्ने मेसिन नै सुरुमा बन्द गराइएको थियो ।’

कार्यकारी निर्देशक पन्तले सुपरभाइजरमाथि आक्रमण गर्ने मजदुरलाई अब काम दिन नसक्ने बताए । ‘हामीले उजुरी दिएकाबाहेक अरु मजदुरलाई काममा फर्किन भनेका छौं । तर, नेतृत्व गरेका मजदुरको धम्कीले अरुले पनि काम गर्न सकेका छैनन्,’ उनले भने, ‘हामीले श्रम ऐन लागू गर्ने हो । त्यसमा सरकारले पनि सघाउनुपर्छ ।’पन्तले उद्योग सुरक्षाको ग्यारेन्टी राज्यले लिएर निर्वाध रुपमा सञ्चालन गर्न पाउने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । ‘कामदार र उद्योगलाई सुरक्षाको ग्यारेन्टी गरिदिने हो भने हामीले तत्काल उद्योग सञ्चालन गर्न सक्छौं,’ उनले भने ।

पन्तका अनुसार चलिरहेको मेसिनमै कच्चापदार्थ रोकिएको छ । करिब १० लाख रुपैयाँको कच्चा पदार्थ मेसिनमै अड्किएको छ । त्यो कच्चा पदार्थ अब उपयोग गर्न मिल्दैन । दुई दिन उद्योग बन्द हुँदा करिब ७० लाख रुपैयाँको उत्पादन रोकिएको छ ।उद्योगले अहिले दुइटा प्लान्टबाट चाउचाउ उत्पादन गरिरहेको छ । एउटा प्लान्टले दैनिक १२ हजार कार्टुन चाउचाउ उत्पादन गर्छ । पोखरा नुडल्सले रम्बा, बोनस, जोजो लगायत १८ थरीका चाउचाउ उत्पादन गर्छ । प्रशासनिक सहित उद्योगमा झन्डै पाँच सयजनाले काम गर्छन् ।

दुई दिनदेखि उत्पादन रोकिएको उद्योगमा अझै एक साताका लागि उत्पादन स्टक छ ।उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर संगठन र उद्योगको ट्रेड युनियन संगठन छन् । अखिल नेपाल औद्योगिक मजदुर संगठनका निवर्तमान अध्यक्ष अमृत अधिकारीले मजदुरलाई गरिएको कारबाही र प्रक्रिया नमिलेकोले अरुले काम छाडेर साथ दिएको बताए । ‘आन्दोलनमा थोरधेर मजदुरको पनि साथ छ । किनकि उद्योगले कारबाही प्रक्रिया सही रुपमा गरेको छैन,’ उनले भने, ‘यसलाई सच्याउनुपर्छ ।’
पोखरा नुडल्स १,२

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App