६ वैशाख २०८१ बिहीबार
अन्य

जात्रा हेर्दै साटिन्छ प्रेम

भनिन्छ, प्रेमको कुनै परिधि हुँदैन । प्रेममा बाधिएकाहरुको स्वतन्त्रताको वेग कसैले ढल्मल्याउन सक्दैन । कहिँ अवरोध आइहाले प्रेमकै जित हुने आट बोक्छन् उनीहरु।

प्रेम फुलाउन उनीहरु जहाँ पनि पुग्न सक्छन् । जता पुगेपनि एकअर्काप्रति समर्पित हुने ती जोडिहरु उपत्यकाका प्रसिद्ध जात्रा पर्वमा पनि भेटिन्छन् । त्यहाँ उनीहरु जात्रा नियाल्छन्, त्यसै वखतमा प्रेम पनि पस्कन्छन्  । जात्रा पर्व भइरहेका ठाउँहरुसँगै प्रेमका सौगातहरु पोख्छन् ।

रमाइलो जहाँ छ उतैतिर आफूलाई उपस्थित गराउने जोडिहरु आफैमा मस्त देखिन्छन् । उनीहरुलाई बाहिरी अवरोधको कुनै प्रवाह हुँदैन । त्यसैले पनि होला, उपत्यकाका विभिन्न पार्क, चोक, मठ मन्दिरको छेउछाउ प्रेम साट्ने जोडिहरु झुम्मिएको देखिन्छ । उनीहरु त्यहाँ निर्धक्कले माया बाडेको पनि भेटिन्छन् । कुनै एकान्त र पार्कहरुमा भेटिने तीनै प्रेमील जोडिहरु आजकाल जात्रापर्वमा पनि झुल्किन थालेका हुन्।

‘उपत्यकामा त्यति घुम्ने ठाउँहरु छैनन्, जहाँ गएपनि भिडमात्रै छ,’ जात्राकै क्रममा भेटिएका जोडिमध्येका  एक युवकले सुनाए, ‘बरु संस्कति र पर्वहरु भइरहेको ठाउँमा पुग्दा रमाइलो हेर्न पाइन्छ ।’ आफूहरु प्राय जात्रा पर्वहरु भइरहेको ठाउँमा घुम्न जाने गरेको उनको भनाई छ । ‘जात्रा र पर्व मन्दिर भित्रका भगवान जस्तै हुन्, ती पर्वहरुमा पुग्दा मन्दिरमा गए जस्तै भान हुन्छ,’ उनी भन्छन्, ‘चउर र पार्कमा बस्नु भन्दा यस्तै पर्वहरुमा पुग्नु राम्रो मानिन्छ ।’उपत्यकामा जात्रा पर्व भइरहेका ठाउँहरुमा आजकाल धेरै जोडिहरु पुग्छन् । त्यहाँ पुगेर जात्रा र पर्व नियाल्ने मात्रै होइन, माया पनि साटिरहेको देखिन्छन् ।त्यसैले पे्रमील जोडीहरुका लागि यहाँको संस्कृति प्रेम साट्ने माध्यम  बनेको छ भन्दा फरक नर्पला।

जात्रा पर्वमा आएर माया साट्नेमात्रै होइन संस्कति पनि बुझ्ने मौका पाउँछन् उनीहरु । करिब एक महिनाअघि सुरु भएको रातो मच्छिन्द्रनाथ रथ जात्रा सातादिनअघि मात्रै सकियो । यो जात्रामा युवा युवतीको बाक्लो उपस्थिति रहन्छ । जात्राकै क्रममा ललितपुरका विभिन्न ठाउँमा प्रेम साट्ने जोडीहरु भेटिए । उनीहरु निस्फिकी्र भएर प्रेम साटेको देखिन्थे त्यहाँ । सहरका चोक या  गल्लीहरुमा रथलाई गुडाउने क्रममा धेरै जोडिहरु त्यसको पछिपछि थिए । जात्राको संयोगले भेटिएका ती जोडिहरु आफ्नो पर्व र संस्कृतिलाई सिरोधार्य गर्छन् ।

देवता मान्छन् । सांस्कृतिक पर्वहरुमा सहभागी हुन पाउँदा रमाइलो सँगै परम्परा पनि बुझिने उनीहरु बताउँछन् । जात्रामा सरिक भएको केही जोडिहरु जात्रा पर्वहरुमा आफूहरु धेरै डुल्ने गरेको सुनाउथे । ‘जात्राको घुम्न र साँस्कृतिक पर्वलाई नियाल्न पाउँदा रमाइलो लाग्छ,’ मच्छिन्द्रनाथ जात्राकै क्रममा भेटिएकी एक युवतीले सुनाइन्, ‘खाने, रमाइलो गर्ने, समय बिताउने, भेटने बहाना पनि हो यो ।’ जात्राको बेला हुलमुल हुने र आफन्तले देख्लान् भन्ने डर नहुने उनको भनाई थियो।

त्यसो त जात्रा मानव जीवनसँग जोडिएको पनि हुन्छ । मानव जीवनले नै सिर्जित गरेका बाजाजागासहितका नाचहरु उपत्यकामा भइरहेका हुन्छन् । जात्राकै क्रममा पाटन सुन्धाराको गणेश मन्दिर छेवैमा युवा–युवतीहरु झुम्मिएका देखिन्थे । उनीहरु त्यहाँ जात्रा मात्रै नियालीरहेका थिएनन् । अंगालो हालेर एकआपसनमा प्रेम पनि साटिरहेका थिए । ‘यसरी जात्रा हेर्न रमाइलो लाग्छ,’ जात्रा नियालीरहेका एक युवतीले भनिन्, ‘जात्रा भइहरहेको ठाउँमा यसरी बस्न पाउँदा खुशीको अनुभूती हुन्छ।’

त्यसो त उपत्यकामा धेरै जात्रा पर्वहरु आफन्त भेट्ने संगम बन्दै गएका छन् । जात्रा पर्वकै अवसर पारेर विभिन्न ठाउँबाट मानिसहरु आफन्त भेटन आउँछन् । ‘जात्रा पनि हेरिने, आफन्त पनि भेट्न पाइने,’ ५ दिनअघि उपत्यकाको प्रसिद जात्रा हेर्न मकवानपुरदेखि आएकी सुनिता बलामीले भनिन्, ‘यस्ता पर्वहरु अन्य ठाउँमा हुँदैनन्, उपत्यका जात्रा पर्वहरुको सहर जस्तै लाग्छ, त्यसैले यहाँका पर्व हेर्न बेला–बेलामा यहाँ आउछु ।’ उनी गत बर्ष पनि जात्रा हेर्नका लागि यहाँ आएकी थिइन् । जात्राको माहोल रमाइलो र मनमोहक हुने हुँदा हरेक बर्ष जात्रामा सरिक हुँदै आएको उनको तर्क थियो।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App