६ वैशाख २०८१ बिहीबार
खेल

थ्री स्टारले चुम्यो माइभ्यालीको उपाधि

इलाम– पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रुस्लान थ्री स्टार फुटबल क्लबले चुमेको छ। उपाधिका लागि प्रतिस्पर्धामा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्री स्टार च्याम्पियन बनेको हो। 

निर्धारित समय दुवैतर्फबाट गोलरहित बराबरी भएपछि खेल १५ मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। थ्री स्टारका चर्चित स्ट्राइकर विमल घर्तीमगरको पासमा सुनील बलले विपक्षी मनाङको गोल पोस्टमा बललाई जाली चुमाए। विमलले उत्कृष्ट ड्रिबलिङसहित डि–बक्स छेउबाट दिएको छोटो पासलाई सुनीलले सहज सदुपयोग गरे। 

जितसँगै विजेता थ्री स्टारले नगद ६ लाख ६६ हजार र माइभ्याली गोल्डकपको उपाधि ‘मेयर्स कप’ हात पारेको छ। उपविजेता मनाङले नगद ४ लाख र उपविजेताको ट्रफीमा चित्त बुझाएको छ। यो जित नै थ्री स्टारलाई सिजनको पहिलो उपाधि विजेता बनाउनसमेत सफल भएको छ। गत सिजनमा पनि थ्री स्टारले मनाङमाथि ५ पटक विजय हासिल गरेको थियो। फाइनल खेलको म्यान अफ् दि म्याच मनाङका हेमन गुरुङ घोषित भए। 

खेल अवधिभर दुवैतर्फका खेलाडीले निकै राम्रा अवसर चुकाए। मनाङका हेमन गुरुङले विपक्षी थ्री स्टारको गोल पोस्टमा गरेको निकै शक्तिशाली प्रहारले सही दिशा लिएन। मनाङका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र भिक्टोरले विपक्षीविरुद्ध पाएका सुनौला अवसर गुमाए। थ्री स्टारका विमलले दिएको सुन्दर पास मार्टिनले सदुपयोग गर्न सकेनन्। थ्री स्टारका दीपक राईले प्रहार गरेको फ्रिकिक विपक्षी मनाङका बलरक्षक विशाल श्रेष्ठको हातबाट फुत्किएर उनी बिट हुँदा विपक्षीबाट भएको प्रहारमा दीपक नै बाधक बन्न पुगेका थिए। डि–बक्सनजिकैबाट थ्री स्टारका विमल घर्तीमगरले गरेको फ्रिकिक मनाङका बलरक्षक विशालले सुन्दर बचाउ गरे। थ्री स्टारका विमल घर्ती र सुनील बलले विपक्षीको गोल पोस्टमा गरेका सुन्दर र शक्तिशाली प्रहार फ्रेममा परेनन्। 

उपविजेता मनाङका कप्तानसमेत रहेका राष्ट्रिय टिमका कप्तान विराज महर्जनले म्यान अफ् दि सिरिजको पुरस्कारस्वरूप स्कुटी हात पारे। बेस्ट गोलकिपर एलन नेउपाने, डिफेन्डर पिटर, मिडफिल्ड सुनील बल, फरवार्ड मार्टिन र प्रशिक्षक मेघराज केसी घोषित भए। उनीहरू सबै विजेता थ्री स्टार क्लबका खेलाडी हुन्। सर्वाधिक गोलकर्तामा नवीन लामा, रोजिन सुब्बा, मनिष थापा र युवराज खड्का संयुक्त रूपमा घोषित भए। उनीहरूले समान २–२ गोल गरेका थिए। प्रतियोगिताका उदीयमान खेलाडी माइभ्यालीका दर्शन गुरुङ भए। पुरस्कृत खेलाडी र प्रशिक्षकले जनही १५ हजार र सर्वाधिक गोलकर्ताले संयुक्त रूपमा २५ हजार नगद पाए। 

थ्री स्टार क्लब निराजन खड्काको कप्तानीमा ५ राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको थियो। थ्री स्टारको टिममा चर्चित स्ट्राइकर विमल घर्तीमगर, रजिन धिमाल, एलन नेउपाने, सुनील बल, अनन्त तामाङ, विजय धिमाललगायत थिए। थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलान्तरले पाखा लगाएको थियो भने क्वार्टरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको थियो।

मनाङ–मर्स्याङ्दीमा राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा राष्ट्रियस्तरमा परिचय बनाइसकेका ७ खेलाडीसहित मैदानमा थिए। अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई र विमल बस्नेत मनाङबाट खेलेका थिए। मनाङले माइभ्यालीको सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र क्वार्टरफाइनलमा आयोजक माइभ्याली क्लबलाई समान १–० गोल अन्तरले पराजित गरेको थियो।

वैशाख ६ मा सुरु प्रतियोगिताका प्रत्येक दिनका म्यान अफ् दि म्याचलाई नगद १० हजार र चाँदीको मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा ए–डिभिजन क्लबसहित नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी थिए। प्रतियोगितामा ३ विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब, आयोजक माइभ्याली क्लब, पोखराको कास्की–११, संकटा, लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी, रुस्लान थ्री स्टार, रमपम झापा–११, भारतको दुर्गापुर स्टिल र युनाइटेड सिक्किम तथा बंगलादेशको कावरान प्रगति संघले सहभागिता जनाए। माइभ्यालीको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लब र दोस्रो तथा तेस्रो संस्करणको उपाधि रमपम झापा–११ ले जितेका थिए।

नागरिककर्मी पुरस्कृत

समाचार लेखनका माध्यमबाट जिल्लाको खेलकुद विकासमा योगदान पु¥याएवापत् इलामस्थित नागरिक दैनिकका इलामस्थित संवाददाता भीम चापागाईं पुरस्कृत भएका छन्। चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनल अवसरमा उनलाई पुरस्कृत गरिएको हो। 

गोल्डकप आयोजक माइभ्याली फुटबल क्लबले गोल्डकपको फाइनल अवसरमा सोमबार चापागाईंलाई पुरस्कृत गरेको हो। दुर्घटनमा मृत्यु भएका क्लबका सदस्य महेश कार्कीको स्मृतिमा कार्कीको परिवार र माइभ्याली फुटबल क्लबले संयुक्त रूपमा पुरस्कार स्थापना गरेका थिए। १० हजार नगद राशिसहितको यो पुरस्कार प्रत्येक वर्ष आयोजना गरिने माइभ्याली गोल्डकपका अवसरमा जिल्लाका एक पत्रकारलाई प्रदान गरिने आयोजक क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। संवाददाता चापागाईं १४ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। 

प्रकाशित: १७ वैशाख २०७५ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App