coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

वस्तुगत विवरणबिनै बजेट तयारी

स्थानीय तह नयाँ आर्थिक वर्षको लागि योजना तथा बजेट तर्जुमाको तयारीमा लागेका छन् । तर, बजेट बनाउनुअघि गर्नुपर्ने महत्वपूर्ण काम गरेका छैनन् ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले बजेट बनाउनुअघि स्थानीय तहले भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधारलगायत क्षेत्रको यथार्थ स्थिति देखिनेगरी वस्तुगत विवरण तयार गर्नुपर्ने निर्देशन गरेको छ । यसरी तयार भएको वस्तुगत विवरण वेबसाइटमा सार्वजनिक समेत गर्नुपर्ने भए पनि स्थानीय तहले त्यसको बेवास्ता गरेका छन्।

कतिपय स्थानीय तहलाई भने वस्तुगत विवरण बनाउनुपर्छ भन्नेसमेत जानकारी छैन । ‘बजेट बनाउने छलफलमा भने हामी तयारीमा जुटेका छौं,’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने, ‘वस्तुगत विवरणबारे भने कुनै काम गरेका छैनौं ।’ उनका अनुसार कार्यपालिका बैठकमा वस्तुगत विवरणको कुरा आए पनि कुनै काम भने भएको छैन ।

काठमाडौं महानगरपालिकाले समेत वस्तुगत विवरण तयार गरेको छैन् । ‘हामीले वडाहरुलाई विवरण तयार गर्न लगाएका छौं,’ महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘बजेट अगाडि नै तयार हुन्छ ।’मन्त्रालयले योजना बनाउन सहज होस् भनेर वस्तुगत विवरण तयार गर्न वस्तुगत विवरण बनाउन लगाएको हो । चालू आर्थिक वर्षको बजेट विनियोजन अगाडि नै गर्नुपर्ने भए पनि दुई–चार वटाबाहेक अन्यले गरेका छैनन् ।

कतिपयले भने यसअघि संकलन गरेका सूचनाबाटै काम चलाउँदै आएका छन् । ‘नयाँ वस्तुगत विवरण बनाउनुपर्ने भए पनि बनाउन सकेका छैनौं,’ बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले भने, ‘योजना तथा बजेट तर्जुमा गर्दा उपलब्ध भएका सूचनालाई नै आधार मानेर तयार गरिरहेका छौं ।’ वस्तुगत विवरण आवश्यक रहेको भन्दै आगामी वर्ष बनाउने कार्ययोजना रहेको उनको भनाई छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वस्तुगत विवरण कसरी बनाउने भनेर ढाँचासमेत सार्वजनिक गरेको छ । ‘वस्तुगत विवरण बनाउन मन्त्रालयले वेबसाइटमार्फत् ढाँचा पनि सार्वजनिक गरेको छ,’ मन्त्रालयका सचिव दिनेश थपलियाले भने, ‘धेरै गाह्रो नभएको काम पनि स्थानीय तहले गरिरहेका छैनन् ।’ वस्तुगत विवरण बनाउने काम ढिलोचाँडो भए पनि बनाउनु अनिर्वाय रहेको थपलियाको भनाई छ ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले बजेट बनाउनुअघि स्थानीय तहले भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधारलगायत क्षेत्रको यथार्थ स्थिति देखिनेगरी वस्तुगत विवरण तयार गर्नुपर्ने निर्देशन गरेको छ । यसरी तयार भएको वस्तुगत विवरण वेबसाइटमा सार्वजनिक समेत गर्नुपर्ने भए पनि स्थानीय तहले त्यसको बेवास्ता गरेका छन्।

त्यसैले यसअघि वस्तुगत विवरण तयार गरेका स्थानीय तह पनि मन्त्रालयको ढाँचानुसार बनाउन लागेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको यसअघि नै वस्तुगत विवरण छ । ‘हामीसँग भएको वस्तुगत विवरण पुरानो ढर्राको छ,’ मेयर कृष्णहरि थापाले भने, ‘यसलाई परिवर्तन गरेर मन्त्रालयको ढाँचाअनुसार बनाउन लागेका छौं ।’ उनका अनुसार यस पटक पुरानो विवरणबाटै बजेटको बाँडफाँड गरे पनि अर्को वर्ष नयाँ विवरण अनुसार योजना तर्जुमा तथा बजेट विनियोजन हुनेछ।

वस्तुगत विवरणले योजना तथा बजेट तर्जुमा मात्रै नभएर आम्दानीको स्रोत पहिचान गर्न समेत सहज हुन्छ । ‘वस्तुगत विवरणले चुहावट भइरहेको राजस्व उठाउने सहज हुन्छ,’ मन्त्रालयका सचिव थपलियाले भने, ‘त्यसैले स्थानीय तहले सक्दो चाडो वस्तुगत विवरण तयार गर्न राम्रो हुन्छ ।’बजेट तर्जुमा दिग्दर्शनले वडालाई दामासाही बजेट बाँड्न रोकेको छ । वडालाई बजेट विनियोजन गर्दा वडाको सबै पक्षलाई हेरेर मात्रै बजेट विनियोजन गर्न निर्देशन गरेको छ । उक्त निर्देशनलाई परिपालना गर्नसमेत वस्तुगत विवरण सहयोगी बन्नेछ।

‘वस्तुगत विवरणको प्रयोगको बहुउद्देश्य छ,’ थपलियाले भने, ‘केन्द्रिय सरकारले समेत कुन वडामा के कुराको आवश्यकता, सम्भावना तथा योजना रहेको छ भनेर सहजै नियाल्न सकिन्छ ।’ स्थानीय सरकारलाई मात्रै नभएर केन्द्रीय सरकारले समेत योजना बनाउन सहज हुने अनुमान मन्त्रालयको छ ।वस्तुगत विवरणबिनै बजेटको तयारी गर्दा कम प्रभावकारी हुने भएकाले सबै स्थानीय तहले वस्तुगत विवरण बनाएर योजना तथा बजेट तर्जुमा गर्नुपर्ने थपलियाले बताए।

प्रकाशित: ३१ वैशाख २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App