७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुक्तिनाथमा मोदीको एकघण्टा

पोखरा – नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथमा एक घण्टाभन्दा बढी समय बिताउने भएका छन्। मोदीले यही वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्ने तय भएको छ।

सुरुमा २८ गते जनकपुर उत्रिने मोदी त्यहाँ विभिन्न कार्यक्रममा सरिक भई सोही दिन काठमाडौं जाने छन्। मोदी २९ गते बिहान काठमाडौंबाट मुक्तिनाथ जाने कार्यक्रम छ। तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा मोदीले विशेष पूजाआजा गर्नेछन्। ‘कम्तीमा एक–डेढ घण्टा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा बिताउने अनौपचारिक जानकारी आएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘उहाँको मुक्तिनाथ मन्दिर क्षेत्र बसाइ अवधि मौसममा पनि निर्भर हुनेछ।’

पौडेलका अनुसार मोदीको भ्रमणलाई लक्षित गरी अहिले मुक्तिनाथ मन्दिर परिसरमा आवश्यक तयारी धमाधम भइरहेको छ। सरसफाईदेखि हेलिप्याड व्यवस्थापन, रङरोगनलगायत काम भइरहेको जानकारी उनले दिए। ‘अब तयारी पनि सकिन थालेको छ,’ उनले भने । भ्रमण क्रममा मोदी पोखरा आउने र भारतीय पूर्व गोरखा सैनिकलाई सम्बोधन गर्ने भनिए पनि त्यो कार्यक्रम रद्द भएको स्रोतले बतायो।

मोदी हेलिकोप्टरबाट उच्च हिमाली क्षेत्र पुग्दा ‘अल्टिच्युड सिकनेस’ को समस्या आउन सक्ने भन्दै मुक्तिनाथमा विशेष सतर्कता अपनाइने भएको छ। मोदी र उनको टोलीका सदस्यलाई ‘अल्टिच्युड सिकनेस’ को समस्या आउन सक्ने भन्दै तत्काल उपचार व्यवस्थासहित स्वास्थ्य शिविर राखिने भएको छ।

मुक्तिनाथ मन्दिर परिसरमा चिकित्सकसहितको स्वास्थ्य टोली खटाइने जानकारी प्रमुख जिल्ला अधिकारी पौडेलले दिए। उच्च हिमाली क्षेत्रमा एकैपटक पुग्दा जो कोहीलाई पनि अल्टिच्य्ड सिकनेसको जोखिम हुने भएकाले सतर्कता अपनाउँदै विशेष स्वास्थ्य टोली खटाउने तयारी भएको हो। ‘हामीले आवश्यक औषधिसहित चिकित्सक टोली मुक्तिनाथ मन्दिर परिसरमा खटाउँछौं,’ उनले भने, ‘काठमाडौंबाट पनि भिन्दै टिम आउन सक्छ।’ जोमसोम अस्पतालका चिकित्सक डा. राम शर्मा सुवेदीका अनुसार चिकित्सक अक्सिजन, औषधि र जनशक्तिसहित मुक्तिनाथ खटिने छन्।

प्रकाशित: २४ वैशाख २०७५ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App