८ वैशाख २०८१ शनिबार
समाज

सर्वसाधारणलाई २० घण्टासम्म रोक

पोखरा –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भएपछि झन्डै २० घण्टा सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाइएको छ। त्यसबाहेक मन्दिर परिसरबाट गरिने पदमार्गको आउजाउमा पनि रोक लगाइएको छ। आगामी शुक्रबार जनकपुर हुँदै नेपाल आउने भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ९ बजे मुक्तिनाथ पुग्ने तालिका छ । स्थानीय प्रशासनले मोदीको भ्रमणलाई सुरक्षित बनाउन शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार दिउँसो १२ बजेसम्म (२० घण्टा) सर्वसाधारणलाई मुक्तिनाथमा दर्शन गर्न नपाउने गरी रोक लगाएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले शुक्रबार दिउँसो ४ देखि शनिबार मध्यान्ह १२ बजेसम्म सर्वसाधारणलाई मुक्तिनाथ प्रवेशमा रोक लगाएको बताए । ‘भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गर्ने भएकाले सर्वसाधारणलाई मन्दिरमा रोक लगाएका हाैं,’ पौडेलले भने, ‘दिउँसो ४ बजेदेखि बन्द हुँदा अरुलाई खासै असर पर्दैन। भोलिपल्ट पनि मध्यान्हपछि मन्दिर सबैका लागि खुला हुनेछ।’ प्रशासनले सूचना जारी गरेर सुरक्षा व्यवस्था भरपर्दाे बनाउन मन्दिर आउजाउमा रोक लगाएको जनाएको छ।

प्रजिअ पौडेलले मनाङबाट थोरङला भञ्ज्याङ पार गरेर मुस्ताङ आउने तथा मुस्ताङबाट मनाङ जाने पदयात्रीलाई मुक्तिनाथ मन्दिर भन्दा फरक हुने गरी वैकल्पिक पदमार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको बताए। अहिले मुक्तिनाथ मन्दिर परिसरबाट पदयात्री आउजाउ गर्छन्। ‘दुईदिनसम्म पदयात्रीलाई वैकिल्पक पदमार्ग प्रयोग गर्न भनेका छांै,’ उनले भने, ‘पदयात्रीलाई पनि खासै असर पर्दैन।’

त्यस्तै हेलिकप्टरमा मुक्तिनाथ पुगेका दर्शनार्थी पनि मन्दिर जान नपाउने उनले बताए। ‘माथि (मुक्तिनाथ परिसर) मा अतिरिक्त हेलिकप्टर अवतरण गर्ने ठाउँ नै पुग्दैन। त्यसो भएपछि अरु हेलिकोप्टर जाँदैनन्,’ उनले भने, ‘हेलिकप्टरमा आएका सर्वसाधारण दर्शनार्थी १२ बजेपछि जान सकछन्।’ उनका अनुसार मोदीको आगमनका लागि मुक्तिनाथ मन्दिर नजिकै ३ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको छ। २ वटा हेलिप्याड पहिले नै थिए। अहिले अर्काे एउटा हेलिप्याड पनि थपिएको छ।

थोराङला भञ्ज्याङ पार गरेर झरेका पदयात्री शुक्रबार ४ बजे अगावै मन्दिर क्षेत्र कटिसक्छन् भने शनिबार मध्यान्ह पछिमात्र मुक्तिनाथ क्षेत्र झरिसक्ने भएकाले रोकाबटले पदयात्रीलाई उतिसारो अप्ठेरो नपार्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए।

‘दुईदिनसम्म (शुक्रबार र शनिबार) मुक्तिनाथ क्षेत्र आउजाउमा रोक लगाउने निर्णय भनेर प्रशासनले सूचना जारी गर्दा केही अन्योल भएको हो,’ अधिकारीले भने, ‘शुक्रबार बेलुकीदेखि शनिबार मध्यान्सम्म पदयात्रामा आउजाउ रोकिँदा खासै असर पर्दैन। पदयात्रीले थोरै मात्र समय व्यवस्थापन गर्ने हो भने मिलाउन सकिन्छ।’ भ्रमणका क्रममा जनकपुर हुँदै नेपाल आउने मोदी हेलिकप्टरबाटै मुस्ताङको मुक्तिनाथ (३७१० मि) पुग्नेछन्। मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नेछन्।

प्रकाशित: २६ वैशाख २०७५ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App