coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रभुुका नाममा धर्म परिवर्तन

घोराहीस्थित अनन्त झरी चर्च। तस्बिर : नगरिक

दाङ – शनिबार बिहान घोराहीस्थित अनन्त झरी मण्डली परिसरमा हुलका हुल प्रभुका अनुयायीको जमघट बाक्लिँदै थियो। प्रत्येक शनिबार प्रभुको पाठ गर्ने नियमित कर्मअनुसार यहाँका हरेक चर्चमा यो दिन अनुयायीको जमघट हुन्छ। चर्चभित्र र बाहिर अनुयायीको ओहोरदोहोर चलिरहेको थियो। यसैक्रममा चर्चका सहपास्टर दिलबहादुर पुन आइपुगे। लामो समयदेखि प्रभुका अनुयायी रहेका उनले प्रभु लीलाका फेहरिस्त सुनाउन थाले। प्रभुप्रतिको विश्वास जगाउन उनले प्रभुलीला सुनाए। ‘प्रभुपाठमा शक्ति छ, प्रभुको प्रार्थना गरेरै धेरै सिकिस्त बिरामी निको बन्नुभएको छ,’ उनले भने, ‘अहिले यसुप्रतिको आकर्षणको मूल कारण नै यही हो।’

घोराही फुसैखालीकी एक बालिका केही समयअघि अचानक मानसिक सन्तुलन गुमाएको दिलबहादुरले थाहा पाए। ‘१५ दिनदेखि उसको दिमाग पूरै बिग्रिसकेको रहेछ,’ प्रभुलीला सुनाउँदै उनले भने, ‘यो थाहा पाएपछि म ती बालिकाको घरमै पुगें।’ प्रभुको प्रार्थनाबाटै आफूले ठीक पारिदिने भन्दै उनले परिवारसँग प्रार्थनाका लागि अनुमति मागे। जिल्लामा उपचार गराउँदा भारत लैजान चिकित्सकबाट पाएको सल्लाहअनुसार परिवारले ती बालिकालाई भारतमा लगेर उपचार गराउने तयारी गर्दै थियो। तर, प्रभुको प्रार्थनाबाटै निको हुने विश्वासले बालिकालाई भारत लगिएन।

प्रभुका अनुयायी दिलबहादुरले प्रभुको प्रार्थना सुरु गरे। ‘मैले प्रार्थना गरेको केही समयमै त्यो बच्चाको होस ठाउँमा आयो’, दिलबहादुरले भने, ‘१५ दिनसम्म केही नखाएको त्यो बच्चाले उतिबेलै खाना मागेर खायो।’

स्थानीय चर्चका पास्टरहरू मूलतः उपचारलाई प्राथमिकतामा राखेर अनुयायी बनाउने काम गरिरहेका छन्। उनीहरू सुरुमा प्रार्थनाका लागि बिरामीको घरमै पुग्छन्। अनि बिस्तारै बिरामीलाई चर्चमा राखेर प्रार्थनाका लागि बोलाउँछन् र क्रिस्चियन धर्ममा आबद्ध गराउँछन्।

एकाएक बालिकामा आएको त्यो परिवर्तन देखेर परिवारमा प्रभु प्रार्थनाप्रति ठूलो विश्वास जागेर आयो। फलतः दिलबहादुर नियमित प्रार्थनाका लागि ती बालिकाको घरमा जान थाले। ‘चौथो दिनमा बालिकाले अरू मान्छेलाई पनि चिन्न थालिन्,’ उनले भने, ‘उसको दिमाग अब ठाउँमा आइसकेको थियो।’

प्रभुको प्रार्थनाबाट बालिकाको मानसिक अवस्थामा सुधार आएको भन्दै प्रभुलीलाको मिठो कथा सुनाएका दिलबहादुरको यो कथाको सत्य–असत्य पाटो एकातिर होला तर यही प्रार्थनाको प्रभाव पारेर ती बालिकालाई प्रभुको अनुयायी बनाउन भने दिलबहादुर नाटकीय ढंगबाट सफल भएको उनकै कथाले पुष्टि गर्छ।

नियमित घरमा गएर प्रार्थना गरेका दिलबहादुरले अब ती बालिकालाई चर्चमै राखेर प्रार्थना गर्नुपर्ने भन्दै परिवारलाई चर्चमा पु-याउन सल्लाह दिए। तर ती बालिक चर्चमा जान मानिनन्। बालिका चर्चमा जान नमानेपछि नाटकीय शैली अपनाइयो। फिल्म हेर्ने बहानामा बालिकालाई घरबाट निकालियो र सीधै घोराही भरतपुरस्थित एउटा चर्चमा पु¥याइयो। बालिकाले चर्चको गेटभित्र पाइला राख्न मानिनन्। ‘जान्न भनेर उनी चर्चको गेटबाहिरै पल्टिइन्,’ उनले सुनाए, ‘मान्दैनमानेपछि उनलाई जबरजस्ती बोकेर चर्चभित्र लगियो र उसका लागि प्रार्थना गरियो। जबरजस्ती बोकेर चर्च प्रवेश गराइएकी ती बालिका अन्ततः अहिले प्रभुका अनुयायी बनेकी छिन्।’

प्रभुका अनुयायी भैलो खेलेकै कारण अपांगता बनेको अर्को चाखलाग्दो कथा दिलबहादुरले सुनाए। हिन्दु धर्म र संस्कृतिअनुसार भैलो खेलेकै कारण अपांग बनेका क्रिस्चियन धर्मावलम्बीलाई पुनः प्रभुको प्रार्थना गरेर निको पारिएको दाबी उनले गरे। फुर्सेखालीकै दिलबहादुरको साढुदाइ पहिलेदेखि नै क्रिस्चियन धर्मका अनुयायी थिए। यसै क्रममा उनी विदेश जानका लागि काठमाडौं पुगे। तिहारको समय भएकाले काठमाडौंको केही दिनको बसाइमा उनी अन्य साथीसँग मिलेर भैलो खेल्न निस्किए। दिलबहादुरले बाइबलको सार सुनाउँदै भने, ‘उहाँले यसुविरोधी काम गर्नुभयो।’ तिहारका बेला एकरात भैलोमै बिताएका दिलबहादुरका साढुदाइको एउटा खुट्टाले काम गर्न छाड्यो। उनी विदेशयात्रा रोकर घर फर्किए। साढुदाइ बिरामी परेको खबर सुनेर दिलबहादुर भेट्नका लागि उनको घरमै पुगे। ‘उहाँ क्रिस्चियन भइसकेपछि हिन्दु धर्म–संस्कृतिअनुसार भैलो खेल्नुभएछ, प्रभुले त्यसैको सजाय दिनुभएको रहेछ,’ दिलबहादुरले भने, ‘भैलो खेलेको दोष मेटाउनका लागि फेरि प्रभुसँग क्षमा माग्नु पर्ने भयो।’

प्रभुसँगको क्षमायाचनाका लागि दिलबहादुरले प्रार्थना सुरु गरे । पटक्कै नचल्ने गोडाका औंलाले उतिबेलै चलमलाए।

नियमित प्रभुको प्रार्थना गराइदिएर दिलबहादुरले हिन्दु संस्कृतिअनुसार भैलो खेलेको दोष मेटाइदिए। ‘अहिले उहाँ मज्जाले हिँड्नुहुन्छ, रुखमा समेत चढ्न सक्ने हुनुभएको छ,’ दिलबहादुरले भने।

चर्चका सहपास्टर दिलबहादुरले सुनाएका यी प्रभुलीला थप अनुयायी बढाउने बलिया अस्त्र हुन्। प्रभुको प्रार्थना गरेपछि जस्तोसुकै रोग निको हुन्छ भन्ने प्रचारकै कारण अहिले प्रभुप्रतिको विश्वास धेरै बढेको उनी स्वयं बताउँछन्। ‘प्रभुले चाहेको अवस्थामा जस्तोसुकै रोगव्याध पनि निको पार्नुुहुन्छ। यो ध्रुव सत्य कुरा हो,’ उनले भने, ‘विशेषतः प्रभुको प्रार्थना गरियो भने भूतप्रेतले छुँदैछुन्न।’

घोराहीको फुर्सेखालीमा प्रभुकै लीलाले बिरामी निको भएका उदाहरण पेस गरिरहँदा त्यही गाउँमा प्रभुको प्रार्थनाका कारण बिरामीको अवस्था झनै बेहाल बन्न पुगेका अन्य उदाहरण पनि भेटिए। रोल्पाका भीमबहादुर विक झन्डै दुई महिनाअघि दाउरा काट्ने क्रममा लडे। उनका दुवै खुट्टा काम नलाग्ने अवस्थामा पुगे। उनलाई उपचारका लागि काठमाडौं लगियो। खुट्टाले कामै नगर्ने भन्दै डाक्टरले तत्काल लखनउ लैजान सल्लाह दिए। बिरामीलाई घोराही फुर्सेखाली गाउँमा ल्याइयो, यहाँ उनको आफन्तको घर रहेछ। प्रभुले निको पारिदिने खबर सुनेका बिरामीका आफन्तले प्रभुको शक्ति प्रयोग गर्ने मन बनाए। यो खबर पाउनासाथ अनुयायीहरू बिरामीको उपचारका लागि प्रार्थनामा जुटे। झन्डै महिना दिनसम्म प्रार्थनाको क्रम चलिरहेको थियो, बिरामी झन्झन् गल्दै गए। तर, अनुयायीहरूले निको बनाएरै छाड्ने विश्वास दिलाइरहेका थिए। ‘नआत्तिनुस्, हामी जसरी पनि निको पार्छौं भनेर उनीहरूले विश्वास दिलाइरहेका थिए,’ एक स्थानीयले भने, ‘तर, बिरामी झन्झन् गल्दै जान थाले। प्रभु प्रार्थनाकै भरमा पर्दा बिरामीका खुट्टा पाक्न थाले। सुन्निएर पूरै नीला भइसकेका थिए, अनि गल्दै जान थालेका रहेछन्, बाहिरै गन्ध आउन थालिसकेको थियो।’

खुट्टा पाक्दै जान थालेपछि परिवार आत्तियो, केही दिनअघि मात्रै उनलाई उपचारका लागि बाहिर लगिएको छ। आफूहरूले लामो समयसम्म प्रार्थना गरेको तर निको नभएको उनका लागि प्रार्थना गरिदिएका इमान्युयल चर्चका पास्टर बहादुर सिंह बताउँछन्। ‘डाक्टरको उपचारबाट निको नभएपछि प्रभुलाई खोज्दै यहाँ आउनुभएको थियो,’ सिंह भन्छन्, ‘हामीले एक महिनासम्म प्रार्थना ग¥यौं तर निको भएन। अहिले खुट्टा काट्नका लागि बाहिर लगेको भन्ने सुनेको छु।’

उनका अनुसार एकाएक खुट्टा काम नलाग्ने अवस्थामा पुगेका भीमबहादुर पहिला क्रिस्चियन थिए। एकाएक यो धर्म त्यागेर उनी हिन्दु धर्मको अनुयायी बन्न पुगे । ‘उहाँँका हरेक व्यवहार अब प्रभुको सिद्धान्तविपरीत बन्न थाले,’ उनले भने, ‘परमेश्वरप्रतिको आस्था छाडेपछि उहाँलाई भूतप्रेतले आक्रमण गरेर खुट्टा कामै नलाग्ने अवस्थामा पुगेछन्।’ निको हुनका लागि पुनः प्रभुको शरणमा पर्न आएका भीमबहादुरका लागि प्रभुसमक्ष क्षमायाचना गरियो तर प्रभुले क्षमयाचना नगरिदिएको उनले बताए। ‘हामीले प्रार्थनामात्रै गरिदिने हो, न्याय गर्ने या नगर्ने प्रभुको हातको कुरा हो,’ सिंह भन्छन्, ‘हामीले प्रभुसमक्ष क्षमा माग्दा धेरै बिरामी निको पनि हुनुभएको छ, कसैलाई निको हुँदैन, यो सब प्रभुको हातमा भर पर्छ।’

बाइबलमा प्रभु प्रार्थनाले बीस बर्षसम्ममा पनि रोग निको हुने उल्लेख भएको पास्टर सिंह बताउँछन्। तर, बिरामीमा पनि प्रभुले निको पार्नुहुन्छ भन्ने दृृढ विश्वास अनिवार्य चाहिने अर्का पास्टर दिलबहादुर बताउँछन्। ‘म प्रभुको शरणमा परेपछि निको हुन्छु भन्ने विश्वास भयो भने निको हुन्छ,’ उनले भने, ‘प्रभुको प्रार्थना गर्ने तर प्रभुको विश्वास नगर्ने हो भने उहाँले प्रार्थना सुन्नुहुन्न।’

स्थानीय चर्चका पास्टरहरू मूलतः उपचारलाई प्राथमिकतामा राखेर अनुयायी बनाउने काम गरिरहेका छन्। उनीहरू सुरुमा प्रार्थनाका लागि बिरामीको घरमै पुग्छन्। अनि बिस्तारै बिरामीलाई चर्चमा राखेर प्रार्थनाका लागि बोलाउँछन् र क्रिश्चियन धर्ममा आबद्ध गराउँछन्।

यसैगरी समाजमा विद्यमान जातीय छुवाछुतको व्यवहारबारे कुरा गर्दै पास्टरहरूले फाइदा पनि लिइरहेका छन्। ‘हिन्दु धर्ममा रहेर जातीय छुवाछुतले पिल्सिएका धेरै व्यक्ति यतातिर आउने गर्नुहुन्छ,’ दिलबहादुर भन्छन्, ‘किनकि क्रिस्चियन धर्ममा जातभात भन्ने कुरा हुँदैन, जातीय विभेद नहुँदा मान्छेले धेरै स्वतन्त्रताको अनुभूत गर्दारहेछन्।’

प्रकाशित: ३१ वैशाख २०७५ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App