coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चियाको बजार बढाउन ‘इलाम टी एक्स्पो’

धरानमा आयोजित इलाम टी एक्स्पोमा इलामे उत्पादनको अवलोकन गर्दै इलाम क्षेत्र २ का सभासद् सुवासचन्द्र नेम्बाङ । तस्बिर: भीम चापागाईं

धरान - इलाम नगरपालिका र धरान उपमहानगरनगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेसँगै व्यापार–व्यवसायमा सहकार्य थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा उच्च माग गरेको इलामको चियाको आन्तरिक व्यापार प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्सो’ आयोजना गरिएको छ।

३ दिनसम्म चल्ने एक्स्पोमा इलामको उच्च गुणस्तरको अर्गानिक चियादेखि घिउ, छुर्पी, ललीपप, ढाका, सातु, अचार, हस्तकलालगायत पनि प्रदर्शनीमा राखिएको छ । इलामको अर्थाेडक्स अर्गानिक चियामा आगन्तुकको आकर्षण बढिरहेको व्यवसायीले बताएका छन् । युरोप र अमेरिकी बजारमा निकै राम्रो मूल्यमा विक्री हुने अर्गानिक चियाका पारखीको संख्या धरानमा लगातार बढिरहेकाले टी एक्स्पो नै आयोजना गरी इलामको चिया चिनाउने अवसर दिएको आयोजकले जनाएका छन्।

एक्स्पोमा इलामका चिया प्रशोधन उद्योगहरू नमुना कलेक्सन, जस्बिरे, इलाम गोल्ड दाहाल बन्धु, देउराली, गजुरमुखी, तीनजुरे, अन्तु गोर्खा टी, ग्रिनहिल, झुल्केघाम र कञ्चनजंघा चिया प्रशोधन उद्योगले उत्पादन गरेको चिया राखिएको छ । चियासँगै नेपालटार, इलामेली, ललीपप उद्योग, शाक्य हस्तकला उद्योग, न्यु सम्झना ढाका उद्योग र सातु उद्योग इलामले पनि स्टल राखेका छन् । स्टलहरूमा इलामका कृषि उत्पादन अवलोकन र खरिद गर्न सकिने व्यवसायीले जनाए । जस्बिरे चिया उद्योगका गृष्म सुब्बाले अर्गानिक चियामा आगन्तुकको आकर्षण बढेको भन्दै यहाँ आउने ग्राहकलाई चिया चखाउनेसमेत बताए । ‘इलामको चिया खोज्न आउने पारखी निकै भेटिए,’ सुब्बाले भने, ‘३ दिनसम्ममा राम्रै विक्री हुनसक्छ।

एक्स्पोमा रहेका ३० स्टलमध्ये इलामे उत्पादनका स्टलको संख्या धेरै छ । धरानका धराने कोसेली खाद्य उद्योग, धरान अर्गानिक बजारलगायतका स्टल पनि एक्स्पोमा राखिएको छ । इलाम नगरपालिका र धरान उपमहानगरले संयुक्त रूपमा एक्स्पो आयोजना गरेका हुन्।

एक्स्पो उद्घाटन गर्दै प्रतिनिधिसभा इलाम क्षेत्र–२ का सभासद् सुवासचन्द्र नेम्बाङले इलामको कृषि उत्पादनको बजार विस्तारका लागि एक्स्पोले सहयोग गर्ने बताए । ‘इलाममा अर्गानिक कृषि उत्पादन हुन्छ भन्ने प्रचार देशभर र देशबाहिर पनि गर्न जरुरी छ,’ उनले भने, ‘इलामको चिया अहिले संसद् भवनसम्म पनि पुगेको छ, इलामको अकबरे, आलु, ललीपपलगायतका उत्पादनको बजार पनि प्रचार र विस्तार गर्नु आवश्यक छ ।’ इलामबाटै निर्वाचित प्रदेशसभाका सभासद् रामबहादुर रानाले प्रदेश नम्बर १ मा चियाको विशेष उत्पादन क्षेत्र रहेकाले यो प्रदेशलाई ‘चिया क्षेत्र’ घोषणा गर्नेबारे पनि छलफल भइरहेको बताए।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले इलामको चिया प्रवद्र्धन गर्न धरानमा एक्स्पो आयोजना गरिएको बताए । ‘धरानमा एक्स्पो आयोजना गर्नुको उद्देश्य नै इलामको चियाको आन्तरिक बजार बढाउनु हो,’ उनले भने, ‘अहिले पनि इलामको चियाले मूल्य पाएको छैन, चियाको मूल्य राम्रो बनाउन पनि एक्स्पोले सहयोग गर्नेछ ।’ हरेक हिसाबले इलाम र धरानको निकटता रहेकाले धरानसँग भगिनी सम्बन्ध स्थापना गरेको र पहिलो पटक नै आपसी व्यापार प्रवर्धनमा सहकार्य थालेको उनले बताए।

धरान उपमहानगरका मेयर तारा सुब्बाले इलामको चियाको बजार बढाउनकै लागि एक्स्पो आयोजना गरिएको भन्दै भगिनी सम्बन्ध प्रगाढ बनाउन व्यापार सहकार्यले सघाउने बताए । ‘एक्स्पोको मुख्य उद्देश्य चाहिँ देशभर र विश्वमा चर्चित इलामको गुणस्तरीय चियाको आन्तरिक बजार बढाउनु नै हो,’ उनले भने।

धरान बजारमा इलामको चिया बेच्ने पसलको संख्या १४ पुगिसकेको इलामेली समाज सुनसरी–मोरङका अध्यक्ष कृष्ण साहले बताए । उनले इलाम र धरानबीच पर्यटन, कृषि, व्यापार, संस्कृतिलगायतको समानता रहेको बताए । धरानमा ४ वर्षयता इलामको चिया बेचिरहेका हेमचन्द्र लिम्बूले धरानबासी र धरान आउने पर्यटकले इलामको चिया निकै मनपराउने भएकाले यहाँ एक्स्पो आयोजना गर्नुले चियाको बजार विस्तार गर्ने आशा गरेको बताए।

प्रकाशित: १९ वैशाख २०७५ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App