४ वैशाख २०८१ मंगलबार
समाज

‘प्रहरीले भारतीय युवाबाट पैसा लिएपछि सीमामा त्रास’

प्रहरी चौकी परासनमा जम्मा भएका डोकेबजारका व्यापारी तथा बासिन्दा । तस्बिर : नागरिक

डोकेबजार(कञ्चनपुर)– नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए। ‘सीमापारी युवाबाट धम्की आएकाले हामी कसैमाथि घटना घट्छ कि भनेर सबै त्रसित भएका छौं’, डोकबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज कनौजियाले भने, ‘सीमा नजिक उस्तैपनि सुरक्षा संवेदनशिलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निशानामा परेका छौं।’ 

प्रहरीले सर्वसाधारणलाई जोखिममा पार्नेगरी भारतीय युवावाट १ लाख ८३ हजार पैसा लिएको स्थानीय बताउँछन्। प्रहरीले त्यो लिएको पैसा फिर्ता गरेमात्र त्रास कम हुने स्थानीय युवा भरत बहादुर सिंह बताउँछन्। ‘प्रहरीले झुटो कुरा गरेर उनीहरुबाट १ लाख ८३ हजार लिएको फिर्ता गर्नुपर्छ’, उनले भने। भारतीय युवा र प्रहरीबीच बिवाद हुँदा प्रहरीको सुनको चेन र लखेट हराएको भन्दै १ सय ५३ हजार र घटना मिलाएको भन्दै थप ३० हजार गरेर १ लाख ८३ हजार प्रहरीले उनीहरुबाट लिएको स्थानीयको दाबी छ। प्रहरीको सुनको चेन नहराएको र सीमामा बस्नेलाई जोखिम हुनेगरी प्रहरीले गरेको व्यवहार गलत भएको भन्दै शनिबार दबाब दिन स्थानीय प्रहरी चौकीमा गएको अर्का युवा जीवन थापाले बताए। ‘प्रहरीमाथि हातपात गरेको भए सार्वजनिक मुद्दा लगाएर कारवाही गर्नुपर्नेमा पैसा खाएर स्थानीयलाई जानकारी नदिई किन छोड्यो’, उनी प्रश्न गर्छन्।  सीमापारी ओहोरदोहोर गरिरहुनपर्ने यहाँका बासिन्दा त्रासले भारतीय बजार जान सकेका छैनन्। 

भारत लख्खिमपुरका प्रमोद रानाले प्रहरीले १ लाख ८३ हजार लगेको बताएका छन्। ‘सीमामा बस्नेहरुले सौहार्दपूर्ण र सहज बातावरण बनाएर बस्नुपर्छ’, स्थानीय व्यापारी बलबहादुर कार्कीले भने, ‘उताका युवाहरुलाई घाइते हुनेगरि कुटपिट गर्ने र अनियमित रुपमा पैसा लिने दुवै काम गलत हो, यस्ता घटनाले हामी सीमामा बसोबास गर्नेलाई समस्या हुन्छ।’ अनियमित रुपमा लिएको पैसा फिर्ता गरेर दुवै पक्षका बासिन्दा बसेर सहज बनाइनुपर्ने उनी बताउँछन्। यो बजारमा करिब ५० वटा होटल तथा पसल रहेका छन्। यो बजार धनगढीको त्रिनगर नाकासँगै जोडिएको छ।

घटना यस्तो थियो

बिहीवार राती ९ बजेतिर भारतको जिल्ला लख्खीमपुर खिरी बनगाउँ बस्ने १९ बर्षीय सुमित राना, २० बर्षीय अक्षय राना र १८ बर्षीय हर्जित गुप्ता डोकबजारको पाथीभर ट्रेडर्स पसलबाट चाउचाउ, चुरोट, चिजबल र मेघाश्री किनेर भारततर्फ जान ५० मिटर दुरीमा रहेको दशगजा छेउमा पुगे। त्यहाँ युनिफर्ममा उभिएका परासन प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रमेश भट्ट थिए। उनले समान लैजान अवरोध गरेपछि ३ जना युवा र ती जवानबीच हात हालाहाल भयो। प्रहरी जवान भट्टले गुहार गुहार भनेर स्थानीय व्यापारीलाई बोलाए। गुहारको अवाज आएपछि स्थानीय युवा र व्यापारी  गएर ३ युवालाई नियन्त्रणमा लिएर कुटपिट गरे र प्रहरी चौकीमा बुझाईदिए। ‘युनिफर्ममा रहेको प्रहरीले गुहार गुहार भनेपछि हामीले ३ युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेर प्रहरी चौकीमा बुझाएका हौं’, स्थानीय एक युवाले भने। बिहीवार राती नै सेती अञ्चल अस्पतालमा मेडिकल जाँच गरेर ल्याएको परासन प्रहरी कार्यालयका इन्चार्ज असई मदन सिंह धामी बताउँछन्। शुक्रबार दिउँसो भारतीय युवाका आफन्त प्रहरीले बोलाए। जवान भट्टको १ लाख ५३ हजार बराबरको सुनको चेन र लखेट हराएको भन्दै थप ३० हजार गरी १ लाख ८३ हजार असुल गरेर मिलापत्र गरि प्रहरीले छोडिदियो। 

रातीको बेला प्रहरीले गुहार मागेकाले सहयोग गरेकोमा प्रहरीले उल्टै स्थानीलाई जानकारी नदिई रुपैयाँ लिएर निशानामा पारेको स्थानीय खडक बहादुर धामीको गुनासो छ। ‘स्थानीयले प्रहरीलाई बुझाएका युवाबाट एकतर्फी रुपमा १ लाख ८३ हजार लगेकाले असुरक्षित भएका छौं’, अर्का युवा चन्द्र बहादुर सिंहले भने, ‘भारततर्फको पैसा फिर्ता दिएर बतावरण सहज बनाउनुपर्छ।’ शनिबार स्थानीय व्यापारीले भारतका युवा पक्षलाई कुरा मिलाउन बोलाएका थिए। प्रहरी चौकीमा पुगेका उनीहरुले १ लाख ८३ हजार फिर्ता दिनुपर्ने बताएका थिए। ‘१ लाख ८३ हजार फिर्ता पाउनुपर्छ भन्ने हामी सबैको माग छ’, प्रमोद रानाले भने। 

घाँटीबाट खसेर कमिजमा अल्झेको सुनको चेन र लखेट टिपेर प्रहरी जवान भट्टले खल्तीमा हालेको देखेको प्रत्यक्षदर्शी युवा अनुप शर्माले बताए। शनिबार दिउँसो प्रहरी चौकीमा स्थानीय युवाले प्रहरीको सुनको चेन नहराएकाले पैसा फिर्ता दिन आग्रह गरेपनि प्रहरीले मानेन। प्रहरी जवान रमेश भट्टले लैजान लागेको समान खोस्ने बेला उनीहरुसँग हात हालाहाल भएको र सुनको चेन हराएको बताए। प्रहरी चौकीका इन्चार्ज धामीले प्रहरी जवानको हराएको सुनको १ लाख ५३ हजार असुल गराएको र ३० हजार कस्ले लग्यो आफूलाई जानकारी नभएकाले जिकिर गरेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले स्थानीयबाट गुनासो आएको र यो घटनालाई गम्भीर रुपमा लिएर बुझ्ने काम भइरहेको बताए। घटनाको छानविन गरी दोषीलाई कारवाही गरिने उनले बताए।

प्रकाशित: ५ जेष्ठ २०७५ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App