१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

बैतडी – विद्यालयमा विद्यार्थी संख्या घटन थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन्। अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका हुन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका लगायत अन्य स्थानीयतहका केही विद्यालयले यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् । दोगडाकेदारको श्रीकोटका दुई विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन्। सनातन धर्म मावि र केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको बताइएको छ। सनातनमा कक्षा १ देखि ३ सम्म र केदारनाथमा बालविकास र कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो। जिल्लाका अन्य विद्यालयले पनि कक्षा ५ सम्म अग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शंकरदत्त भट्टले बताए।

युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषामा पठनपाठन सुरु गरिएको सनातन धर्म माविका प्रअ बलदेव नाथले बताए। समयानुकल र निजी विद्यालय तर्फको आकर्षण कम गर्न अंग्रेजी माध्यमबाट पढाउन थालेको प्रअ नाथले जानकारी दिए। गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रअ शंकरराम ओडले बताए।

पछिल्लो समय देखासिखीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँसराइका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो छ। सरकारले अर्बौ रुपैयाँ लगानी गरीरहेका सामुदायिक विद्यालयमा शिक्षक अभाव, दक्ष शिक्षक अभाव र अन्य पूर्वाधारको अभावका कारण शैक्षिक गुणस्तर खस्कदै गएको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०५:४८ शुक्रबार

सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ