१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माफियाको भरमा कर्णालीको हवार्ई सेवा

बाँके – नेपालगन्ज राझा विमानस्थल नजिक ट्राभल्स व्यवसाय गरेका मोहम्मद आयतुल्ला  रहमानले ६ महिनाअघि १५ यात्रु हुम्ला पठाउँदै थिए । हुम्ला पठाउनका लागि उनले तारा एयरको विमान चार्टर गरे।

कर्णाली जाने यात्रुलाई पठाउने तयारी गरिरहँदा उनी दंग थिए । नयाँ व्यवसाय सुरु गरेका मोहम्मदले हुम्ला जाने यात्रुलाई माला र खादा लगाएर बिदा गर्ने योजना बनाए । बिहान गर्ने बिदाइका लागी खादा र माला किनेर राखे । तर बिहान उनले आफ्नो ट्राभल्सबाट जाने तयारीमा रहेका यात्रुलाई नेपालगन्जबाट हुम्ला पठाउन सकेनन् ।नेपालगन्जबाट हुम्ला पुगेर फर्कनका लागि चार्टर गरिएको एक लाख ७० हजार रुपैयाँमा मोहम्मदले एक दिनअघि बुझाई सकेका थिए एयरलायन्सलाई ।

तर उनले बिहान यात्रुलाई पठाउन सकेनन् । र भाडाबापत लिएको रकम फिर्ता गरे । त्यतिबेला सिता एयर र राझास्थित विमानस्थलकै कर्मचारीको मिलेमतोमा चार्टर गरेर पनि यात्रु पठाउन नसकेको मोहम्मद बताउँछन् ।नेपालगन्ज विमानस्थल माफियाको पकडमा भएकाले यस्तो अवस्था आएको उनको बुझाई छ । ट्राभल्स क्षेत्रमा नयाँ व्यवसाय गर्न सहज नभएको उनी बताउँछन् ।

जसले यात्रुहरु एउटा सीमित समूहको माध्यमबिना यात्रा गर्न कठिन भएकोे उनले अनुभव सुनाए।विमानस्थलमा हुने गरेको बेथितिका कारण आफूले व्यवसाय बन्द गर्ने निर्णय गरेको मोहम्मदले बताए । ट्राभल्स व्यवसायमा इमानदारको काम छैन भन्ने पाठ सिकेको बताउँछन् उनी ।

पहाडी जिल्लाको हवार्ई सेवामा देखिएको बेथितिलाई मलजल गर्ने काम नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरणले गरिरहेको आरोप उनी लगाउँछन्।नेपालगन्ज विमानस्थलबाट मुगु, हुम्ला, डोल्पा, जुम्ला, बाजुरा लगायत जिल्लामा उडान भर्ने गरिन्छ । कर्णाली प्रदेश यातायात पहुँचबाट टाढा रहेको छ । ती जिल्लाबाट नेपालगन्ज र सुर्खेत आउने अधिकांश सर्वसाधारण हवार्ई सेवामा निर्भर हुन बाध्य छन्।

तर हवार्ई सेवामा रहेको बेथिति र मनोमानीले सर्वसाधारणले सहजै हवार्ई टिकटसम्म पाउन सक्दैनन् । दुर्घटनामा परी घाइते भएका सर्वसाधारण र बिरामीले समयमा उपचार नपाएर मुत्यु हुनु कर्णालीवासीका लागि नौलो नभएको बताउँछन् एक कर्मचारी।डोल्पाथित स्वास्थ्य संस्थामा कार्यरत ती कर्मचारी कर्णालीको हवार्ई सेवा सर्वसाधारण र गरिबको पहुँचभन्दा टाढा रहेको बताउँछन्।

विमान कम्पनी र कार्गो माफियाले कर्णालीको हवार्ई सेवालाई बदनाम गराइरहेको उनको आरोप छ । ‘मैले टिकट काटेर पनि दुई पटक विमान चढ्न पाइएन । मेरो स्थानमा विमान कम्पनीका कर्मचारीले अरुलाई नै उडाए,’ उनले भने, ‘मैले विरोध गरेपछि मलाई अर्को दिन पठाए । कर्णालीमा उडान कम छ तर एयरपोर्टका माफियाले गर्दा झन समस्या थपिरहेको छ । यसलाई हेर्ने राज्यको निकाय नागरिक उडयन प्राधिकरण मुकदर्शक बनेको छ।’

कर्णालीको हवाई सेवा माफियाको नियन्त्रणमा रहेको उनको बुझाइ छ । ‘बेथिति रोक्ने निकाय मौन छ । एयरपोर्टमा कार्गो र विमान कम्पनीको मनोमानी चल्छ । जसले उनीहरुलाई खुसी बनायो । उही जान पाउँछ । कर्णाली यात्रा गर्नु पर्दा राज्य नभएको महसुस हुन्छ,’ उनी भन्छन्, ‘देश कानुनबिना चलिरहेको जस्तो लाग्छ । पहुँचवाला र एयरलायन्स निकट व्यक्तिले सहजै टिकट पाउँछन् । तर, बिरामी भएर मर्न लागेकाले टिकट पाउँदैनन् कर्णालीमा।’

नेपालगन्ज नागरिक उड्डयन प्राधिकरण प्रमुख प्रतापबाबु तिवारी टिकटमा भएको बेथितिबारे प्रमाण लिएर आए कारबाही गरिने बताउँछन् । उनले भने, ‘पहाडी जिल्लामा निजी कम्पनीका एयरलायन्सले फाइदामात्रै हेरेर कार्गोलाई प्राथमिकता दिन्छन् । तर, अहिले हामीले पहिला नियमित उडान गरेरमात्र चार्टर भर्न निर्देशन दिइसकेका छौं । टिकटमा भइरहेको दलाली रोक्ने प्रयास गर्दैछौं ।’ सेवाग्राही प्रमाणसहित आए एयरलायन्सलाई कारबाही गर्ने तिवारी बताउँछन्।

नेपालगन्ज नागरिक उड्डयन प्राधिकरण उपनिर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद गौतम टिकट नपाएको गुनासो बाहिर सुनिए पनि सुधारका लागि प्रयास भइरहेको बताउँछन् । ‘एयरलायन्सले दिने टिकटलाई हामीले न्यायसंगत बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘बिरामी र अशक्तलाई प्राथमिकतामा राख्ने समझदारी भएको छ।’तिवारी र गौतमले भनेजस्तै नेपालगन्जस्थित राझा विमानस्थलबाट कर्णाली जाने सर्वसाधारणले सहजै टिकट पाउनु ठूलो युद्ध जितेजस्तै भएको मोहम्मद बताउँछन्।

उनले थपे, ‘नेपाल एयरलायन्सको लाइनमा बसेको आधारमा टिकट पाउनु युद्ध जितेजस्तै हो । निजी कम्पनीले पहुँच, राजनीतिक प्रभाव र आर्थिक फाइदा हेरेर टिकट दिन्छन् । अशक्त र बिरामी भए पनि उनीहरुले सहजै टिकट पाउन सक्दैनन्।’
 

प्रकाशित: १८ वैशाख २०७५ ०१:५३ मंगलबार

माफियाको भरमा कर्णालीको हवार्ई सेवा