४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा पनि दरिलो पकड

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ।

यी दुई दलबीच बिहीबार एकता भएको थियो । एकीकरणपछि बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

दुई दलबीचको एकतापछि नेपालको राजनीतिक इतिहासमा उल्लेख्य जनमत प्राप्त यो दलको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका छन । ओली संघीय सरकारका प्रधानमन्त्री पनि हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकमना सरकारको नेतृत्व गरेका छन्।

सरकारमा यही पार्टीका ४ राज्यसहित २१ मन्त्री छन् । ‘झन्डै दुईतिहाइ बहुमतका साथ केन्द्रमा कम्युनिस्ट पार्टी सरकारमा छ । यो स्थिति प्रदेश र स्थानीय तहमा पनि छ’, प्रधानमन्त्री ओलीले बिहीबार नयाँ पार्टी घोषणासभामा भनेका थिए । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भने झै यो पार्टीले निर्वाचनबाट प्रतिनिधित्व हुने राज्यका सबै तहमा एकछत्र पकड जमाएको छ । निर्वाचनमार्फत प्रतिनिधित्व हुने राज्यका ‘टप सेभेन’ तहमा यो पार्टीको एकलौटी स्वामित्व छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल यही दलबाट निर्वाचित भएका हुन्।

जनमत हिस्सा ५६.०६ प्रतिशत

नेपालको राजनीतिक इतिहासमा एमाले र एमाओवादी एकीकरणसँगै पहिलोपटक नेकपाको एकमना शक्तिशाली सरकार बनेको छ । पार्टी एकीकरणसँगै संघीय संसद्का ३ सय ३४ सिटमध्ये नेकपाको पक्षमा २ सय १७ स्थान कायम भएको छ, जुन ६४.९७ प्रतिशत हो । संघीय संसदन्तर्गतको प्रतिनिधिसभातर्फका २ सय ७५ सिटमध्ये १ सय ७४ र राष्ट्रियसभातर्फका ५९ मध्ये ४३ सिटमा नेकपाको प्रतिनिधित्व भएको छ । सातवटा प्रदेशमध्ये दुई नम्बरबाहेक अन्यमा यही पार्टीको एकमना सरकार छ।

दुई दलबीचको एकतापछि दुई नम्बरबाहेक अन्य प्रदेशसभामा यही दलको एकलौटी बहुमत छ । २ नम्बरबाहेक अन्य प्रदेश संसद्को नेतृत्व (सभामुख र उपसभामुख) मा पनि यही पार्टीबाट चुनिएका नेता छन् । ५ सय ५० प्रदेश सांसदमा यो पार्टीका ३ सय ५१ जना (तत्कालीन एमालेका २ सय ४३ र तत्कालीन माओवादी केन्द्रका १०८) छन् । प्रतिशतका आधारमा यो प्रतिनिधित्व ६३.८१ हुन आउँछ ।

पार्टी एकीकरणपछि स्थानीय तहमा पनि नेकपाको दमदार पकड कायम भएको छ । स्थानीय तहमा नेकपाका २४ हजार ९ सय ८१ जनप्रतिनिधि (तत्कालीन एमालेका १९ हजार ५ सय ४० र तत्कालीन माओवादीका ५ हजार ४ सय ४१ जना) कायम भएका छन् । मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ४ सय तहमा नेकपाको नेतृत्व कायम भएको छ । प्रतिशतका आधारमा यो ५३.१२ हुन आउँछ।

६ वटा महानगरपालिकामध्ये तीनवटामा यही पार्टीको नेतृत्व छ । काठमाडौंमा विद्यासुन्दर शाक्य, भरतपुरमा रेणु दाहाल र पोखरा–लेखनाथमा मानबहादुर जिसीले यही पार्टीका तर्फबाट निर्वाचित मेयरको बागडोर समालेका छ् । पोखरा–लेखनाथ महानगरपालिकाको उपमेयर पनि यही पार्टीकी नेत्री हुन् । ललितपुर र विराटनगरमा कांग्रेस र वीरगन्जमा संघीय फोरमका मेयर छन् ।

११ उपमहानगरपालिकामध्ये ७ वटामा नेकपाको नेतृत्व छ । बुटवल, हेटौंडा, इटहरी, सिमरा–जितपुर, तुल्सीपुर, घोराही र धरानको मेयर र उपमेयर दुवै यही पार्टीबाट निर्वाचित हुन् । कलैया र धनगढी उपमहानगरपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाको नेतृत्व छ।

२ सय ७६ नगरपालिकामध्ये १ सय ४७ को नेतृत्व पनि नेकपाको हातमा पुगेको छ, जुन प्रतिशतका आधारमा ५३.२६ हुन्छ । १ सय १८ नगरपालिका मेयरमा तत्कालीन एमाले र ३३ नगरपालिका मेयरमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । १ सय ८० उपमेयर नयाँ पार्टीका छन्, जसले स्थानीय न्यायिक समितिको समेत नेतृत्व लिएका छन् ।निर्वाचन आयोगको तथ्यांक अनुसार चार सय ६० गाउँपालिकामध्ये २ सय ४३ वटामा नेकपाको नेतृत्व छ, जुन प्रतिशतका आधारमा ५२.८२ हुन्छ । गाउँपालिमा तत्कालीन एमालेबाट १ सय ७१ र माओवादी केन्द्रबाट ७२ जना निर्वाचित भएका थिए।

उपाध्यक्षमा नेकपाका २ सय ६२ जना (तत्कालीन एमाले १९४ र माओवादी ६८) छन् । एकतासँगै बनेको यो पार्टीले ३ हजार ६ सय ३८ वडामा नेतृत्व लिएको छ । वडाध्यक्षमा तत्कालीन एमालेवाट २ हजार ५ सय ५९ र माओवादीबाट १ हजार १ सय ३ जना विजयी भएका थिए । तत्कालीन एमालेबाट जितेका २ हजार ७ सय ७७ र माओवादीका १ हजार ३५ गरी मुलुकभरका स्थानीय तहमा नेकपाका ३ हजार ८ सय १२ जना महिला सदस्य छन् । स्थानीय तहमा दलित महिला सदस्यतर्फ नेकपाका ३ हजार ७ सय १० निर्वाचित छन् । ७ हजार ५ सय ४१ वडा सदस्य पनि यही नयाँ पार्टीका छन्।

प्रकाशित: ५ जेष्ठ २०७५ ००:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App