८ वैशाख २०८१ शनिबार
राजनीति

‘जनप्रतिनिधिले धेरै सुविधा खोजे समृद्धि असम्भव’

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधीले धेरै सेवा सुविधा खोजे जनता अन्यायमा पर्ने बताएका छन्। जनप्रतिनिधीले धेरै सुविधाको सट्टा जनताको स्वयम् सेवकको रुपमा काम गरे मात्र ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्भव रहेको बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको प्रदेश समन्वय परिषद् बैठकको सोमबार हेटौंडामा उद्घाटनपछि उनले सरकारका तीनै तहले अब निराशा र कुन्ठा होइन, आत्मविश्वासका साथ काम गर्नुपर्ने बेला आएको जिकिर गरे।

‘विगतको परम्परालाई तोड्नैपर्छ, सबैलाई चित्त बुझाउने, सबैको मुख टाल्ने गरि बजेट बाँडे असफल हुन्छौ’ उनले भने ‘एकैपटक धेरै काम गर्न नखोजौ, दीर्घकालिन, प्रभाबकारी र परिणाममुखी काम गरौं।’

प्रशासनलाई स्वच्छ र भ्रष्ट्राचारमुक्त बनाएर मात्र विकास निर्माणलाई गति दिन सकिने बताउँदै उनले परिवर्तन आफैंबाट शुरु गर्न जनप्रतिनिधीलाई आग्रह गरे। स्थानीय सरकारको ७० बर्ष, केन्द्र सरकारको ५० बर्षको अनुवभ रहेको बताउँदै उनले प्रदेश सरकारको जम्मा ४ महिनाको मात्र अनुभव रहेकाले सबैले हातेमालो गर्नुपर्ने बताए। ‘सबै सरकारहरु स्वायत्त छन्, आफ्नै ऐन, कानुन छन्,’ उनले भने ‘तर समन्वय हुनु अति जरुरी छ, समन्वय नभएमा समृद्धीको सपना पुरा हुनै सक्दैन।’ समृद्धिको नारा सरकारको मात्र नभई सम्पूर्ण नेपालीको नारा भएको तर्क गर्दै उनले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिए।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको विकासका लागि सुशासन र आर्थिक पारदर्शिका लागि जनप्रतिनिधीहरुबाटै शुरु गर्नुपर्नेमा जोड दिए। चुनावका बेला गरिएको प्रतिबद्धताहरु पुरा गर्न सबै जनप्रतिनिधी एकजुट हुनुपर्ने बताउँदै उनले अरुलाई परिवर्तनको पाठ सिकाउनेहरु आफै परिवर्तित भएर काम गर्नुपर्ने तर्क गरे।

प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले सरकारले सिण्डीकेटको नाममा तानाशाही लाद्न खोजेको आरोप लगाए। क्रसर उद्योगलाई निरंकुश शैलीमा बन्द गराएकोमा आक्रोस पोख्दै उनले समयमै निर्माण नसक्ने कम्पनीलाई कार्बाही गर्ने केन्द्र सरकारको धम्कीप्रति उनले रोष प्रकट गरे।

प्रकाशित: ७ जेष्ठ २०७५ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App