८ वैशाख २०८१ शनिबार
अन्य

शुभ यात्रा

मुलतः पश्चिम नेपालमा बसोबास गर्दै आएको पुन समुदायका कुल देवता हुन् करबाकेली बाबा । तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडामा छ।

करबाकेली अनुसन्धान समिति काठमाडौंको पहल एवं करबाकेली बाबा संरक्षण समिति, काफलडाँडाको संयुक्त प्रयासमा बनाइएको मन्दिरभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरु रामचन तथा कुलचनका पूर्ण कदका मूर्ति राखिएको छ।

बेनी बजारबाट मुक्तिनाथ जाने सडक हुँदै ९ किमि पर बैसरीबाट ४ घन्टा ठाडै उकालो चढे पुगिन्छ करबाकेली । आध्यात्मिक भूमी त हुँदै हो, प्राकृतिक हिसाबले समेत सुन्दर छ काफल डाँडा जहाँबाट धौलागिरि हिमाल आँखै सामु देखिन्छ।

त्यही करबाकेली थानलाई केन्द्रमा राखेर ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अबसरमा काठमाडौंको कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा एक्सप्लोर गरिएको । पदमार्गको विशेषता भनेकै प्राकृतिक सौन्दर्य, पुन संस्कृती र आत्मीय अतिथि सत्कार हो।

भर्खरै शुभारम्भ गरिएको करबाकेली पदमार्गले आन्तरिक पदयात्रीलाई पनि लोभ्याउन सक्छ। दिनको पन्ध्र सय रुपैयाँले ब्रेकफास्ट, लन्च, डिनर र बासलाई पुग्छ।

कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल, फूलबारी भएर करबाकेली थानबाट बेनी बजार निस्कने पदमार्ग आकर्षक छ।

करबाकेली क्षेत्र पुनहिलको दक्षिण पश्चिम भेक हो जहाँ पुन समुदायको बसोबास छ । त्यही भएर आफ्ना कुल देवताको नाउँमा पदमार्गको नामाकरण गरिएको करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष याम पुन बताउँछन् । करबाकेली क्षेत्रमा पुन संग्रहालय बनाउने योजना छ।

बालकदेखि बृद्धसम्मका लागि करबाकेली मार्ग उपयोगी देखिन्छ । पदमार्गको सबैभन्दा उचाई पुनहिल (३,२१० मिटर) हो।

पोखराबाट करबाकेली पदयात्रा गर्दा पहिलो दिन वीरेठाँटीसम्म जीपमा गएर त्यहाँबाट ५ घन्टा हिँडेपछि उल्लेरीमा बास । दोस्रो दिन घोडेपानीमा बास, तेस्रो दिन बिहानै पुनहिल उक्लेर लन्चका लागि फूलबारी, बास बस्न करबाकेली थान।

चौंथो दिनको यात्रालाई चार विकल्प छन् । पहिलो विकल्प करबाकेलीबाट बैसरीको ओरालो झर्ने । बैसरीबाट बेनीसम्म ९ किमि गाडीमा चढेर बेनीमा बास । दोस्रो विकल्प करबाकेलीबाट महभीर हुँदै मल्लाज भएर बेनीमा बास । तेस्रो विकल्प करबाकेलीबाट रीमा हुँदै औंल, बैसरी हुँदै बेनी बजार पुगेर बास । चौंथो करबाकेलीबाट नागी हुँदै पर्वतको फलामे डाँडा पुगेर बास बस्ने । अर्को दिन फलामेडाँडाबाट बेनी बजार झर्ने।

करबाकेली क्षेत्रका गाउँले पर्यटन विकासमा जुर्मुराएका छन् । एक्सप्लोरेशन हुनेवित्तिकै पदमार्गको नक्शा, बृत्तचित्र, पोस्टर, क्यालेण्डर र बुकलेट उत्पादन भैसकेको छ भने वृतचित्र बन्दैछ।

जेठ ४ गते काठमाडौंको होटल मुनलाइटमा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी, टे«किङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्य र समितिका सल्लाहकार चामबहादुर पुनले पदमार्गको नक्शा, पोष्टर, बुकलेट र क्यालेन्डर विमोचन गरेका छन् । त्योसँगै पदमार्ग शुभारम्भ भएको घोषणा गरिएको छ।

करबाकेली पदमार्गको विकास र प्रवद्र्धनमा समिति सक्रिय छ ।   पदमार्गमा संकेत चिन्ह राख्ने, पदमार्ग सुधार गर्ने, गाउँलेलाई पर्यटन सम्बन्धी तालिम दिने उसको योजना छ।

करबाकेली पदमार्गमा खान र बस्न होटल सुविधा छ । दिनको १५ सय रुपैयाँ भएमा ब्रेकफास्ट, लन्च, डिनर र बासलाई पुग्छ । आन्तरिक पदयात्रीका लागि समेत यो पदमार्ग आकर्षक बन्न सक्छ।

सम्पर्क
करबाकेली पर्यटन व्यवस्थापन समिति
सल्लाहकार : चामबहादुर पुन– ९७४१२१५१०९
अध्यक्ष :  यामबहादुर पुन– ९८४६१०६६२४
सचिव :  रवी गर्बुजा पुन–९८४६८२७४९३

अन्नपूर्णको पुर्नजीवन
काशीराज भण्डारी
निर्देशक, नेपाल पर्यटन बोर्ड
मोटर बाटोले प्रख्यात पदमार्गहरु समस्यामा पर्दै गएका बेला खुलेको करबाकेली पदमार्गले अन्नपूर्णलाई पुर्नजीवन दिन मद्धत गर्नेछ । हामी करबाकेली पदमार्गको विकासमा स्थानीयसँग सहकार्य गर्न तयार छौं।

वैकल्पिक पदमार्ग
नवराज दाहाल
अध्यक्ष, टान
वैकल्पिक पदमार्गका रुपमा करबाकेलीको प्रवद्र्धन गर्न सकिन्छ । यो पदमार्गको भबिश्य सुन्दर छ। पर्यटन विकासमा स्थानीयको सक्रियता प्रेरणादायी छ । हामी करबाकेली पदमार्गको मार्केटिङ गर्नेछौं।

प्रकाशित: ५ जेष्ठ २०७५ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App