coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् । मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री ओलीले डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए।

भावुक मुद्रामा ओलीले यस्तो प्रश्न राखेपछि मोदीले समस्या समाधानमा पहल गर्ने र नेपाल–भारत सीमा क्षेत्र अवलोकन भ्रमण गर्ने प्रतिबद्धता जनाएको जानकारी अर्थमन्त्री युवराज खतिवडाले दिए । ‘भारतीय बाँधका कारण नेपालतर्फ बर्सेनि बर्खाका बेला मानवीयसँगै अर्बौ रुपैयाँबराबरको धनमाल क्षति हुँदै आएको छ, नेपाली जनता वर्षौंदेखि यो समस्यामा पर्दै आएका छन्,’ ओलीले मोदीसँग राखेको प्रश्न र विषयवस्तु उद्धृत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘यसरी बर्सेनि नेपाली जनता डुबानमा पर्दा तपाईको मन दुख्दैन ?’प्रधानमन्त्री ओलीले उक्त प्रश्न गर्दा भावुक देखिएका भारतीय प्रधानमन्त्री मोदीले विलम्ब नगरी जबाफ दिएका थिए ।

‘मोदीदे भनेका थिए– यसबारे सीमा क्षेत्रमा संयुक्त अवलोकन भ्रमण गर्न आवश्यक छ, त्यो भ्रमण गर्ने प्रबन्ध मिलाउँछु,’ प्रदेश नम्बर २ बाट संघीय संसद्मा प्रतिनिधित्व गरेका सांसदसँग बजेटसम्बन्धी छलफलमा प्रधानमन्त्री ओली र मोदीबीच भएको वार्ताबारे जानकारी दिँदै खतिवडाले भने । ओली र मोदीबीचको वार्तामा अर्थमन्त्री खतिवडासहित केही वरिष्ठ मन्त्री उपस्थित थिए ।

यसअघि चैतमा भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री ओलीले तराई–मधेसको भूभागमा बर्सेनि हुने डुबान समस्या उठाउँदै समाधानका लागि पहल गर्न मोदीको ध्यानाकर्षण गराएका थिए । ‘यसअघि पनि भारत भ्रमण क्रममा प्रधानमन्त्रीज्यूले डुबानका कारण मुख्यतः तर्राइ मधेसका जनतालाई परेको समस्याबारे ध्यानाकषर्ण गराउनुभएको थियो तर यसपटक अलि गम्भीर रुपमा नै छलफल भयो, यसै कारण अब संयुक्त टोली बनाएर प्रभावित क्षेत्र अवोलकन गरिने भएको छ’, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नागरिकसँग भने । रिमालका अनुसार प्रधानमन्त्री ओलीले दिल्लीमा भारतीय समकक्षी मोदीसँग भनेका थिए, ‘भारतमा विकास हुने तर नेपालको भूभाग डुब्ने गरेको छ, यता विकास हुँदा उता नेपाल डुबानमा पर्ने समस्या अन्त्य हुनुपर्छ।’

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति भइरहेको जानकारी गराउँद समाधानका लाग पहल गर्न आग्रह गरेका हुन् ।

यसै विषयलाई मोदीको नेपाल भ्रमणका बेला पनि गम्भीर रुपमा उठान गरेपछि सिंँचाइ, बाढी नियन्त्रण र डुबान समस्या समाधान गर्न प्राविधिक कार्य र निरन्तर द्विपक्षीय परियोजनाहरुको कार्यान्वयन सहकार्यमा तीव्रतासाथ गर्ने अघि बढाउने सहमति भएको रिमालले जानकारी दिए । ‘समस्याको दिगो समाधानका लागि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र उपयुक्त उपाय अबलम्वन गर्ने निष्कर्ष निकालिएको छ,’ संयुक्त विज्ञप्तिको आठौंं बँुदामा उल्लेख छ ।

नेपाल–भारत सिमानामा भइरहेको भारतीय सुरक्षाकर्मीको ज्यादतीलगायत अन्य विषयमा पनि दुवै प्रधानमन्त्रीबीच खुलेर कुराकानी भएको छ । सम्झौता गर्ने तर कार्यान्वयन तहमा नजाँदा समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनमा विशेष जोड गरेका थिए ।

‘त्यसै क्रममा प्रधानमन्त्रीज्यूले मोदीजीसँग यो पनि भन्नुभयो कि– अब उधारो सम्झौता नगरौं, सम्झौता गरिसकेपछि कार्यान्वयनतर्फ फटाफट लागौं, यसअघि भएका सम्झौतालाई पनि कार्यान्वयन गर्दै जानुपर्छ, यसले विश्वास बढाउँछ ।’ ओलीले यस्तो प्रस्ताव राखेपछि यसअघि भएका सहमति, सम्झौता र सन्धि अध्ययन गरी असोजभित्रै कार्यान्वयन तहमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री ओली स्वयंले दुवै देशबीच देखिएका समस्यका र असमझदारी संविधान दिवसअघि नै टुंग्याउने सहमति भइसकेको खुलासा गरेका छन् ।

ओलीले विगतका सहमति कार्यान्वयनलाई विशेष जोड दिएपछि संयुक्त वक्तव्यको १२औं बुदाँमा त्यसलाई सम्बोधन गरिएको छ । ‘सबै क्षेत्र समिटिने गरी महत्वपूर्ण विषय सम्बोधन गरिसक्न दुवै प्रधानमन्त्रीले आ–आफ्ना अधिकारीहरुलाई असोजसम्मको समय दिएर काममा लाग्न निर्देशन दिनुभएको छ’, सो बुँदामा उल्लेख छ ।

तराईका सडक मध्यपहाडी लोकमार्गसँग जोडिने

अर्थमन्त्री युवराज खतिवडाले तराई–मधेसका सडकलाई पुष्पलाल (मध्यप हाडी) लोकमार्गसँग जोड्नका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन । बजेटका सम्बन्धमा प्रदेश नम्बर २ का सांसदहरुसँग भएको सामूहिक परामर्शमा खतिवडाले तराई –मधेसका सडकलाई मध्यपहाडी लोकमार्गसँग जोड्न बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘तराई–मधेसका सडकलाई मध्यपहाडी लोकमार्गसँग पनि जोड्नेबारे मेरो ध्यानाकषर्ण भएको छ, यसलाई म बजेटमा सम्बोधन गर्नेछु’, खतिवडाले भने । उनका अनुसार बजेटमा मरिन–सुनकोसी डाइभर्सन, रेल्वे, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, निजगढ विमानस्थल, फास्ट ट्रयाकलगायतलाई प्राथमिकतामा राखिने छ ।

माओवादी केन्द्रका सांसद प्रभु साह नेतृत्वको संसदीय टोलीले प्रदेश २ का समस्यावारे अर्थमन्त्रीलाई जानकारी गराएको छ ।‘मानव विकास सूचकांकमा यसै पनि प्रदेश नम्बर २ पछि परेको अवस्था छ, त्यसलाई दिगो विकाससँग जोडने गरी बजेट तर्जुमा गर्नु आवश्यक छ’, साहले भने, ‘चुरे क्षेत्रको संरक्षणदेखि तटबन्ध गर्न एकीकृत कार्यक्रम ल्याउन मन्त्रीज्यूको ध्यानाकषर्ण गराएका छौं ।’ डेढ दर्जनजति सांसदसँग अर्थमन्त्रीले परामर्श गरेका थिए ।

टोलीमा सहभागी संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले गण्डक सिँचाइ आयोजनादेखि निजगढ विमानस्थललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए भने कांग्रेस सांसद तेजुलाल चौधरीले प्रदेश २ मा एउटा पनि प्राविधिक शिक्षालय नभएकाले यो विषयलाई बजेटबाट सम्बोधन गर्नुपर्ने बताएका थिए । अन्य सांसदले सिँचाइ, शिक्षा, स्वास्थ्य, डुबान, चुरे संरक्षणलगायत विषयलाई प्राथमिकतामा राख्न सुझाएका थिए ।

अर्थमन्त्री खतिवडाले प्रदेश २ मा सामाजिक विषयलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्र्ने सोचमा आफू रहेको बताएका थिए । आगामी आर्थिक वर्षभित्र प्रदेश २ मा रेल सञ्चालन गरिसक्ने योजना रहेको जानकारी पनि खतिवडाले गराएका थिए ।

प्रकाशित: ३१ वैशाख २०७५ ००:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App