coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्यटन विकासका लागि योजना बनाउँदै प्रदेश सरकार

धनगढी– प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन विकासका लागि प्रदेश सरकार योजना बनाइरहेको बताएका छन्। 

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो नेपाल) का व्यवसायीहरुले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न वैशाख ३० देखि शुरु गरेको शुक्लाफाटा–नालापानी (भारत)–खप्तड भ्रमणका सहभागीलाई मंगलबार धनगढीमा सम्मान गर्दै मुख्यमन्त्री भट्टले भने– पर्यटकीय क्षेत्र हामीसंग छन् पूर्वाधार छैन्, यसलाई प्राथमिकतामा राखेर योजना बनाउदैछौं। 

निजी क्षेत्र लगानीका लागि आएर काठमाडौंसंग धनगढीलाई जोडिदिन उनले आग्रह गरे। मुख्यमन्त्री भट्टले खप्तडमा बाटो विस्तार र भवन निर्माणमा निकुञ्ज कानूनले समस्या परेकाले चितवन सरह सहज बनाइदिन केन्द्रीय सरकारका वनमन्त्रीसंग अनुरोध गरिसकेको बताए।

भ्रमण टोलीका सदस्य तथा नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रदेश सातमा भारतको उत्तराखण्डसंग जोडेर धार्मिक पर्यटनको संभावना उच्च भएकाले भारतका चारधाम घुम्ने यात्रीलाई ऋषिकेशपछि पशुपतिनाथ दर्शनको व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। यस विषयमा उत्तराखण्डका पर्यटनमन्त्री सतपालजी महाराज सकारात्मक रहेको उनले जानकारी गराए।

नेता थापाले शक्तिपीठ र धार्मिक हिसावले हुने पर्यटनका साथै अन्तराष्ट्रिय पर्यटक तान्न शुक्लाफाटा, घोडाघोडी, खप्तड, रामारोशन, टीकापुरको सर्किट र अपी शैपाल हिमालसम्म पहुच हुनैपर्नेमा जोड लिए। धनगढीलाई बेस बनाएर खप्तड, रामारोशन, वडीमालिका लगायत र कर्णाली प्रदेशको रारालाई जोडेर लैजानु पर्ने सुझाव दिँदै उनले यो क्षेत्रमा हेलिकोप्टर सेवा सञ्चालन गरेर समेत पर्यटन प्रबर्द्धन गर्नुपर्ने बताए।

प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले खप्तड‐रामारोशन‐बडिमालिका पर्यटन सर्किट र धनगढीलाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न केन्द्र सरकारलाई माग गरिसकेको र बजेटको प्रतिक्षामा रहेको बताए।

प्रकाशित: ८ जेष्ठ २०७५ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App