६ वैशाख २०८१ बिहीबार
विचार

भ्रमणको भ्रम र यथार्थ

नेपाल–भारत सम्बन्धबारे बहसगर्दा सधैँ शंका उठ्ने गर्छ । दुई छिमेकीबीच कुनै पनि कुरा गर्नुस्, तर वा किन्तु, परन्तु गाँसिन आइहाल्छ । त्यतिमात्र होइन, हुन त हो पनि भन्छन् । परापूर्वकालदेखि एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि सिमाना खुला रहेका यी दुई देशबीचको सम्बन्धबारे सिधा, सरल र यथार्थ कुरा गरे पनि त्यसको बांगो र टेडोमेडो अर्थ लगाइहालिन्छ, किन ?

भारतीयहरूबीच एकदमै चर्चामा रहेको एउटा हिन्दी व्यंग्य छ, जसले नेपाल–भारत सम्बन्धको यथार्थलाई चित्रण गर्छ– हम भारतीय वार्ता सुरु करते हैं, नेहरू से । नेहरुजीकी दर्शनसे लेकिन उतरले हैं नरगीस पर ! उनकी सुन्दरता और नटखटके बखानमे ! (हामी भारतीयहरू जहिले पनि वार्ता सुरु गर्छौं नेहरुबाट । पण्डित जवाहरलालजीले अँगाल्नु भएको दर्शनबाट । तर हाम्रो छलफलको अन्त्य भने बहुचर्चित हिरोइन नर्गीसको सुन्दरताबाट गर्छौं । उनको हाउभाउ, उनको गोरोपन र सुडौल शरीरको कामुक चर्चामा पुगेपछि हाम्रो छलफल टुंगिन्छ ।) 

केही दिनअघि चीन पुगेर फर्केपछि मोदीले चीन कार्ड त प्रयोग गर्ने होइनन् भन्ने आशंका गरिएको छ । यो आशंकाले के संकेत गर्छ भने मोदीले चीनसँगको सहकार्यबाट नेपाललाई अल्मल्याउने त होइनन् ? यसको जवाफ ओलीले ‘टाढाको देवता, करेसाको भूत’ बनाएर दिनुपर्छ ।

शुक्रबारदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण यतिखेर बहुचर्चामा छ । सार्वजनिक बसवालाहरूको सिन्डिकेट र ३३ केजी सुनकाण्डको चर्चालाई मोदीको नेपाल भ्रमणले छायाँमा पारेझैँ छ । काठमाडौँबाट प्रकाशित हुने पत्रपत्रिका, प्रसारण हुने टेलिभिजन र रेडियो तथा सामाजिक सञ्जालहरू वर्षामासका नदीनालामा पानी भरिएसरि मोदीको भ्रमण र त्यसबारेका समाचार, लेख, विचार, क्रिया–प्रतिक्रिया, तस्बिर, कार्टुनहरूबाट भरिएका छन् ।

तर सञ्चारमाध्यमका कुरालाई रूपमा होइन, सारमा केलाउने हो भने दुई कुरा प्रस्टरूपमा देखिन्छ । पहिलो, दुई देशबीचको सम्बन्ध, तिनको आयाम र भ्रमणले पार्ने प्रभावबारे भरपूर अज्ञानता छ । राजनीतिशास्त्रको ‘इग्नोरेन्स थ्यौरी’ पूरापूर हाबी भएको छ । दोस्रो, प्रत्येक समाचार, लेख, विचार र क्रियाप्रतिक्रियामा आशंका मात्र उचालिएको छ । अर्थात्, ‘कन्सिपिरेसी थ्यौरी’को व्यापक प्रयोग भएको छ । तेस्रो विश्व अर्थात् विकासोन्मुख र पिछडिएको मुलुकको विशेषता नै हो, इग्नोरेन्स र कन्सिपिरेसी थ्यौरीको आधारमा हरेक कुरोलाई उराल्न खोज्नु । यो नयाँ कुरा होइन । लामो समयदेखि तेस्रो विश्व यसैमा जेलिएको छ । 

नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आआफ्ना देशका स्वार्थ बोकेका छन् । कसलाई थाहा छैन, स्वार्थमा द्वन्द्व हुन्छ । द्वन्दरत पक्षबीचको वार्तामा हेर्ने कुरा कत्तिमात्र हो भने, नेपाल र भारतबीच जति पनि वार्ता, सन्धि, सम्झौताहरू भएका छन् यसपालिको वार्ता पनि त्यसैगरी हुन्छ कि यसमा भिन्नता आउनेवाला छ ? भारत नेपालसँग कति सम्मानसाथ प्रस्तुत हुनेवाला छ ? प्रश्न यो मात्र हो । 

नेपालीहरू न भारतलाई अजात शत्रु मान्छन् नत भारतले नै नेपाललाई त्यस्तो मान्न सम्भव छ । दुवै छिमेकी लोकतान्त्रिक मुलुक हुन् । राष्ट्र, राष्ट्रियतालाई दुवै देशले बोकेका छन्, त्यसलाई छोड्न एक्काइसौँ शताब्दीमा सम्भव पनि छैन ।   तर, जेजस्ता तर्क, विचार र व्याख्या नेपाली सञ्चारमाध्यममा आइरहेका छन्, त्यसले धेरैजसो लेखक र विचारकहरूमा यथार्थलाई गम्भीरतासाथ प्रस्तुत गर्नुभन्दा हलुका खालले भरमार चित्रण भइरहेको देखिँदैछ । भनिँदैछ, हाम्रा प्रधानमन्त्री ओली भारतसामु आत्मसमर्पण गर्दैछन् । लम्पसार पर्दैछन् आदि आदि । 

नेपालीलाई नाकाबन्दीकै भूत सवार छ । सामाजिक सञ्जाल र स्वनामधन्य बुद्धिजीवी त्यसैलाई समातेर मोदी–ओलीको उछित्तो काढ्दैछन् । तर के कुरा बिर्सन हुन्न भने अहिलेका ओली पहिलेका भन्दा फरक हुन् । उनी नयाँ युगको समृद्ध नेपाल, सुखी नेपाली महाअभियानमा झन्नै तीन चौथाइ नेपालीको समर्थनमा नेतृत्व गरिरहेका राजनेता हुन् । उनको सोच, व्यवहार र कार्यशैली सोही उचाइको हुनुपर्छ र मोदीलाई त्यसरी नै स्वागत गर्नुपर्छ ।

छिमेकी मुलुकको प्रधानमन्त्री आफ्नो प्रधानमन्त्रीसँग दुईपक्षीय वार्ताका लागि आउँदैछ, ऊ आइपुग्नुभन्दा अगाडि नै आफूले निर्वाचित गरेको प्रधानमन्त्रीलाई यसले विदेशीलाई देश बेच्छ, सबैकुरा सुम्पन्छ भनेर दिग्भ्रमित पार्ने भरमग्दुर प्रयत्न भइरहेको छ । दुष्प्रचार कुनै केन्द्रबाट सुनियोजित रूपमा गरिँदैछ । 
दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनैपर्छ । सन्तुलन कायम गर्नुपर्छ । यसको विकल्प न भारतलाई छ, नत नेपाललाई नै छ । दुवै देशका प्रधानमन्त्रीलाई थाहा छ, भारतले नेपाललाई नाकाबन्दी लगाएकै हो । नेपालले त्यसको प्रतिकार पनि गरेकै हो । त्यसबाट पार पाउन भारतसामु लम्पसार नपरेर प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी मुलुकसँग यातायात तथा पारवहनको सन्धि गरेर नेपाललाई उत्तरतिरबाट प्रशान्त महासागरसम्म पुग्ने गौँडो खोलेकै हुन् । त्यही गौँडो खुलेपछि भारत नेपालमाथि नाकाबन्दी थोपर्न हच्केर त्यो ज्यानमारा आक्रमण रोक्न बाध्य भएकै हो । त्यसपछि नेपालमा कांग्रेस र माओवादी मिलेर ओलीलाई सत्ताबाट च्युत गरेकै हुन् । क्रमशः प्रचण्ड र शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बनेकै हुन् । तर आम निर्वाचनमा जनताले अत्यधिक मत दिएर ओलीलाई पुनः प्रधानमन्त्री बनाएकै हुन् । 

हिजोको व्यवहार भारतले परिवर्तन गरेको हो । नेपालले पनि छिमेकी भारतसँग सम्बन्धमा नयाँपन ल्याउन खोजेको हो । यही सिलसिलामा पुनः प्रधानमन्त्री बनेपछि ओली भारतीय सरकारको औपचारिक निमन्त्रणा स्वीकार गर्दै भ्रमणमा गएका हुन् । अहिले ओलीको निम्तोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आइरहेका हुन् । नेपाल–भारतबीच भएका कुरालाई मात्र होइन, दुई देशबीचको सम्बन्धलाई पनि सही परिप्रेक्ष्यमा बुझ्न सकियो भने त्यसपछि चालिने कदम पनि सही दिशातर्फ उन्मुख हुन सक्छ ।
केही दिनअघि चीन पुगेर फर्केपछि मोदीले चीन कार्ड त प्रयोग गर्ने होइनन् भन्ने आशंका गरिएको छ । यो आशंकाले के संकेत गर्छ भने मोदीले चीनसँगको सहकार्यबाट नेपाललाई अल्मल्याउने त होइनन् ? यसको जवाफ ओलीले ‘टाढाको देवता, करेसाको भूत’ बनाएर दिनुपर्छ ।

सबैले कान खोलेर सुनौँ, मोदी भारत र भारतीय जनताको स्वार्थका लागि नेपालको भ्रमणमा आएका हुन् । नेपालीहरू कसैलाई पनि यसबारे भ्रम हुनुहुँदैन । त्यसैले उनले कूटनैतिक वार्ता, भेटघाट र आफ्ना संयन्त्रहरूमार्फत भारतको हितका खातिर प्रयत्न गर्नु स्वाभाविक हो । यही कुरा नेपालको पक्षमा पनि लागु हुन्छ । घुक्र्याएर, चिप्ल्याएर, फकाएर वा दुवै पक्षलाई फाइदा हुने गरी सहमतिसाथ अगाडि बढेर सुमधुर अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध कायम गरिन्छ । जहाँसम्म कुटेर, लुटेर, तर्साएर, खोसेर खाने मध्ययुगीन सम्बन्धको बोलवाला थियो, शीतयुद्धअघि नै तिनका दिन सकिइसके । त्यो तरिका कसैले अपनाउँछ भने उसको हालत नेपालमाथि नाकाबन्दी लगाउने भारतको जस्तो झन् प्रतिकूल हुन्छ भन्ने निकट विगतमै साबित भइसकेको छ । 
नेपाली जनतालाई के भनेर मोदीले सामना गर्ने हुन्, हेर्न अब धेरै कुर्नुपर्ने छैन । कोर्स करेक्सनको समयमा गल्ती सच्याउने मौका भने सबैले पाउनुपर्छ । मोदीले पनि भारतीय ढिलासुस्ती र बतासे आश्वासनले बदनाम भारतीय साख कसरी पुनर्जीवित गर्ने हो ? नेपाली जनतासामु भारतीयको खराब छवि कसरी धोइपखाली गर्ने हो ? त्यो उनको कुरा हो तर सच्चिने मौका मोदीले पनि पाउनुपर्छ । यसका लागि उनलाई उत्साहित नै गर्नुपर्छ, लल्कार्नु हुँदैन ।

भर्खरैको नाकाबन्दीले पनि नेपाललाई स्वाधीन बन्न र उत्तरतिरको बाटो खोल्न सकारात्मक भूमिका खेलेको हो । भन्न के मात्रै खोजिएको हो भने सबल  र कमजोर पक्षदुवै देशका छन् । दुई देशका शीर्ष नेताहरू बसेरसम्बन्ध सुधार गर्नुको विकल्प छैन । जसरी एउटा परिवारमा सार्कका सदस्य राष्ट्र जसरी आठ दाजुभाइ छन् भने पनि आठैभाइ मिल्नुपर्छ । एकको विकल्प अर्को होइन, यसमा शंका पनि गर्नु हुँदैन । अज्ञानता र षड्यन्त्रले पछौटेपनलाई मात्र प्रतिनिधित्व गर्छ ।

प्रकाशित: २७ वैशाख २०७५ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App