७ वैशाख २०८१ शुक्रबार
विचार

अमेरिकामा टिपिएस खारेजपछि

२०७२ वैशाखमा गएको भूकम्पलाई आधार बनाएर अमेरिकी सरकारले त्यस देशमा कुनै उपायबाट प्रवेश गरी अवैधरूपमा बसिरहेका करिव ९ हजार नेपालीलाईउपलब्ध गराएको निश्चित अवधिसम्म त्यहाँ रहन, बस्न र नेपाल फर्कनसमेत पाउने अस्थायी कानुनी सुविधा टेम्पररी प्रोटेक्टेड स्टेटस(टिपिएस) को म्याद दोस्रो पटक थप्न अस्वीकार गरेको छ। महाभूकम्पलगत्तै दिइएको सो सुविधाको म्याद सकिएपछि १८ महिनाअघि एकपटक थपिएको थियो। नेपालमा भूकम्पको असर अझै बाँकी रहेको र पीडितहरूको पुनस्र्थापनाको काम पनि नसकिएकाले टिपिएससुविधाको म्यादअर्को १ अवधि थप गर्नु आवश्यक छ भन्ने तर्क गर्दै अमेरिकास्थित नेपाली संघ÷संस्था र समुदायका अगुवाबाट भएको लबिइङर त्यसको समर्थनमा उभिएका डेमोक्रेट पार्टीका सिनेटर र कंग्रेसमेनहरूकोहस्ताक्षरितअपिल सबै खेर गएका छन्।

अवैध आप्रवासीलाई दिइएको सो सुविधाको म्याद नथपिनेबारे अप्रिलको सुरुदेखि नै गाइँगुइँ चले पनि त्यसको निराशाजनकटुङ्गो गत २६ अप्रिलका दिन अन्तिमरूपमा लागेको थियो। अमेरिकी सरकारकी आन्तरिक सुरक्षा विभागकी मन्त्री क्रिस्टिन एम निल्सेनले त्यस दिन एउटा विज्ञप्ति जारी गर्दै नेपाललाई प्रदान गरिएको अस्थायी संरक्षण सुविधा खारेज गर्ने निर्णय भएको जानकारी गराएकी थिइन्। सोही विज्ञप्तिमार्फत उनले सो सुविधा पाइरहेका नेपाली मूलका आप्रवासीलाई अर्को सूचना जारी नहुन्जेलसम्म यस सम्बन्धमा कुनै पनि प्रकारको फारम भर्ने वा कतै कुनै कागजपत्र पेस गर्ने काम नगर्नू भन्ने सल्लाह पनि दिएकी थिइन्। साथै मन्त्री निल्सेनलेअहिले टिपिएसअन्तर्गत आप्रवासन सुविधा उपभोग गरिरहेका नेपालीलाईअमेरिकी आन्तरिक सुरक्षा विभाग (होमल्यान्ड सिक्योरिटी डिपार्टमेन्ट) ले आफ्नो बसाइँ वा स्वदेश प्रस्थानको व्यवस्थापन गर्न पर्याप्त समय दिएको जानकारीसमेत गराएकी थिइन् । उनको विज्ञप्तिमा भनिएको थियो–टिपिएससुविधा खारेज भए पनि अहिले सो सुविधा प्राप्त व्यक्तिहरूले तुरुन्तै अमेरिका छाडिहाल्नु पर्दैन। उनीहरूलाईअमेरिका बस्ने वैध अनुमतिपत्र बनाउन अथवा आफ्नै देश प्रत्यागमन गर्न अर्को वर्ष अर्थात् सन् २०१९ को जुन १४ तारिखसम्मको म्याद दिइएको छ।

रिपब्लिकन राष्ट्रपति जर्ज एच डब्ल्यु बुसका पालामा सन् १९९० मा लागु गरिएको आप्रवासनसम्बन्धी एक कानुनअन्तर्गतअमेरिकाभित्र निरन्तर बसोबास गरिरहेका तर यहाँ बस्न र काम गर्न पाउने वैधानिक कागजपत्र नभएका विदेशी नागरिकलाई उनीहरूको देशमा भएको भीषण आन्तरिक द्वन्द्व अथवा भयानक प्राकृतिक प्रकोपका कारण स्वदेश फर्कन सम्भव नदेखिएका अवस्थामा अस्थायीतवरमा प्रदान गरिने सुविधाको नाम हो– अस्थायी संरक्षण हैसियत सुविधा अर्थात् टिपिएस। यो सुविधा पाएका व्यक्तिहरूले अमेरिकामा बस्ने, बन्द, व्यापार तथा तलवमाकाम गर्ने र सुविधा अवधिभित्र आफ्नो देशमा गएर अमेरिका फर्किआउने सुविधाप्राप्त गर्छन्। यसका साथै टिपिएस सुविधाप्राप्त व्यक्तिलाई सुविधाका लागि तोकिएको अवधिभर अमेरिकाबाट कुनै पनि बहानामा देशनिकाला नगरिने कुराको ग्यारेन्टी पनि प्राप्त हुन्छ।

सबैभन्दा पहिले त टिपिएस यसको नामैले अस्थायी सुविधाको प्रावधान हो जसको ढिलो÷चाँडो अन्त्य हुनु नै थियो भन्ने तीतो सत्य मनले स्वीकार गरौँ ।

अमेरिकी आन्तरिक सुरक्षा विभागले जारी गरेको एउटा तथ्यांकअनुसार नेपालसहित एल साल्भाडोर, हैटी, होन्डुरस, निकारागुआ, सोमालिया, सुडान, दक्षिणी सुडान, सिरिया र यमनका अमेरिकामा अवैध बसोबास गरिरहेका करिब ३ लाख २० हजारजना आप्रवासीलाई टिपिएस सुविधा उपलब्ध गराइएको थियो ।नेपाल र अन्य केही देशलाई प्राकृतिक प्रकोपका कारण सो सुविधा दिइएको थियो भने सिरिया, दुइटै सुडान, सोमालिया र यमनलाई आन्तरिक द्वन्द्वका कारण। संख्याका आधारमा हेर्दा सो सुविधा पाउनेहरूमा साल्भाडोरियनहरू सबैभन्दा बढी (१ लाख ९५ हजार) त्यसपछि होन्डुरन (५७ हजार) र हैटियन (५० हजार) थिए । बाँकी १८ हजार जतिमा नेपाललगायतमाथि उल्लेख भएका अरु देशका नागरिक थिए। टिपिएस सुविधा पाउने नेपालीहरूको कुल संख्या भने ९ हजारभन्दा केही बढी अर्थात् प्रतिशतमा हिसाब गर्ने हो भने ३ प्रतिशतको हाराहारीमात्र थियो।

यस तथ्यांकले देखाउँछ, संयुक्त राज्य अमेरिकामा अवैध किसिमले बसिरहेका आप्रवासीको कुल संख्यामा नेपालीहरूको योग खासै गन्तीमा आउने किसिमको छैन। यसबाट प्रष्ट हुन्छ, अमेरिकामा अवैध आप्रवासनको मूल समस्या लाटिनी र उत्तर अमेरिकी राष्ट्रहरूबाट गैरकानुनी तरिकाबाट यस देशमा प्रवेश गरेर लुकिछिपी बस्नेहरूसँग गाँसिएको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचन अभियानमा आफूले चुनाव जितेमा दक्षिण पश्चिमी दिशाबाट यस देशमा अवैधरूपमा प्रवेश गर्नेहरूको लर्को रोक्न छिमेकी मेक्सिकोसँगको हजारौँ माइल लामो सिमानामा पर्खाल लगाउने प्रस्ताव किन पेस गरेका थिए भन्ने कुरा बुझ्न पनि यो तथ्यांकले सहयोग गर्छ। विडम्बनाचाहिँ के भएको छ भनेचुनाव जितेर विश्वको सबैभन्दा शक्तिशाली देशको शासकीय कमान सम्हालेको १६ महिना बितिसक्दा पनि राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो योजना अगाडि बढाउन कुनैकदम चालेका छैनन्।

डोनाल्ड ट्रम्पको प्रष्टतः अनुदार प्रशासनले टिपिएस सुविधालाई किन निरन्तरता दिएन भन्ने कुरा बुझ्न त्यति गाह्रो छैन । पहिलो कुरो, सुविधाप्राप्त कतिपय देशलाई त्यहाँको जुन परिस्थितिलाई हेरेर सो सुविधा दिइएको थियो त्यसमा सुधार आइसकेको छ । दोस्रो र महत्वपूर्ण कारण भने राष्ट्रपति ट्रम्पले गर्दै आएको राजनीतिको चुरो नै हो। वास्तवमा अर्बपति व्यापारी डोनाल्ड ट्रम्पको ह्वाइट हाउससम्मको यात्राको थालनी नै उनको अमेरिका फस्ट भन्ने राष्ट्रवादी जस्तो देखिने तर अन्तर्यमा काला,अल्पसंख्यक र गहुँगोरा अमेरिकी नागरिकहरू र लाटिनी तथा एसियन आप्रवासीहरूप्रति असहिष्णु नाराको सार्वजनिक उद्घोषबाट भएको थियो। उनले चुनाव नै आफूलाई खाँटी अमेरिकन ठान्ने श्वेत नश्लका जनताको भावनाको दोहन गरेर जितेका हुन्। आफू राष्ट्रपति चुनिएपछि उनले बिस्तारै बिस्तारै पहिले अमेरिका भन्ने सुन्दा आकर्षक लाग्नेनाराका पछाडि लुकेको श्वेतप्रभुत्ववादी अजेन्डाहरूलागु गर्दै लैजाने नीतिर योजना अघि बढाउदै लगेका छन्।

केही लागेन भने स्वदेशको माटो त छँदैछ तपाईँहरू जस्ता युवा÷युवती फर्केर आउने आकाशतिर एकटक लगाएर हेरिरहेको।  मसक्क आँटेर हवाईजहाज चढ्नुहोला । दुखम् सुखम् तपाईँलाई पाल्न तपाईँको पितृभूमि सक्षम छ।

अमेरिकी सरकारले गरेको टिपिएस सुविधा नवीकरण नगर्ने निर्णयका पछाडि राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी त्यही संकीर्ण र अनुदार नीति प्रतिविम्बित छ। उनी र उनका सल्लाहकारले सबैभन्दा पहिले पूर्ववर्ती राष्ट्रपतिहरूले अपनाउँदै आएको आप्रवासनसम्बन्धी केही नरम नीतिमाथि पुनर्विचार गर्ने निर्णय गरेर आफ्ना पृथकतावादी अजेन्डा अघि सारेका छन् । ट्रम्प प्रशासन अवैध किसिमले संयुक्त राज्य अमेरिकामा आइलुकिछिपी बसिरहेकाप्रति हदैसम्म कठोर हुने र त्यस्तालाई सकेसम्म छिटो र अधिकतम् संख्यामा डिपोर्ट गर्न कटिबद्ध त देखिन्छ नै, साथै तेस्रो मुलुकहरूबाट कुनै पनिकिसिमको वैध प्रवेशाज्ञा लिएर अमेरिका आउन चाहनेहरूलाई पनि हतोत्साह बनाउन चाहिरहेको छ भन्नेप्रष्ट बुझ्न सकिन्छ। यस सन्दर्भमाट्रम्पले वर्षौंदेखि प्रचलनमा रहेको डिभी लटरी प्रणाली खारेज गर्न प्रस्ताव गरेकोे र अमेरिकी विधिनिर्माताहरूले प्रस्ताव निरस्त गरिदिएको घटना हेर्न सकिन्छ।

टिपिएस सुविधाको म्याद नथपिने भएपछि ३ वर्षपहिलेत्यो सुविधा पाएर निकै ठूलो सुबिस्ताको अनुभूति गरेकावैधानिक कागजपत्रबिहीन अमेरिकाबासी नेपालीचिन्तित र केही भयभीत भएका छन् । उनीहरूको मनको चिन्ता र डरलाई नेपाल र अमेरिका दुवैतिरका केही गैरजिम्मेवार सञ्चारमाध्यमले आगोमा घिउझैँं भड्काउन खोजेका देखिएको छ। ती बकम्फुसे पत्रकार भनाउँदाहरूको बोलीमा लोली मिलाउँदै अमेरिकामा रहेका केही स्वयम्भू सामाजिक अगुवा वा तथाकथित अभियन्ताले पनि हतारहतार अनेक प्रकारका बेतुक बयान जारी गरेर पीडितलाई थप पीडा दिएका छन्। कतिपयले टिपिएसको म्याद थप नगरिएको घटनालाई ठूलो पारेर प्रस्तुत गर्दै  त्यो सुविधा पाउने सूचीमा दर्ता भएकालाई अहिले नै देशनिकाला गरिन्छ जस्तो भान पार्न खोजेका छन्।  अर्काथरी बढी जान्नेसुन्नेले यतिका दिनपछि आएर अवैध आप्रवासी नेपालीलाई टिपिएस सुविधा दिलाउनु नै अवैध किसिमले अमेरिका बसिरहेका नेपालीहरूको अहित गर्नु थियो जस्तो घटिया कुरा गर्नसमेत भ्याएका छन्। यिनीहरूको तर्क छ– टिपिएसमा दर्ता भएपछि अमेरिकी सरकारले ती अवैध आप्रवासीहरूको अभिलेख प्राप्त गरेको छ, अब यिनलाई समात्न सजिलो भयो। सूचना र प्रविधिको क्षेत्रमा पत्याउनै नसकिने किसिमले सक्षम अमेरिका जस्तो देशको सुरक्षा प्रशासनले अमेरिकी भूमिमा बस्ने जोकसैको पनि वैयक्तिक अभिलेख दुरुस्त राखेको हुन्छ भन्ने कुरासम्म हेक्का नराख्ने बजासुहरूलाई के भन्ने ? यो लेखक असमन्जसमा परेको छ।

टिपिएस सुविधाको म्याद नथपिएपछि चिन्तित भएका नेपालीलाई यो लेखकजस्तो यस समस्यासँग प्रत्यक्ष नजोडिएको व्यक्तिले भन्न सक्ने कुरा धेरै छैनन् । यतिमात्र भन्न सक्छ,सुविधाको म्याद नथपिएर एउटा बाटो बन्द भएकोमात्र हो, सबै निकास थुनिएका होइनन्। अहिलेको अवस्थालाई ठीक किसिमले बुझ्ने र भविष्यका लागि कम जोखिमको बाटो पहिल्याउन प्रयास गर्ने हो भने यसले पारेको प्रतिकूल असरलाई निश्चितरूपमा कम गर्न सकिन्छ। सबैभन्दा पहिले त टिपिएस यसको नामैले अस्थायी सुविधाको प्रावधान हो जसको ढिलो÷चाँडो अन्त्य हुनु नै थियो भन्ने तीतो सत्य मनले स्वीकार गरौँ। अमेरिका बस्ने अनुमतिको कागज नहुनेको समस्याको स्थायी समाधान टिपिएस होइन, अमेरिकी सरकारले जारी गर्ने अनुमतिपत्रमात्र हो भन्ने कुरा पनि याद गरौँ। हामीसँग १३ महिनाको समय छ। अमेरिका बसोबास अनुमतिपत्रका लागि यही अवधिमा सम्भव भएसम्मका उपायहरू खोजौँ। केही लागेन भने स्वदेशको माटो त छँदैछ तपाईँहरू जस्ता युवा÷युवती फर्केर आउने आकाशतिर एकटक लगाएर हेरिरहेको।  मसक्क आँटेर हवाईजहाज चढ्नुहोला। दुखम् सुखम् तपाईँलाई पाल्न तपाईँको पितृभूमिसक्षम छ।

प्रकाशित: २० वैशाख २०७५ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App