६ वैशाख २०८१ बिहीबार
अर्थ

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

फाइल तस्बिर

काठमाडौं– मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

'सोमवार रातिदेखि चुचुरोतिर लागेका स्वदेश तथा विदेशका सय भन्दा बढी आरोही मौसम खराव भएपछि विभिन्न क्याम्पमा रोकिए,' सगरमाथा आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले नागरिकन्यूजसँग भने, ‘आठ हजार मिटरमाथिको मौसम एक्कासी बिग्रिएपछि सबै आरोही आरोहण रोक्न बाध्य भए ।'

विभिन्न देशबाट आइपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयसमेत गरी करिब ९ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा उपयुक्त मौसम कुरेर बसिरहेका छन् । बढीमा दुई साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन् ।

श्रेष्ठका अनुसार ती आरोही मंगलबार रातिदेखि पुन: शिखरतिर लम्कनेछन् । मौसमले साथ दिए ती आरोही भोलि बुधवार बिहान ८ देखि ११ बजेभित्र शिखर पुग्नेछन् । सगरमाथा शिखरमा मंगलबार कुनै आरोही नपुगे पनि सँगैको अर्को हिमाल ल्होत्सेको ६ नेपाली र ४ विदेशीले सफल आरोहण गरेका छन् । 

यसअघि सोमवार अनुकूल मौसमको फाइदा उठाउँदै  चार दर्जनभन्दा बढी आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।आधारशिविरदेखि चौथो क्याम्पसम्म अनुकूल मौसम कुरिरहेका सयौं आरोहीमध्ये सोमबार एकै दिन स्वदेश तथा विदेशका ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसपालि वसन्त ऋतुमा आइतबार आठ नेपालीले चुचुरोमा विजयी झन्डा फहर्‌याएसँगै सुरु भएको सगरमाथाको सफल आरोहणको दोस्रो दिन ५० आरोही शिखर पुगेका हुन् । ती आठजनाले आधारशिविरबाट चुचुरोसम्म डोरी टाङ्दै गएका थिए र सबैले सफल आरोहण समेत गरेका थिए ।

‘विभिन्न आरोहण दलमा आबद्ध ५० आरोही सर्वोच्च शिखर पुगेका छन्, ’पर्यटन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘सबैजनाले साधारण रुट (दक्षिणपूर्वी मोहोडा) बाट सफल आरोहण गरेका हुन् ।’

उनका अनुसार ती आरोही शिखर पुगेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कुन देशका, महिला, पुरुष कति र कसले कुन समयमा सफल आरोहण गरे लगायत विस्तृत विवरण भने अझै आउन बाँकी छ । ‘ती ५० आरोही बिहान ६ बजेदेखि ११ बजेभित्र शिखर पुगेका छन्,’ उनले भने, ‘अहिले मौसमले पनि साथ दिइरहेको छ । मंगलबार १ सयभन्दा बढी आरोही शिखर पुग्ने तयारीमा छन् ।’

यसपालि विभिन्न दलमा सहभागी भई आरोहण सदस्यका रूपमा नेपालबाट १५ महिला र पाँच पुरुष पनि छन् । त्यसबाहेक आरोहण सहयोगीका रूपमा थप चार महिला पनि छन् ।

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार सगरमाथाको मौसम विस्तारै अनुकूल हुँदै गएपछि आधारशिविरदेखि विभिन्न क्याम्पमा रहेका सयौं आरोही शिखरतर्फ जाने तयारीमा छन् । विभिन्न देशबाट आइपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयसमेत गरी करिब ९ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा उपयुक्त मौसम कुरेर बसिरहेका छन् । बढीमा दुई साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन् ।

पर्यटन मन्त्रालयले खटाएका आठजना ‘आइसफल डाक्टर’ (स्थानीय आरोही) ले आइतबार चुचुरोसम्मै डोरी राखेपछि आरोहण सुरु भएको थियो । सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।

आरोहण सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आइतबार ल्होत्से चुचुरो पुगेकी दोलखा गौरीशंकर–९ की निमाजाङ्मु शेर्पाले सोमबार सगरमाथा शिखरको सफल आरोहण गरेकी छिन् । यो वर्ष दुवै हिमाल एकै पटक चढ्ने र सगरमाथा शिखर पुग्ने पहिलो नेपाली आरोहीमा उनी दरिएकी छिन् ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले त्यसबेला  आरोहण गतिविधि स्थगन गरेको थियो । त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो ।  

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ ।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यसअघि यस्तो शुल्क २५ हजार डलर थियो । नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर रोयल्टी तिर्नुपर्छ । यसअघि १५ हजार डलर थियो ।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ । यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपथ्र्यो । यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ । यसअघि २० हजार र १० हजार डलर छ ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ ।

दुवै खुट्टा नभएका चिनियाँ चुचुरो पुगे
यसैबीच दुवै खुट्टा नभएका एक चिनियाँ आरोहीले सोमबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
दुइटै कृत्रिम खुट्टा जडान गरेका ६९ वर्षीय जिया बोयुले बिहान ८ः४० बजे सफल आरोहण गरेको आधारशिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘नेपाली भेगबाट दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखर पुगेको यो इतिहासमै पहिलो पटक हो,’ श्रेष्ठले भने, ‘यसअघि दुवै हात नभएका एक आरोहीले सफल आरोहण गरेका थिए ।’

उनका अनुसार चिनियाँ आरोही बोयु यसअघि सन् २०१४ मा पहिलो पटक सगरमाथा आरोहणमा आएका थिए । त्यसबेला हिमपहिरोका कारण आरोहण स्थगन भएको थियो । त्यसपछि अर्को वर्ष २०१५ मा विनाशकारी भूकम्पका कारण आरोहण बन्द भएको थियो र २०१६ पुनः आएका उनी सफल हुन सकेका थिएनन् ।
 

 

प्रकाशित: १ जेष्ठ २०७५ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App