६ वैशाख २०८१ बिहीबार
अन्य

‘रिटायर्ड बट नट टायर्ड’

भक्तपुरका रिटायर्ड पाँंच जना शिक्षकहरू।

रामगोपाल कर्मचार्य (६६)ले शिक्षणबाट अवकास लिएको पाँच वर्षभन्दा बढी भइसक्यो । अवकासपछि उनको दिनचर्या घट्नुको साटो झनै व्यस्त छ । समाजसेवाप्रति उनको सक्रियता बढेको छ । लाग्छ– उनको जोश, जाँगर कुनै तन्नेरीभन्दा कम छैन।

४७ वर्ष शिक्षण सेवामा बिताएका उनी थुप्रै संघसंस्थामा अझै सक्रिय रूपमा क्रियाशील छन् । उनी नेपाल स्काउट, भक्तपुरको जिल्ला आयुक्त र सेवा निवृत्त शिक्षक समाज, भक्तपुरको सचिवका रूपमा क्रियाशील छन् । उनी एभरेस्ट इंगलिस स्कुल, मिवाछेंका व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । उनी नेपालकै पुरानो पद्य मावि, भक्तपुरका प्रअबाट २०६९ सालमा रिटायर्ड (सेवा निवृत) भएका हुन् ।

सेवा निवृत्त भए पनि काममा क्रियाशील अर्का व्यक्ति हुन्, विश्वराम कवाँ (५९) । ३० वर्ष शिक्षण सेवामा बिताएका उनी २०६७ सालमा नविन निमावि, याता गोल्मढीको प्रअबाट रिटायर्ड भएका थिए । रिटायर्ड भएपछि पनि उनी सक्रियरूपमा काम गरिरहेका छन् । उनी इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालि स्थापना गरी सक्रिय रूपमा काम गरिरहेका छन् । उनी सो कम्पनीका अध्यक्ष पनि हुन् । उनी युवा व्यावसायी समाज, भक्तपुरको अध्यक्ष, नेपाल इँटाभटा उद्योग संघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष र सेवा निवृत्त शिक्षक समाज भक्तपुरको कोषाध्यक्षका रूपमा क्रियाशील छन् ।

शेरबहादुर डाखुसीको कथा पनि उस्तै छ । उनी पनि रिटायर्डपछिको समय उपलब्धिमूलक कार्यमा खर्चिरहेका छन् । उनी २०७१ सालमा जोरपाटी मावि, जोरपाटी नलिन्चोकको प्रअबाट रिटायर्ड भएका भएका हुन् । शिक्षण सेवाबाट रिटायर्ड भए पनि टायर्ड नभएको उनी बताउँछन् । ‘सरकारी सेवामा सिकेको ज्ञान र अनुभव देश र समाजको विकासमा खर्चिन्छौं, रिटायर्ड भयो भनेर कोठामा चुप लागेर बस्दैनौं,’ उनले भने ।

सेवा निवृत्त शिक्षक समाज, भक्तपुरका कार्यवाहक अध्यक्ष अम्बिकामान मानन्धर जिल्लाका सयभन्दा बढी सेवा निवृत्त शिक्षक कुनै न कुनै क्षेत्रमा क्रियाशील भई सामाजिक काममा लागिपरेको बताउँछन् ।

रिटायर्ड भएपछि संस्कृतिको संरक्षण र संवद्र्धनमा लागिपरेका अर्का व्यक्ति हुन्, विश्वनाथ प्रजापती । रिटायर्ड भएपछि परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा लागिपरेको उनी बताउँछन् । उनी दाफा तथा धिमे बाजाको संरक्षण र भैल प्याखं (एक प्रकारको परम्परागत नाच) देखाउन र प्रशिक्षण दिन सक्रिय रहेको सुनाउँछन् । परम्परागत संस्कृतिको संरक्षणका लागि उनी ज्याठा गणेश दाफा भजन नामक संस्थामा क्रियाशील छन् ।

शिक्षणबाट रिटायर्डपछि धिर्जबहादुर कायष्ठ अनुसन्धानमा खटिएका छन् । उनी रिटायर्ड व्यक्तिलाई थिंक ट्यांकका रूपमा विकास गर्नुपर्ने औल्याउँछन् ।सेवा निवृत्त शिक्षक समाज, भक्तपुरका कार्यवाहक अध्यक्ष अम्बिकामान मानन्धर जिल्लाका सयभन्दा बढी सेवा निवृत्त शिक्षक कुनै न कुनै क्षेत्रमा क्रियाशील भई सामाजिक काममा लागिपरेको बताउँछन् । ‘उहाँहरू विगतमा के गर्याैं भन्दा पनि भविष्यमा के गर्न सक्छौं भनी लागिरहनुभएको छ,’ उनले भने ।

संस्थाले प्रत्येक ६ महिनामा सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गर्दै आएको उनले बताए । संस्थाले यसै साता सरस्वती मावि थाकलमाथबाट सेवा निवृत्त भएका प्रअ कान्छा बासुकला, गणेश मावि नगदेशका प्रअ रञ्जनादेवी प्रधानांग, श्रीकृष्ण मावि खरिपाटीका प्रअ सुधाम केसी, चाँंगुनारायण मावि दुवाकोटका प्रअ विष्णुभक्त राजचल, सरस्वती विद्यागृह मावि कमलविनायकका शिक्षक न्हुछेरत्न बुद्धाचार्य, शारदा मावि यालाछेंका शिक्षक रत्नकेशरी कक्षपति र सिद्धि शारदा आधारभूत विद्यालय ब्रम्हायणीका शिक्षक गंगा शाखः लाई अभिनन्दन गरेको उनले जानकारी दिए । संस्थाले सेवा निवृत्त शिक्षकहरूको अनुभव संकलन गरी ‘शैक्षिक अनुभव’ नामक पुस्तक प्रकाशित गर्दै आएको उनले बताए ।

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App