८ वैशाख २०८१ शनिबार
अन्य

बरमझियाको पेडा राजधानीमा

तस्बिर : उपेन्द्र लामिछाने

पूर्व– पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ । पेडा किन्नैका लागि यहाँका दर्जनौँ पसलमा दैनिक सयौँ यात्रु यहाँ ओर्लन्छन् । मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन्।

बरमझियामा पेडाको पसल थाप्दै आएका डोमी साहले यसै साता राजधानीको गोठाटारमा अस्थायी रूपमा सञ्चालनमा ल्याएको पेडा पसलले धेरैको ध्यान खिच्यो । नवतनधाम मन्दिरमा आयोजित एक साता लामो मेलामा पसल सञ्चालनमा ल्याएका उनले राजधानीवासीले मिठो मान्दै पेडा खाएको सुनाए ।‘उता सप्तरीमा मिठो मानेर खाने त थुप्रै थिए,’ उनले भने, ‘राजधानीमा केही दिनका लागि खोलेको पसलमा समेत मिठो मानेर खाने धेरै भेटिए ।’ ग्राहकको सन्तुष्टिले आफ्नो कर्ममा सफल महसुस भएको उनले बताए।

पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ । पेडा किन्नैका लागि यहाँका दर्जनौँ पसलमा दैनिक सयौँ यात्रु यहाँ ओर्लन्छन् । मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन्।
 

विगत डेढ दशकदेखि बरमझियामा पेडा बेच्दै आएका उनले दैनिक १० देखि १५ हजारसम्मको पेडाको कारोबार हुने गरेको सुनाए । बैजनाथको पेडा मुख्य ब्रान्ड भए पनि यसको वरिपरि घुमेर तीन दर्जनभन्दा बढी पसलले एकै ठाउँमा प्रतिस्पर्धा गरिरहेको उनले सुनाए । उनी पेडा मिठो हुनुमा नामभन्दा पनि यसमा प्रयोग हुने खुवाको गुणस्तरलाई मान्छन् । तर ब्रान्ड बढी बिक्ने उनको बुझाइ छ । ‘मिठो परिकारमा नाम पनि चलेको भए सुनमा सुगन्ध हुँदो रहेछ,’ उनले भने, ‘त्यसैले यहाँ पेडा पसलमा मिल्दाजुल्दा नाम भेटिन्छन्।’

उनी आफू ब्रान्डको लोभी नभए पनि अलिकति प्रभावित भने भएको उनले सुनाए । ‘मैले बैजनाथको ठाउँमा बैधनाथको पेडा लेखे,’ उनले भने, ‘मेरो व्यापार बढेकै छ ।’ राजधानीमा पेडाको व्यापार सोचेजति नभए पनि यहाँ आएर किनेर खाने र लैजानेले खुसी व्यक्त गरेको सुनाए ।‘राजधानीमा मैले थुप्रै पेडा खाएँ, यति मिठो पेडा पहिलोपटक खाँदै छु,’ सानेपाबाट आएका सुनील श्रेष्ठले भने, ‘यो यहाँका पेडाभन्दा फरक स्वादको रहेछ ।’ उनीसँगै आएका प्रवीण श्रेष्ठले आफूले सप्तरीमै पुगेर पनि पेडा खाएको बताउँदै यहाँ ल्याएको पेडाको स्वाद पनि उस्तै रहेको सुनाए।

‘राजमार्गमा यात्रा गर्दा थुप्रैपटक ओर्लेर पेडा किनेर खाएको छु,’ प्रवीणले भने, ‘यहाँ आएर पेडा खाँदा पनि स्वाद उस्तै पाएँ।’पेडा पसले डोमीले आफूले विगतमा पनि मेला तथा विभिन्न कार्यक्रममा आफ्नो पेडाको स्टल राख्ने गरेको सुनाए । ‘यसरी हिँड्दा धेरैमा पेडाको प्रचार पनि हुन्छ,’ उनले भने, ‘ग्राहकको प्रतिक्रियाले राजधानीमा पनि पसल खोल्ने रहर बढेको छ ।’

 

प्रकाशित: १४ वैशाख २०७५ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App