५ वैशाख २०८१ बुधबार
समाज

प्रतिबन्धित खेसरीको दाल बरामद

प्रतिबन्धित खेसरीको दाल बोकेको ट्रक। तस्बिर: नागरिक

नेपालगन्ज – सरकारले प्रतिबन्ध लगाएको खेसरीको ठूलो परिमाणको दाल बाकेको कोहलपुरबाट बरामद गरिएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट लोड भएर चितवनतर्फ लगिँदै गरेको २६ मेट्रीक टन दाल प्रहरीले बरामद गरेको हो। नेपाल प्रहरीको प्रदेश नम्बर ५ अनुसन्धान समूहले विशेष सुराकीको आधारमा उक्त परिमाणको दाल बोकेको ना ७ ख ६३२८ नम्बरको ट्रकलाई बुधबार मध्यराति नियन्त्रणमा लिएको थियो।

अनुसन्धान समूहका प्रहरी निरीक्षक अरुणकुमार सिंहका अनुसार खेसरीको दाल चितवनतर्फ लैजाँदै गरेको सूचनाको आधारमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय नजिकबाट नियन्त्रणमा लिइएको हो। खाद्य नियमावली २०२७ को पाँचौँ संशोधनको परिच्छेद ७ (१९) मा खेसरी, खेसरीको दाल, खेसरीको पिठो तथा खेसरीयुक्त खाद्य पदार्थ बिक्री गर्न मनाही गरिएको छ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त दालको विषयमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त दाल ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ निवासी बलबहादुर भण्डारीको रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखा इन्चार्ज एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टले खेसरीको दाल लोड भएको ट्रक र चालक नियन्त्रणमा रहेको बताए। ‘जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा राखिदिनु भनेर पत्र पठाएको छ,  चालक र ट्रक हाम्रो नियन्त्रणमा छन्, यसबारे अरु जानकारी छैन,’ उनले भने। स्रोतका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गर्दा प्रतिबन्धित खेसरीको दाल नै भएको पुष्टी भएको छ। 

प्रकाशित: १४ वैशाख २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App