coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

सन्तोष खड्का, वडाध्यक्ष
चन्द्रागिरि नगरपालिका– ८

जनप्रतिनिधि भएर जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह अस्तव्यस्त बनेको थियो । जनप्रतिनिधि आएसँगै स्थानीय तहको सेवा प्रवाहलाई सहज र व्यवस्थित गराउँदै आइरहेका छौँ । समता टोलमा खानेपानीको समस्या थियो।

हामीले खानेपानीको व्यवस्थापन गरेका छौँ । मातातीर्थ चौरदेखि महादेव मन्दिरसम्म ८० मिटर सडक ढलान गयौँ । खुसीखुसीचोकदेखि भुसिङखेलसम्म दुई सय ६८ मिटर सडक ढलान कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, वडाका आधा दर्जनभन्दा धेरै कच्ची सडक ग्राभेलिङ तथा ढलान गर्ने तयारी गरिरहेका छौँ।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

हामी निर्वाचित भएर आउनु अघिसम्म वडामा खानेपानीको चरम अभाव थियो । हामी आएसँगै समता टोलका एक सय २५ घरधुरीलाई बोरिङमार्फत खानेपानी व्यवस्था गरेका छौँ । त्यस्तै, मल्पी खानेपानी उपभोक्ता समितिमार्फत अहिले भकुन्डेचौरमा खानेपानीको ट्यांकी निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।  सम्भवतः जेठभित्रै करिब साढे पाँच सय घरधुरी खानेपानीबाट लाभान्वित हुनेछन् । मातातीर्थ क्षेत्रमा खानेपानीको प्रशस्त स्रोत रहेकाले त्यहीँको पानी चन्द्रागिरि नगर क्षेत्रका सम्पूर्ण वडालाई वितरण गर्ने तयारी गरिरहेका छौँ ।

तपाईंको वडामा सडक लथालिंग छ, कहिलेसम्म व्यवस्थित गर्नुहुन्छ ?
मातातीर्थस्थल जाने मुख्य सडक हाम्रो वडामा पर्छ । जहाँको सडक व्यवस्थित छैन । जसकारण सर्वसाधारण आउजाउ गर्न निकै मुस्किल भइरहेको छ । वडाका सीमा क्षेत्र सतुंगल, मच्छेगाउँ, महादेवस्थान लगायत स्थानमा व्यवस्थित सडक भए पनि वडाका सडकको अवस्था निकै नाजुक छ।

वडा कार्यालयले सडक व्यवस्थित गर्न अहिले ढलान कार्य थालिसकेको छ । नेपाल विद्युत् प्राधिकरणले सतुंगलको बुद्धचोकदेखि गौशली चोकसम्म ६ सय मिटर सडक कालोपत्रे गरिरहेको छ । आगामी तीन वर्षभित्र वडाका सम्पूर्ण सडक ढलान गर्ने लक्ष्य राखेका छौँ ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिब एक हजार दुई सय रोपनी सार्वजनिक जग्गा रहेका छन् ।

तीमध्ये करिब तीन सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको सुन्नमा आएको छ । मिचिएका सार्वजनिक जग्गामा कसैले कम्पाउन्ड लगाएका छन्, कसैले भवन ठडाएका छन् त कसैले खेतीपाती गर्दै आइरहेका छन् । मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सार्वजनिक जग्गा संरक्षण समिति गठन गरिसकेका छौँ । वडा कार्यालयले पहिलो चरणमा गौशलीचोकदेखि एपिएफ एकेडेमीसम्म मिचिएका जग्गालाई आफू मातहत ल्याउने तयारीमा जुटेको छ।

सामुदायिक विद्यालयको स्तर खस्कँदो छ, सुधार्न के गर्दै हुुनुहुन्छ ?

वडामा एउटा मात्रै माध्यमिक विद्यालय छ । हामीले सामुदायिक विद्यालयको गुणस्तर कायम गर्न शिक्षक र अभिभावकसँग नियमित छलफल गर्दै आइरहेका छौँ । वडाले सामुदायिक विद्यालयको प्रत्यक्ष निगरानी गरिरहेको छ । त्यस्तै, जनविकास माध्यमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेका छौँ । अन्य कक्षालाई क्रमशः अंग्रेजी माध्यममा लैजाने तयारी गरेका छौँ । कक्षा ११ र १२ सञ्चालन गर्न भवन निर्माण भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि १२ कक्षासम्म सञ्चालन गर्नेछौँ ।

स्वास्थ्य चौकीप्रति जनविश्वास गुम्दै गइरहेको छ, स्थानीयवासीलाई आकर्षित गर्न के गर्दै हुनुहुन्छ ?
पछिल्लो समय स्वास्थ्य चौकीप्रति जनविश्वास घट्दै गइरहेको छ, यो गम्भीर विषय हो । स्वास्थ्य चौकीले निःशुल्क ल्याबसहित औषधि उपलब्ध गराए पनि जनविश्वास जित्न सकेको छैन । त्यसैले वडा कार्यालयले स्वास्थ्य चौकीतर्फ जनविश्वासको वातावरण सिर्जना गर्ने प्रयत्न गरिरहेको छ । आगामी पाँच वर्षभित्र स्वास्थ्य चौकीलाई अस्पताल बनाउने कार्ययोजनासहित  वडा कार्यालय अगाडि बढिरहेको छ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?

नगरपरिषदबाट वडा कार्यालयका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार निर्माण, खानेपानी, महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर काम गरेका छौँ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
पाँच वर्षभित्र व्यवस्थित र समृद्ध वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ । वडाभित्र तीन ठाउँमा व्यवस्थित पार्क बनाउने योजना छ।

वडा कार्यालयनजिकै, गैह्रीगाउँ, आइतबारे लगायत स्थानमा आकर्षक र व्यवस्थित पार्क बनाउनेछौँ । त्यसका साथै प्रत्येक वडावासीको घरमा  बाटो र एक पानीसहितको धारा पुर्याउने योजना रहेको छ । मातातीर्थ स्वास्थ्यचौकीलाई २५ शøयाको हस्पिटल निर्माण गर्नेछौँ ।
प्रस्तुतिः हिमाल लम्साल

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App