coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप : थ्री स्टारको जितमा विमल हिरो

इलाम– चर्चित स्ट्राइकर विमल घर्तीमगर चम्किँदा रुस्लान थ्री स्टार फुटबल क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा फाइनलको स्थान सुरक्षित गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा चीरपरिचित विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलान्तरले पाखा लगाउन विमलको योगदान महत्वपूर्ण रह्यो। 

पहिलो हाफको इन्जुरी समयमा विमलले एफिएफविरुद्ध पहिलो गोल गरे। टिम कप्तान निराजन खड्काको पासलाई सदुपयोग गर्दै विमलले इन्जुरी समयमा गोल गर्दा दर्शकको हर्षको सीमा रहेन। पहिलो हाफमा १–० गोलले पछि परेको एपिएफ दोस्रो हाफमा निकै आक्रामक प्रदर्शन गरेपनि पुनः खेलमा फर्किन सकेन। दोस्रो हाफको पनि इन्जुरी समयमा थ्री स्टारका नाइजेरियन खेलाडी अजय मार्टिनले एपिएफविरुद्ध अर्काे गोल थपे। सेन्टर एरियाभन्दा टाढाबाट एक्लै ड्रिबलिङ गर्दै नजिक पु¥याएर विमलले दिएको सुन्दर पासमा मार्टिनले गोल गरेका हुन्। थ्री स्टारका लागि दुवै गोल गर्न हिरो बनेका विमल नै म्यान अफ् दि म्याच भएर नगद १० हजार र चाँदीको मेडलको हकदार भए। 

एपिएफ खेल अवधिभर थ्री स्टारको दबाबमा प¥यो। गोल गर्ने राम्रा अवसर चुकाएकाले पनि एपिएफलाई खेलमा फर्किने अवसर मिलेन। दोस्रो हाफमा एफिएफका सन्तोष श्रेष्ठले विपक्षी थ्री स्टारको डि–एरियाभित्र वन भर्सेस वनमा पाएको अवसर पनि गोलमा परिणत गर्न सकेनन्। थ्री स्टारका बलरक्षक एलन नेउपाने बिट भएको अवस्थामा पाएको सुन्दर अवसर सन्तोषले सदुपयोग गर्न सकेनन्। विपक्षीको गोल पोस्टमा प्रहार गर्न खोज्दा थ्री स्टारका रजिन धिमाल बाधक बन्न भ्याएका थिए। एपिएफका टोप विष्टले पनि विपक्षीको पोस्टनजिक पाएको अवसर हेडमार्फत् गोल गर्ने प्रयास गरे तर फ्रेममा पार्न सकेनन्। 

थ्री स्टारका अजय मार्टिनको प्रहार विपक्षीको गोल पोस्टनजिकैबाट बाहिरियो। थ्री स्टारका बुद्ध चेम्जोङ र सुनील बलले विपक्षीको गोल पोस्टमा गरेका प्रहारले जाली चुम्न सकेनन्। थ्री स्टारका अजय मार्टिनको सुन्दर पासलाई निराजन खड्काले सदुपयोग गर्न सकेनन्। थ्री स्टारका बुद्ध चेम्जोङलाई एफिएफका राजन गुरुङले फाउल गरेपछि एपिएफको डि–एरियानजिकैबाट पाएको फ्रिकिकको अवसरलाई पनि निराजन खड्काले सही दिशा दिन सकेनन्। 

एपिएफका प्रशिक्षक गणेश लावतीले शनिबारको प्रतिस्पर्धा बराबर भएपनि रेफ्री नवीन्द्र महर्जनले सही निर्णय दिन नसकेको आरोप लगाए। ‘रेफ्रीले जहाँ जे भएको छ, त्यसको उचित निर्णय नै दिएनन्,’ उनले भने। लावतीले आफ्ना खेलाडीले सिकाएअनुसार खेल्न नसक्नु र राम्रा खेलाडी घाइते हुनुले पनि पराजयको भागिदार बन्नुपरेको बताए। ‘हाम्रा खेलाडीले नराम्रो खेले त भन्न मिलेन तर कमजोरी नभएको पनि होइन,’ उनले भने, ‘क्षमताअनुसारको प्रदर्शन हुन सकेन।’ 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलका कसले जित्ने र कसले हार्ने भन्ने निश्चित नभएपनि एफिएफसँगको प्रतिस्पर्धा निकै कडा भएको बताए। ‘क्वार्टरफाइनलभन्दा हाम्रो टिमको खेल सेमिफाइनलमा राम्रो भयो,’ उनले भने, ‘हाम्रो टिममा खेलको सुरुदेखि अन्तिमसम्म विपक्षीलाई थेग्न सक्ने क्षमता भएकाले जित सम्भव भएको हो।’ थ्री स्टारले जुन योजनासाथ खेल सुरु गरेको थियो, त्यहीअनुसार प्रदर्शन गर्न सकेको उनको भनाइ छ। तर, उनले पनि रेफ्रीको निर्णय चाहिँ परिपक्व नदेखिएको टिप्पणी गरे। जितसँगै थ्री स्टारले सोमबार हुने फाइनलमा लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दीसँगको भेट पक्का गरेको छ।  

राष्ट्रिय खेलाडी निराजन खड्काको कप्तानीमा विमल घर्तीमगर, रजिन धिमाल, सुनील बल, रुपेश केसी, एलन नेउपानेलगायतलाई थ्री स्टारले मैदानमा उतारेको थियो। बाई पाएर सोझै क्वार्टरफाइनलमा छिरेको थ्री स्टारले बिहीबारको अन्तिम क्वार्टरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको थियो। थ्री स्टार माइभ्यालीको पहिलो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो। 

एपिएफ नवीन लामाको कप्तानीमा राष्ट्रिय खेलाडीहरू आदित्य चौधरी, रञ्जन विष्ट, अन्डर–२३ का सुदीप सिंखाकार, अन्डर–१९ का विश्वास उदास र राजन गुरुङसहित मैदानमा आएको थियो। एपिएफ डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ लाई १ का विरुद्ध २ गोल गर्दै सेमिमा उक्लेको थियो। 

गत सिजनमा एफिएफ र थ्री स्टारबीच २ पटक भेट भएकामा एउटामा थ्री स्टार र अर्काेमा एपिएफले बाजी मारेका थिए । विकास रनिङ सिल्डमा एफिएफले थ्री स्टारलाई १–० गोलअन्तरले हराएर उपाधि चुमेको थियो भने झापा गोल्डकपको क्वार्टरफाइनलमा थ्री स्टारले पनि १–० कै गोलान्तरले एफिएफलाई पाखा लगाएको थियो।  लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब शुक्रबारको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनल पुगिसकेको छ। 

प्रकाशित: १५ वैशाख २०७५ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App