coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उत्पादन खर्च ३७, पाउने मूल्य २५

इलामको कन्याममा चिया टिप्दै किसान । तस्बिर : भीम

इलाम –जिल्लाका किसानले १ किलो हरियो चियापत्ती उत्पादन गर्न ३७ रुपैयाँ ३१ पैसा खर्च गर्नुपरेको पाइएको छ। चिया तथा कफी विकास बोर्डको अध्ययनअनुसार जिल्लाको सूर्याेदय नगरपालिकामा गरिएको अध्ययनले यस्तो तथ्य देखाएको हो। 

किसानले चियामा लागत बढी भएपनि आम्दानी ज्यादै कम भएको गुनासो गरेपछि नगरपालिका र बोर्डले चिया उत्पादनमा हुने लगानीबारे संयुक्त अध्ययन गरेका थिए। अध्ययनअनुसार मल, सिँचाइ, कटिङ, टिपाइ, औषधि, गोडमेल, लगानीको ब्याज, पारिश्रमिकलगायत सबै जोड्दा १ किलो हरियो चिया उत्पादन गर्न यो लगानी भइरहेको पाइएको हो। तर, पहिलो टिपाइ (फस्ट फ्लस)मा ९० रूपैयाँ प्रतिकिलोसम्म पुगेको हरियो चियाको मूल्य अन्य टिपाइमा २५ रुपैयाँसम्ममा झर्ने गरेपछि किसानले लगानी उठाउन सकिरहेका छैनन्। चिया विस्तार आयोजनाका कृषि प्राविधिक विवेक भण्डारीले सबै लागत जोडेर यो लगानीको औसत हिसाब निकालिएको बताए। 

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले चियामा किसानले गर्ने लगानीभन्दा उनीहरूले पाउने मूल्य निकै कम पाइएको बताए । ‘किसानले ३५ रुपैयाँ लगानी गरेर २५ रुपैयाँमा बेच्दा चियाबाट कत्तिको घाटा भइरहेको छ भन्ने स्पष्ट छ,’ उनले भने, ‘अब उद्योगहरूले किसानलाई हरियो चियाको उचित मूल्य दिनुपर्छ भनेर उद्योगी र किसानबीच नगरपालिकाले समन्वय गर्दैछ।’ 

नगरपालिकाले किसानले पाउने हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्य तोक्ने तयारीसमेत थालेको छ। नगरले किसान र उद्योगीको समन्वयमा हरियो चियाको न्यूनतम् मूल्यबारे आचारसंहिता नै बनाउने तयारी गरेको हो। किसानलाई हरियो चियाको न्यूनतम लागत उठ्नेगरी मूल्य दिन र नगरपालिकाभर मूल्यमा एकरूपता कायम गर्न आचारसंहिता बनाउने तयारी भएको नगरपालिकाले जनाएको छ। आउँदो जेठ ७ गतेसम्ममा न्यूनतम् मूल्य लागू गर्ने वातावरण बनाउन र आचारसंहिता निर्माण गर्न समिति गठन गर्ने तयारी भएको मेयर राईले बताए। उनका अनुसार नगरपालिकाका साना–ठूला गरी ५० चिया कारखाना र यहाँका ८ हजारभन्दा बढी किसान आचारसंहिताबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। 

किसानले मूल्य नपाएको गुनासो नगरपालिकासँग गरेपछि नगरले बोर्डलाई अध्ययनका लागि अनुरोध गरेको थियो। ‘हाम्रो अध्ययनअनुसार प्रतिकिलो कम्तीमा ४० रुपैयाँ किसानले पाउँदा मात्रै उनीहरूको लगानी उठ्ने देखिन्छ,’ मेयर राईले भने, ‘हामीले उद्योगीहरूलाई हरियोपत्तीको मूल्य कम्तीमा प्रतिकिलो ४० रुपैयाँ कायम गर्न प्रस्तावसमेत गरी उद्योगीसँग किसानको समन्वय गराउँदैछौं ।’ नगरपालिकाभरका उद्योगहरूले कायम रहेको हरियो चियाको मूल्य अध्ययन गर्न नगरपालिकाले नगरका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्मा संयोजक रहेको समिति नै गठन गरेको थियो। समितिले चियाको मूल्यमा छोटो समयभित्रै ठूलो उचारचढाव आउने गरेको पाएको थियो । बोर्ड र आर्थिक समितिको अध्ययनअनुसार किसानलाई चियाबाट घाटा भइरहेको पाएको पनि मेयर राईले बताए। 

किसान, उद्योगी र नगरका प्रतिनिधिको सामूहिक प्रयासमा बन्ने आचारसंहिता पालना भए–नभएको अनुगमनका लागि पनि नगरले अनुगमन समिति निर्माण गर्ने भएको छ। ‘बोर्ड, नगरपालिका, उद्योगी, किसानलगायतका प्रतिनिधि रहेको अनुगमन समिति बनाएर आचारसंहिता पालनाको अनुगमन गर्नेछौं,’ मेयर राईले भने, ‘उद्योगी, किसानलगायत सबैको हितमा हुने आचासंहिता पालनामा सबैले सकारात्मक सहयोग गर्नुहुनेछ।’ 

चियाको राजधानी मानिने इलामको पूर्वी सूर्याेदय नगरपालिका जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र हो। यो नगरमा मात्रै ८ हजार किसान चियाखेतीमा आबद्ध छन् । यहाँका बगानमा ९ र ५२ उद्योगमा ६ खालको तयारी चिया उत्पादन भइरहेको छ । ‘यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको कार्यक्रम नै छ,’ उनले भने, ‘गुणस्तर कायम गरेपछि मूल्य राम्रो हुन्छ, उद्योगीले मूल्य राम्रो पाउँछन्, सँगसँगै किसानले पनि।’ उनले जनप्रतिनिधि, सहकारी र किसानको समन्वयमा चियाको गुणस्तर उच्च बनाउने बताए। 

नगरपालिकाको आर्थिक वृद्धिमा चियाको योगदान महत्त्वपूर्ण रहेकाले नगरपालिकाले चिया उत्पादनमा विशेष ध्यान दिएको नगरले जनाएको छ । ‘चिया नै सूर्याेदय नगरपालिकाको आर्थिक समृद्धिको आधार भएकाले हामीले त्यसप्रति ध्यान दिएका हौं,’ मेयर राईले भने, ‘किसानलाई हरियो चियापत्तीको मूल्य बाह्रैमास प्रतिकिलो कम्तीमा ४० रुपैयाँ दिनुपर्ने हाम्रो प्रस्तावमा साना उद्योगहरू सहमत नै छन्, ठूला उद्योगीलाई पनि सहमतिमा ल्याउँछौं।’ 

जिल्लाको अर्गानिक चिया उत्पादक उद्योगले भने हरियो चियोको मूल्य गुणस्तरअनुसार ७० देखि साढे ७ सय रुपैयाँ प्रतिकिलोसम्म दिइरहेका छन् । तर, नन्अर्गानिक उत्पादक उद्योगले दिन हरियो चियाको मूल्य अत्यन्त कम छ । किसान चियाखेतीले आफूहरूलाई सधैं घाटा लागिरहेको बताउँछन् । तर, गुणस्तरीय चिया उत्पादनमा भएका चुनौती सामना गर्न सरकारी तथ गैरसरकारी संघ–संस्थाले पनि सहायता गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०७५ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App