१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महाकाली करिडोरको १० करोड रकम फिर्ता

महाकाली कोरिडोर अन्तर्गत दार्चुला–तिंकर सडक खण्डको दुंहु गाउाँलिका वडा नं. ३ राताकाठा क्षेत्र ।तस्बिर / प्रेम-नागरिक

दार्चुला- महाकाली करिडोर अन्र्तगत दार्चुला तिंकर सडक खण्डमा यस वर्ष पनि विनियोजित रकम फिर्ता भएको छ । चालु आवमा विनियोजित रकम खर्च नभएपछि १० करोड विभागले फिर्ता तानेको छ।

चालु आवका लागि ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ विनियोजन भएकोमा हाल सम्ममा १५ करोड ३४ लाख ४१ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।बर्सेनि रकम विनियोजन हुने र खर्च गर्न नसकेर फिर्ता जाने क्रम चलिरहेको छ।

यसबीच, महाकाली करिडोेरका नाममा खलंगा–तिंकर सडक योजना ओझेलमा परेको छ । खलंगा–तिंकर एक सय ३० किलोमिटर सडक निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । हाल खलंगादेखि हिकिलासम्म २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । साँघुरो तथा ग्रेड नमिलेको उक्त सडकमा जोखिम मोलेर जिपहरु सञ्चालन भइरहेका छन् । गत वर्षदेखि करिडोरको नाममा बजेट विनियोजन हुन थालेपछि निर्माणाधीन दार्चुला–तिंकर सडकको निर्माण कार्य सुस्ताएको हो ।

गत आवमा मात्रै महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको लागि विनियोजित बजेटमध्ये २० करोड ९५ लाख रुपैयाँ विभागले फिर्ता तानेको थियो । विनियोजित ३० करोड ९० लाख बजेट अन्तर्गत खर्च हुन नसकेपछि उक्त रकम फिर्ता भएको थियो । आव ०६७÷६८ देखि आव ०७०÷७१ सम्म विभिन्न सात प्याकेजमा सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि हालसम्म एउटा प्याकेज मात्रैको काम सम्पन्न भएकोे छ।

महाकाली करिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दुरी २ सय ९० किलोमिटर छ । यो हाल सञ्चालनमा रहेको महाकाली लोकमार्गको अत्तरिया–खलंगा भन्दा मात्र १५ किलोमिटर कम हो । दार्चुला–कञ्चनपुर जोडने छोटो मार्गको रुपमा रहेको महाकाली करिडोर हुनुपर्नेमा पञ्चेश्वर बाँधका कारण करिब ४० किलोमिटर बढेको आयोजनाले जनाएको छ । महाकाली किनार पञ्चेश्वर बाँधका कारण डुबान हुने भएकाले बैतडीको सिल्लेक, सलसेना धनथला, खरकडा हँुदै जौलजिवीमा सो सडक जोडिने छ । दार्चुला–तिंकर सडक योजनाका पुराना प्याकेजमा विष्पोटक अभावमा निर्माण कार्य प्रभावित भएको योजनाले जनाएको छ।

सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय ३० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१÷४२ मा सुरु गरिएको हो । ३१ आर्थिक वर्षसम्म निरन्तर सरकारको रातो किताबमा अटेको उक्त आयोजनाले चालु आवमा पनि स्थान पाएको छ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App