coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्यटन र जलविद्युत् समृद्धिको आधार

प्रदेश–४ जलविद्युत् वा पर्यटन केमा अगाडि छ ?  प्रदेश समृद्धिबारे चर्चा गर्दा यी दुई कुरामा बहस चल्न थालेको छ। पर्यटन व्यवसायी मुलुकको मुख्य पर्यटन हबको रुपमा पोखरा भएकाले पर्यटनबाटै प्रदेश समृद्ध हुने दाबी गर्छन्। प्रदेश मुकाम पोखरासँगै प्रदेशभित्रका सबैजसो जिल्ला कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएकाले समृद्धिको बलियो आधार पर्यटन रहेको उनीहरुको भनाइ छ।

त्यस्तै उत्पादनका हिसाबले अहिलेसम्म धेरै विद्युत् आयोजना यही प्रदेशमा रहेको र थुप्रै आयोजना पाइपलाइनमा रहेकाले जलविद्युत्ले प्रदेशलाई समृद्ध बनाउने जानकारको भनाइ छ। त्यसबाहेक निर्माणको पर्खाइमा रहेका विद्युत्का ठूला आयोजना पनि यसै प्रदेशमा रहेकाले ती आयोजना जतिसक्दो छिटो पूरागर्न सके प्रदेशले जलविद्युत्मा फड्को मार्न सक्ने उनीहरु बताउँछन्। जलविद्युत् आयोजना बनाउन सकेको खण्डमा त्यसले पर्यटनमा पनि सघाउ पुग्ने व्यवसायीको भनाइ छ।

पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा सन् २०११ मा सात लाख ३६ हजार विदेशी पाहुना आएका थिए। आगमन बढेर सन् २०१२ मा आठ लाख तीन हजार पुग्यो। सन् २०१३ मा सात लाख ९७ हजार विदेशी पाहुना भित्रिएकामा सन् २०१४ मा सात लाख ९० हजारमा झरेका थिए। भूकम्पका कारण सन् २०१५ मा झनै घटेर पाँच लाख ३९ हजार विदेशी नेपाल भित्रिए। त्यो संख्या बढेर सन् २०१६ मा सात लाख ५३ हजार पुगेको थियो। तर, सन् २०१७ मा आठ लाख ५० हजार नाघेर पाहुना भित्रिएको बोर्डको तथ्यांक छ। बोर्डका अनुसार नेपाल आएका यीसबै पाहुना हवाइमार्ग हुँदै भित्रिएका हुन्।

पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाका अनुसार हवाईमार्गबाट काठमाडौं भित्रिएका विदेशी पाहुनाको आठ लाख ५० हजार नाघेको अवस्थामा भारतीय स्थलमार्ग हुँदै भित्रिएका विदेशी र भारतीय थपिँदा आगमन बढेर १० लाख पुगेको छ । थपलियाका अनुसार विगत १० वर्षको तथ्यांक आंकलन गर्दा नेपाल भित्रिएका पाहुनामध्ये करिब ३५ प्रतिशत पोखरा भित्रिने अनुमान छ। त्यस अनुसार पोखरामा तीन लाखभन्दा बढी विदेशी पाहुना भित्रिएको उनले बताए।

‘हवाईमार्गबाट नेपाल भित्रिएकामध्ये तीन लाख पाहुना पोखरा आउँछन्। बाँकी स्थलमार्गबाट भित्रिएका पाहुना थपिँदा आगमन बढ्दैछ,’ थपलियाले भने, ‘कुनै न कुनै माध्यमबाट भित्रिने भारतीयको संख्यालाई जोड्दा पनि पोखरामा विदेशीको आगमन चारलाख कट्छ ।’ पोखरामा आउने विदेशी पाहुना आसपासका क्षेत्रमा पनि पुग्छन्। ‘पर्यटक भिœयाउन सक्ने हो भने यसबाट सबैले फाइदा पाउँछन्,’ उनले भने, ‘यसले प्रदेशलाई नै समृद्ध बनाउन सक्छ।’ अहिलेको अवस्थामा चार लाख विदेशी पर्यटक पोखरा आउनु पर्यटन क्षेत्रका लागि सकारात्मक कदम रहेको उनले बताए।

पोखरा आउने पर्यटकको तथ्यांक अहिले कुनैपनि निकायले राख्ने गरेका छैनन्। आधिकारीक तथ्यांक कसैले नराखेपनि पोखराले वर्षमा चार लाखभन्दा बढी विदेशी पाहुना पाउने थपलिया बताउँछन्। त्यसबाहेक आन्तरिक पाहुना आगमनको लेखाजोखा नै छैन। अफसिजनलाई पनि सिजनमा बदल्न आन्तरिक पाहुनाको ठूलो योगदान छ। मेला महोत्सव होस वा नयाँवर्ष वा बिदा उपयोग गर्न यहाँ तत्कालै आन्तरिक पाहुना आउँछन्। आन्तरिक पाहुनाको आगमन पनि वर्षमा चार–पाँच लाख हाराहारीमा हुन्सक्ने उनले बताए । ‘आन्तरिक पाहुनाकै कारण पर्यटन क्षेत्र बाह्रैमास चलेको छ। अनि बर्सेनि दर्जन हाराहारीमा होटल थपिनुपनि आन्तरिक पाहुना बढेकै कारण हो,’ उनले भने।

व्यवसायीका अनुसार अचेल आउने पर्यटक मात्रै फेरिएका होइनन् उनीहरुको रुचि र चाहना पनि फरक छ । तिनीहरु पोखरा आएर हिमाल हेरेर र तालमा डुंगा चलाएर मात्रै सन्तुष्ट हुँदैनन् । त्यसैले पछिल्लो समय पर्यटकलाई लक्षित गर्दै यहाँ अनेकखाले सुविधा र आकर्षण थपिएका छन्। -याफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ, जिप फ्लाएर अनि बन्जीजम्प जस्ता साहसिक प्रोडक्टमा रमाउनकै लागि आउने विदेशी पर्याप्त हुन्छन्।

थपलियाका अनुसार एकजना विदेशी नागरिक नेपालभित्रिँदा कम्तिमा नौजनाले काम पाउँछन्। त्यसैले पर्यटन तत्कालै नाफा दिने व्यावसाय भएको उनले बताए । पोखराले मात्र अहिले पर्यटनबाट फाइदा लिएको नभई आसपासका गाउँपनि पर्यटनमय बनेका छन्। आसपासका गाउँमा पनि अहिले विदेशी पाहुना जान थालेका छन्। ती गाउँका बासिन्दाले अहिले कुनै न कुनै रुपमा पर्यटनबाट फाइदा लिन सकेकाले प्रदेश समृद्धिको आधार पर्यटन रहेको उनले बताए।

पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीको अनुमानमा पोखरामा बर्सेनि करिब पाँच सय कोठा थपिन्छन्। पाँच सय कोठा बढ्दा करिब एक हजार बेड थपिन्छन्। ‘सबैगरी पर्यटनमा वर्षमा करिबदुई अर्ब रुपैयाँ लगानी भइरहेको छ,’ उनले भने, ‘होटल र रेस्टुरेन्टमा मात्र होइन, पर्यटक सवारी पनि थपिएका छन्, अन्य साहसिक पर्यटकीय गतिविधिका प्रोडक्ट पनि बढेका छन्।’ व्यवसायीका अनुसार पोखरामा करिबपाँच सय होटल र दुई सय रेस्टुरेन्ट छन्। ती होटलमा करिब २० हजार बेड छन्। होटल क्षेत्रमा मात्र करिब एक खर्ब रुपैयाँ लगानी छ। त्यस्तै रेस्टुरेन्टमा करोडौं रुपैयाँ लगानी छ। पोखरामा बन्न थालेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यसले पोखरालाई पर्यटनमा उकास्ने पोखरेलीको विश्वास छ।

प्रदेशमा पोखराबाहेक आसपासका धेरै क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बनेका छन्। गोरखाको माथिल्लो क्षेत्र पनि पर्यटनमा अग्रणी गन्तव्य हो। मनास्लु हिमाल आरोहणदेखि पदमार्गबाट गोरखाले फाइदा लिन सकेको छ। मनास्लु पदमार्ग हुँदै माथिल्लो भेग घुमेर अन्नपूर्ण पदमार्गको मनाङ निस्कन मिल्ने भएकाले पनि साहसिक पर्यटकमाझ चिनिएको छ।

त्यस्तै लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने भएकाले यी जिल्लाले पर्यटनबाट मनग्य लाभ लिएका छन्। बागलुङको ढोरपाटनदेखि पर्वतका झोलुंगे पुल, स्याङ्जाको स्वरेकदेखि तनहुँको बन्दीपुर र देवघाट पनि पर्यटनका गन्तव्य हुन् । नवलपुरको थारु होमस्टे पनि पर्यटनमै अब्बल छ। ‘प्रदेशका सबै जिल्लाले कुनै न कुनै रुपमा पर्यटनबाट लाभ लिएका छन्। मात्र थोरै र धेरै भन्ने हो,’ थपलिया भन्छन्, ‘मुलुकको पर्यटनको ३० प्रतिशत हिस्सा प्रदेश ४ सँग भएकाले पर्यटनबाट निकै नै लाभ लिन सकेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पनि पर्यटन पूर्वाधार थपिएकामा गौरव गर्न सकिने भएपनि खर्च गर्न सक्ने क्षमताका पाहुना भित्र्याउन नसक्नु कमजोरी भएको बताउँछन्। ‘अहिलेसम्मको अवस्थामा हामीले दैनिक तीन सय अमेरिकी डलर खर्च गर्न सक्ने पर्यटक भिœयाउन सकेनौ,’ मुल्मी भन्छन्, ‘पर्याप्त खर्चन सक्ने पाहुना भित्र्याउन नसक्नु हाम्रो कमजोरी हो।’ पोखराले पर्यटनमा करिब पाँच दशकको अनुभव बटुलिसक्दा दैनिक करिब दुई सय ५० देखि तीन सय अमेरिकी डलर खर्च गर्न सक्ने क्षमता भएका पाहुना भित्र्याउन सक्ने हुनुपर्ने उनले बताए।

पोखरा पर्यटकीय गन्तव्य भएपनि पर्यटक घुम्ने पर्याप्त ठाउँ अझै नबनेको उनले बताए। ‘पोखरा घुम्न भनेर आएका पर्यटकलाई दिनभर घुमाउने ठाउँ छैन,’ उनले भने, ‘एकाध दिनका लागि घुम्ने ठाउँ होला, दुई दिन पोखराबसेर घुम्ने ठाउँ बनाउनुपर्छ। आसपास क्षेत्रमा पनि पर्यटक पठाउनुपर्छ। विदेशी रकम आम्दानी गर्ने हो भने एक दिनको तीन सय डलर खर्च गर्नुपर्छ भनेर व्यवसायीले अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले त आएका पाहुनाले पनि पैसा खर्च गर्ने ठाउँ छैन। घुम्ने ठाउँ छैन, खाने ठाँउ छैन। पर्यटनमा पनि अब भ्यालु एडेड गर्न सक्नुपर्छ । पोखरा घुम्न आउँदा आठ घन्टा बिताउने ठाउँ बनाउनुपर्छ,’ मुल्मी भन्छन्, ‘त्यसले प्रदेशको समृद्धिलाई उकास्छ।’ अहिलेका पूर्वाधारलाई तीव्रता दिँदै विकासका अरु काम पनि थाल्नुपर्ने उनको सुझाव छ।

‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल त बन्दैछ। तर, विमानस्थलबाट बाहिरिएर पोखरा बजार छिर्ने बाटो साँघुरो छ,’ उनले भने, ‘अब यसबारे पनि सोच्ने बेला भएको छ। त्यसका लागि योजना बनाउनुपर्छ। त्यो योजना बनाउन पनि ढिला भइसकेको छ।’ पूर्वाधार निर्माणमा ढिलाइ हुनु प्रदेश समृद्धिको चुनौती रहेको उनले बताए । स्थलमार्ग र हवाईमार्गमा पनि सुधार नहुनु चुनौतीको विषय रहेको उनको भनाइ छ।

प्रदेश ४ मा अहिलेसम्म चार सय ३७ मेगावाट विद्युत् उत्पादन भइसकेको छ। विभिन्न आयोजनाको चार सय ४८ मेगावाट विद्युत् उत्पादनका लागि निर्माण कार्य भइरहेको छ। त्यसबाहेक ३१ सय ८५ मेगावाट विद्युत् उत्पादनका लागि स्वीकृति पाएर कागजी प्रक्रिया अघि बढिरहेका छन्। ती बाहेक माइक्रो हाइड्रो र सौर्य ऊर्जाबाट धेरै गाउँ झिलिमिली बनेका छन्।

जलविद्युत् उत्पादनका हिसाबले प्रदेश ४ को स्याङ्जामा कालिगण्डकी ‘ए’ (१४४मेगावाट) पुरानो आयोजना हो। त्यसबाहेक आँधीखोला जलविद्युत् आयोजना (करिब १० मेगावाट)ले पनि उत्पादन दिइरहेको छ। अर्काे आयोजना आँधीखोला हाइड्याम निर्माण प्रक्रियामा छ। आँधीखोला हाइड्याम आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ।

तनहुँको पुरानो विद्युत् आयोजना मस्र्याङ्दी जलविद्युत् आयोजना (६९ मेगावाट) छ। त्यसबाहेक तनहुँमै सेतीनदीमा बन्न थालेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) निर्माण प्रक्रियामा छ। तनहुँ हाइड्रोकै दोस्रो खण्डमा (१०५ मेगावाट) निर्माणका लागि अनुमति पाएको छ। दोस्रो आयोजना जलाशययुक्त होइन।

लमजुङमा पनि जलविद्युत्का धेरै नै आयोजना छन्। हालसम्म मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७०, माथिल्लो मस्र्याङ्दीबाट ५०, सिउरीबाट पाँच, राघीबाट ४.४, खुदीबाट चार, छ्याङ्दीबाट दुई र स्याँगेबाट एक गरी कुल १३६.३ मेगावाट विद्युत् उत्पादन भइसकेको छ। जिल्ला समन्वय समितिको तथ्यांकअनुसार सुपरदोर्दी, माथिल्लो दोर्दी, तल्लो दोर्दी, ङादी, लोअर ङादी, मिदिम करापु र मिदिमखोला जस्ता आयोजना निर्माणाधीन र उत्पादनको अन्तिम तयारीमा छन्। यी सबै आयोजनाबाट एकमुष्ठ १३८.७ मेगावाट विद्युत् उत्पादन हुनेछ। त्यसमध्ये तीन मेगावाटको मिदिम करापु अहिले परीक्षण उत्पादनको चरणमा छन्।

एक सय ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘एक’, ६ सय दुई मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘दुई’, २४ मेगावाटको अपर खुदी, २७.८ मेगावाटको माथिल्लो खुदी, १०.३ मेगावाटको दोर्दी, ११ मेगावाटको अपर चेपे र पाँच मेगावाटको सुपर चेपे आयोजना जिल्लामा निर्माणका क्रममा रहेका छन्। उत्पादित, निर्माणाधीन र निर्माण हुने तयारीमा रहेका सबै आयोजना सम्पन्न भएपछि जिल्लाले जलविद्युत्मा फड्को मार्ने स्थानीयको भनाइ छ। जलविद्युत् उत्पादनमा राम्रो सम्भावनाको सूचीमा परेको यस जिल्लालाई ‘हाइड्रोमोडेल’ (जलविद्युत् उत्पादनमा नमुना) क्षेत्र बनाउने तयारी थालिएको छ।

त्यस्तै कास्कीमा पनि केही साना आयोजना बनिरहेका छन्। केहीले उत्पादन पनि दिइसकेका छन्। म्याग्दीमा निर्माणाधीन आयोजना थुप्रै छन्। केही आयोजना अन्तिम चरणमा पुगेका छन्। राहुघाट, मिस्त्रिखोला, घलेम्दी निर्माणधीन आयोजना हुन्। म्याग्दीखोला, अपर कालिगण्डकी, राहुघाट मंगले, राहुघाट अपर, रुप्सेखोला पाइपलाइनका आयोजना हुन्।

एउटै खोलामा आधा दर्जनभन्दा बढी आयोजना बनाएर पर्वतले जलविद्युत्मा चर्चा कमाएको छ। मोदीखोलामा ती आयोजना धमाधम बनिरहेका छन्। त्यस्तै बाग्लुङ पनि माइक्रोहाइड्रोका कारण चर्चित छ। साना आकारका आयोजना त्यहाँ पनि थुप्रै छन्। बागलुङको ढोरपाटन क्षेत्रमा रहेको उत्तरगंगा (८ सय मेगावाट) ठूलो आयोजना हो । यसले पनि केही कागजी बाहेक प्रक्रिया पूरा गरेको छैन।

प्रदेशमा सबैभन्दा ठूलो आयोजना गोरखाको बूढीगण्डकी पर्छ। १२ सय मेगावाट क्षमताको आयोजना बनाउने गरि अहिले गोरखामा जग्गाको मुआब्जा वितरण भइरहेको छ। यो आयोजना पूरा गर्न सकेको खण्डमा त्यसबाट प्रदेशले मात्र नभई मुलुकले नै जलविद्युत्मा फड्को मार्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मी बताउँछन्। ‘जलविद्युत् आयोजना बन्दा त्यसलाई बहुरुपमा उपयोग गर्न सकिन्छ,’ उनले भने, ‘जलविद्युत्सँगै पर्यटन, कृषिमा पनि योगदान पुग्छ । तर प्रयोग गर्ने ढंग चाहिन्छ।’

विद्युत् आयोजना नै समृद्धिको आधार हुनसक्छ वा सक्दैन भन्ने चिन्ता पनि अब लिनुपर्ने उनको भनाइ छ। ‘आगामी वर्ष सात सय मेगावाट विद्युत् उत्पादन भयो भने त्यो बेच्ने पूर्वाधार हामीसँग छ कि छैन?,’ मुल्मीको प्रश्न छ, ‘उत्पादन गरेर बेच्न सक्ने ठाउँमा हामी पुगेका छौ वा छैनौ ? अहिलेको भारतबाट विद्युत् आयात गर्न बनाइएका प्रसारण लाइन नेपालमा बढी उत्पादन भएपछि बेच्न मिल्ने खालको छ कि छैन?’ विद्युत् उत्पादन गर्दा त्यसले समृद्धिलाई अगाडि बढाउन त सघाउँछ। तर, बढी उत्पादन भएको बिजुली बेच्ने पूर्वाधार बनाउने हो भने हामी समृद्धिमा फड्को मार्न सक्छौ,’ मुल्मीले भने।

प्रदेश २ ले हजार मेगावाट उत्पादन गरे पनि खपत गर्न सक्यौ भने मात्रै त्यसले समृद्धिलाई अगाडि बढाउने उनले बताए। औद्योगिक क्षेत्र खोलेर उत्पादनमुलक उद्योग खोल्न सके त्यसले विद्युत् खपत बढाउने भएपनि अहिले त्यसमा गृहकार्य नहुनु चुनौती रहेको उनले बताए। हामी औद्योगिकीकरणमा निकै नै पछाडि परेका छौं। गोरखा पालुङटारमा प्रस्तावित औद्योगिक क्षेत्रमा कस्तो खालको हुने र त्यहाँ कस्ता खालका उद्योग ल्याउने भन्ने चर्चा गर्न आवश्यक रहेको मुल्मीको भनाइ छ। ‘हामी औद्योगिक क्षेत्रबारे सबैतिर मौन छौ,’ अब पालो औद्योगिक क्षेत्र खोलेर उद्योग भित्र्याउने हो,’ उनले भने, ‘तर त्यसबारे हाम्रो बहस नै छैन।’

सृमद्धिको अर्काे आधारको रुपमा कृषि, जडीबुटी भएपनि त्यसतर्फ कसैको ध्यान नपुगेको उनले बताए। आरुघाट–पालुङटार करिडोर मात्र बनाउन सक्यौ भने त्यसबाट कृषिमा गर्न सकिने सम्भावना भएपनि त्यसबारे चाँसो कसैले नलिएको उनले बताए। त्यसबाहेक अन्नपूर्ण, मनास्लु क्षेत्रको जडीबुटी उपयोगको तरिका पनि बुझ्नुपर्ने उनको भनाइ छ।

पर्यटन बोर्डका थपलिया पर्यटन तत्कालै नाफा हुने क्षेत्र भएपनि जलविद्युत् दीर्घकालीन समृद्धिको आधार भएको बताउँछन्। ‘तत्कालै नाफाका लागि पर्यटन हो। तर, दीर्घकालीन समृद्धिको आधारमा जलविद्युत् छ,’ थपलिया भन्छन्, ‘मुलुककै पर्यटनको हिस्सा पोखराले ओगट्दा सिंगो प्रदेश लाभान्वित हुन सक्छ। लामो समयसम्म एउटै आयोजनाले उत्पादन दिने भएकाले समृद्धिको बलियो आधार जलविद्युत् पनि हो।’

पर्यटनमा तत्कालै रोजगारीको अवसर पनि देखिने भएकाले ‘सर्टटर्म बेनिफिट’को आधार तय हुने उनले बताए। उनले पनि नेपालको कुल जलविद्युत् क्षमताको ३३ प्रतिशत प्रदेश ४ मा भएकाले दीर्घकालीन समृद्धिको आधार जलविद्युत् हुनसक्ने उनको भनाइ छ।

प्रदेशमा तराई, हिमाली, उच्च पहाडी र पहाडी गरी ११ जिल्ला रहेका छन्। प्रदेश मुकाम पोखरा हो । प्रदेशले २१ हजार सात सय ३३ वर्ग किलोमिटर (१४.६६प्रतिशत) क्षेत्रफल ओगटेको छ। प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी ८५ स्थानीय तह रहेका छन्। प्रदेशभित्र प्रतिनिधिसभाका लागि १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशको जनसंख्या २४ लाखभन्दा बढी रहेको छ । प्रदेशमा सबैभन्दा बढी ब्राम्हण २१.५, मगर १८.९, क्षेत्री १३.४, गुरुङ ११.४, कामी ८.७ प्रतिशत रहेको छ । खसआर्यको जनसंख्या मात्र ३५ प्रतिशत रहेको छ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादन वार्षिक करिबतीनखर्ब १० अर्ब, ७१ करोड (०७३/७४) रहेको छ। त्यस्तै प्रतिव्यक्ति आय एक लाख १० हजार रुपैयाँ रहेको तथ्यांक कार्यालयको विवरणमा उल्लेख छ। ८५ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ भने साक्षरता करिब७१ प्रतिशत छ। त्यस्तै गरिबीको रेखामुनि १४ प्रतिशत जनता रहेका छन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरासहित सिंगै प्रदेशलाई ‘समृद्ध र सुन्दर’ बनाउने अठोट व्यक्त गरिसकेका छन्।

प्रदेशभित्रका बासिन्दाको मुहार फेर्ने योजना आफूसँग रहेको गुरुङको भनाइ छ । प्राकृतिक स्रोत साधन, ऊर्जा, पर्यटन, संस्कृति र प्रकृतिका धनीका हिसाबले प्रदेश उत्कृष्ट रहेको उनले बताए । ‘आगामी १० वर्षभित्र तीन हजारदेखि पाँच हजार मेगावाट विद्युत् यही प्रदेशबाट उत्पादन गरेर प्रदेशलाई नै समृद्धिको बाटोमा धकेल्छौं,’ गुरुङले भने, ‘यो प्रदेशमा झन्डै १५ प्रतिशत जनता अझै बिजुलीविहीन अवस्थामा छन्। उनीहरुलाई पाँच वर्षभित्र विद्युत्को उज्यालोमा समेट्छौं।’ प्रदेशका १४ प्रतिशत जनता अझैपनि गरिबीको रेखामुनि रहेकाले आगामी पाँच वर्षभित्र गरिबी दर घटाउने उनले बताए। प्रदेश कला, संस्कृति, साहित्य, पर्यटनको राजधानी भएकाले समृद्ध बन्ने आधार रहेको उनले बताए।

महासंघका पूर्वअध्यक्ष मुल्मी सामथ्र्य देखाउन सक्ने हैसियत प्रदेशले बनाउनुपर्ने बताउँछन्। ‘सबैको मुखमा सामथ्र्य र समृद्धि झुन्डिएको छ । तर त्यसका लागि स्रोत र साधन चाहिन्छ। मुखले बोलेर प्रदेश समृद्ध हुँदैन,’ उनले भने, सम्भावना भएपनि समृद्धिको स्वरुप र आकार देखिएको छैन। सामथ्र्यलाई आधार बनाएर समृद्ध बनाउनमा प्रदेश सरकार वा जनप्रतिनिधिले सोच विकास गर्ने उनले बताए।

प्रकाशित: १४ वैशाख २०७५ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App