६ वैशाख २०८१ बिहीबार
अन्य

क्षतिपूर्ति लिन हकदार आएनन्

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् ।

मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकम दाबी गर्न कोही नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिए । उनका अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको सात लाख ८५ हजार रूपैयाँ प्रशासनको खातामा थन्किएको छ ।

“वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ ।” लम्सालले भन्नुभयो, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन्।”

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चार जना र २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो । पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो ।

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुुसार १० हजारदेखि ५५ लाख ४० हजार रूपैयाँसम्म आएको छ । कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानुनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ।रासस

 

प्रकाशित: २८ वैशाख २०७५ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App