coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनाङलाई खुल्यो फाइनलको ढोका

इलाम- मनाङमस्याङदी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। शुक्रबारको पहिलो सेमिफाइनलमा चीरपरिचित विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गरी मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो। खेलको ५८औं मिनेटमा मनाङका अञ्जन विष्टले गोल गरे। अञ्जनलाई विपक्षी आर्मीले आफ्नो डि–एरियानजिकै फाउल गरेपछि पाएको फ्रिकिक मनाङका हेमन गुरुङले प्रहार गरे। हेमनको फ्रिकिस पासलाई अञ्जनले विपक्षीको डि–एरियाभित्रबाटै जाली चुमाएपछि जितका लागि त्यही गोल पर्याप्त बन्यो।

माइभ्यालीको पहिलो संस्करण विजेता त्रिभुवन आर्मीले जवाफी गोल फर्काउन सकेन । खेलको सुरुमै पाएका राम्रा २ अवसर आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ र दिनेश हेमजनले खेर फाल्दा आर्मी घर फर्किन बाध्य बन्यो। आर्मीका खेलाडीले पाएका आधा दर्जनभन्दा बढी अवसर सदुपयोग गर्न सकेनन्। मनाङका खेलाडीले पनि पाएका अवसर चुकाए। आर्मीका पदम तामाङले विपक्षीको गोल पोस्टनजिकै पाएको अवसर गोलमा परिणत गर्न सकेनन्। लगत्तै आर्मीका दिनेश हेमजनले पाएको बल प्रहार गर्दा विपक्षीको गोल पोस्टनजिकैबाट बाहिर गयो। आर्मीकै विकास खवासले दिएको सुन्दर पासलाई नवयुगले प्रहार गर्न नसक्दा आर्मी सेमिमै रोकिन बाध्य भयो।

मनाङका कप्तान विराट महर्जनले टाढाबाट विपक्षीको गोल पोस्टमा गरेको प्रहार बलरक्षक विकेश कुथुले बचाए । बलरक्षक कुथुबाट फुत्केको बललाई मनाङका सुजल श्रेष्ठले तत्काल पेनाल्टी एरियाबाट प्रहार गरेपनि विकेश नै बाधक बने । सुजलको उत्कृष्ट पासलाई हेमनले छुन नसक्दा विपक्षीविरुद्ध गोलको अर्को अवसर चुक्यो। अञ्जनको अर्को पासलाई हेमनले गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा मनाङका हेमनले डि–एरियाबाटै गरेको शक्तिशाली प्रहार विपक्षी आर्मीको बलरक्षक विकेशले पञ्च गरेर जोगाए । मनाङबाट खेलेका राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्ट शुक्रबारको खेलको म्यान अफ् दि म्याच हुँदै नगद १० हजार र चाँदीको मेडल विजेता बने।

आर्मीका प्रशिक्षक नवीन नेउपानेले खेलको सुरुमा पाएका दुई महत्वपूर्ण अवसर चुकाउनु नै आफ्ने टिमका लागि घातक भएको बताए। ‘नवयुग र दिनेशले पाएका अवसर सदुपयोग गर्न सकेको भए रिजल्ट उल्टो हुने थियो,’ उनले भने, ‘हामीले आफ्नो रणनीतिअनुसार नै खेलेका हौं तर पाएका उत्कृष्ट २ अवसर सदुपयोग नभएकैले खेलमा फर्किन सकिएन ।’ आर्मीले दोस्रो हाफमा मनाङलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । प्रशिक्षक नेउपानले आउँदा खेलमा टिमको प्रदर्शन अझ निखारेर अघि बढ्ने बताए ।

मनाङका अफ्रिकी प्रशिक्षक फुजा टोपेले खेल प्रतिस्पर्धात्मक भएको र आफूले टिमलाई निकै तयारीसाथ खेलाएको बताए । ‘आर्मीको टिमवर्क, फिटनेस राम्रोसँग थाहा थियो, त्यहीअनुसार तयारी गरेर खेल्दा सफल भएका हौं,’ उनले भने, ‘तर, त्यति हुँदा पनि दोस्रो हाफमा आर्मीले हामीमाथि निकै दबाब बढाएको थियो ।’ मनाङका कप्तान विराज महर्जनले विपक्षी आर्मीको टिम बलियो भएकाले जितका लागि कडा प्रतिस्पर्धा गर्नुपरेको बताए। मनाङले राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा राष्ट्रिय टिमका कमल श्रेष्ठ, सुजल श्रेष्ठ, अञ्जन विष्ट, हेमन गुरुङ, दीपक राईसहित नाइजेरियन खेलाडी भिक्टोरलगायतलाई मैदान उतारेको थियो । आर्मीले पनि राष्ट्रिय टिमका भरत खवासको कप्तानीमा विकेश कुथु, जितेन्द्र कार्की, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अन्डर–१९ का विकास खवास, अन्डर–२३ का सुमन अर्याललगायतलाई मनाङविरुद्ध भिडाएको थियो । विजेता मनाङले क्वार्टरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लबमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको थियो । आर्मीले क्वार्टरफाइनलमा भारत सिक्किमको युनाइटेड सिक्किमलाई ३–१ गोलको अन्तरले हराएको थियो । माइभ्यालीको पहिलो संस्करणमा आर्मीले थ्रिस्टार फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको थियो । तेस्रो संस्करणको फाइनलमा आर्मीलाई पाखा लगाउँदै रमपम झापा–११ ले उपाधिमाथि कब्जा जमाएको थियो । मनाङ तेस्रो संस्करणमा नेपाल पुलिस क्लबसँग क्वार्टरफाइनलमा पराजित थियो ।

गत सिजनमा मनाङमस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब ५ पटक आमने–सामने भए । ४ भेटमा आर्मी र एउटामा मनाङले बाजी मारेका थिए । झापाको सतासी गोल्डकपमा आर्मीले मनाङलाई २–१ गोलले पराजित गरी उपाधि चुमेको थियो । मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा आर्मीले नै टाइबे्रकरमा मनाङलाई पराजित गरेको थियो भने खप्तड गोल्डकप र झापा गोल्डकपमा पनि आर्मीले मनाङमाथि विजय हासिल गरेको थियो । दुहबी गोल्डकपमा भने मनाङले आर्मीमाथि दबदबा देखाएर उपाधि चुमेको थियो । शनिबारको दोस्रो सेमिफाइनल सशस्त्र प्रहरीको एपिएफ र थ्रिस्टार फुटबल क्लबबीच हुनेछ।

 

प्रकाशित: १४ वैशाख २०७५ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App