coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

पाल्पा– पुरातात्विक महत्वको रानी महल स्थानीय तहलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन्। उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानी महल हस्तान्तरण गरि संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन। 

नेपालको ताजमहलका रुपमा परिचित रानी महलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको समयमा पर्यटनको सम्भावनालाई उजागर गर्न मन्त्री अधिकारी रानीमहल पुगेका हुन्। पर्यटनमन्त्री अधिकारीले रानी महल क्षेत्रको सडकको अवस्था सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनी भन्छन्, ‘रानीमहल एउटा ऐतिहासिक फरक विषयवस्तु बोकेको स्थान हो। यसलाई सम्वर्द्धन गर्न स्थानीय तहमा अधिकार हुने गरि नगरपालिकामा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल सुरु हुन्छ।’ उनले एक महिना भित्रमा पुरातत्व विभागको अधिकार तानसेन नगरपालिकामा हस्तान्तरण गरिने बताए। 

नेपालमा पर्यटनको ठूलो सम्भावना भए पनि आवश्यक भौतिक संरचना नहुँदा अहिले नेपालले ठूलो मात्रामा पर्यटक गुमाउनुपरेको छ, अधिकारीले भने, ‘अहिले रेमिट्यान्स लगातार घटिरहेको छ। त्यसको क्षतिलाई पर्यटनबाट मौ पूर्ति गर्न सकिन्छ। जीडीपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु-याउने मेरो लक्ष्य छ।’ उनले रानीमहल क्षेत्रको संरक्षण सम्वर्द्धन गर्न यहाँ जनतानै लाग्नु आवश्यक रहेको समेत बताए। 

तानसेन नगरपालिका–१३, बौहागुम्हामा रहेको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखी १३ किलोमिटरको दूरीमा पुग्न सकिन्छ। सच्चा प्रेमको प्रतिक ठानिने रानी महल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिमतर्फका प्रधान सेनापति खड्ग सम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए। त्यहि कारणले गर्दा दरबार अवलोकन गर्न जानेहरुमध्ये अधिकांश युगल जोडीहरु रहने गरेका छन्। प्रणय दिवस (भ्यालेन्टाईन डे) फ्रेबुअरी १४ का दिन यस क्षेत्रमा मेला नै लाग्ने गर्दछ। १९५० सालमा शिलान्यास गरि १९५४ सालमा निर्माण सम्पन्न भएको थियो। कला कौशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ। 

सडकको अवस्थामा सुधार तथा कालीगण्डकी करिडोरले रानीमहललाई जोडेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको छ। तानसेनदेखी दुई घण्टाको पैदल दूरीमा रानीमहल पुग्न सकिन्छ। कालीगण्डकी नदीको किनारमा रानीमहल दरबार अवस्थित छ। अहिले तानसेनदेखि रानीमहल पुग्ने ६ किलोमिटर सडक कालोपत्रे गरिएको छ। बाँकी सडकमा ग्राभेलको काम हुँदैछ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई समेत छोएको छ। राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडिएको छ। यहीको कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माणको कार्यले तिव्रता पाएको छ। स्याङ्गजाको कालीगण्डकी गाउँपालिका–३, सटुका र पाल्पाको वगनाशकाली गाउँपालिका–७, रानीघाटमा पक्की पुल निर्माण भैरहेको हो। चट्टान नै चट्टानले निर्मित पहाडको काखमा उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा निर्मित दरबारले झण्डै १ सय २५ बर्षको ईतिहास बोकेर प्रगाढ प्रेमको इतिहासका रुपमा रहेको छ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App