८ वैशाख २०८१ शनिबार
अर्थ

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक दैनिक २१ घन्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल व्यवस्थापनले पहिलो पटक यस्तो घोषणा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले आगामी जेठ ७ गतेबाट विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्ने निर्णय गरेको हो । अहिले भने विमानस्थल दैनिक साढे १८ घन्टा सञ्चालन भइरहेको छ।

‘लामो समयदेखि दिनको साढे १८ घन्टा चलिरहेको विमानस्थललाई साढे २ घन्टा थपेर दिनहुँ २१ घन्टा सञ्चालन गर्ने निर्णय गरेका छौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहीबार नागरिकसँग भने, ‘यसका लागि आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छौं । सम्बद्ध निकाय सबैबाट सक्दो सहयोग प्राप्त हुने विश्वास छ।’त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन्।

आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ।‘जेठ ७ गतेदेखि बिहान ६ बजे खुलेपछि विमानस्थल एकैपटक भोलिपल्ट बिहान ३ बजेमात्र बन्द हुन्छ र तीन घन्टाको विश्रामपछि पुनः सञ्चालनमा आइहाल्छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘हामी यो निर्णयलाई व्यावहारिक हिसाबमा पूर्णकार्यान्वयन हुने गरी तयारी गरिरहेका छौं।’

विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्ने तयारी भइरहे पनि यसमा विविध समस्या रहेको क्षेत्रीको भनाइ छ । सबैभन्दा जटिल समस्या आवश्यक जनशक्ति कम रहेको र यसैलाई परिपूर्ति गर्न लागिपरेको उनले बताए ।

विमानस्थल सञ्चालनमा प्रत्यक्ष जोडिएका अध्यागमन, प्रहरी, भन्सारलगायत निकायले कर्मचारी अभाव रहेका कारण व्यवस्थापन गर्न समस्या हुने बताउँदै आएका छन् । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजनामा त्रिभुवन विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्ने उल्लेख गरेपछि विमानस्थल व्यवस्थापन यसमा लागिपरेको थियो।‘हामी एयर ट्राफिक कन्ट्रोल (एटिसी) कर्मचारीदेखि इलेक्ट्रिसियन लगायतलाई थप भत्ताको व्यवस्था गरेर काममा लगाउँछौं,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘अन्य निकायसँग पनि निरन्तर छलफलमा छौं र सबैले सकेसम्म सहयोग गर्ने विश्वास दिलाएका छन्।’

उनका अनुसार एउटै धावनमार्ग रहेका कारण बेलाबेला मर्मत गर्नुपर्ने हुन्छ । बर्खायाममा मर्मत गर्न झन् समस्या हुने गर्छ । यस्तो समस्या समाधान गर्न धावनमार्गको कालोपत्रे उप्किएको टाल्नासाथ अधिकतम ३० मिनेटमै तयार हुने प्रविधि प्रयोगका लागि टेन्डर आह्वान गरिसकिएको छ ।‘सुरुमा दुईदेखि तीन महिना गाह्रो हुन्छ तर, त्यसपछि भने हामी आरामसँग दैनिक २१ घन्टा विमानस्थल सञ्चालन भइरहन्छ,’ उनले भने, ‘२१ घन्टा सञ्चालन सफल पारेपछि चौबीसै घन्टा सञ्चालन गर्ने योजना छ।’

विमानस्थल व्यवस्थापनले यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पनि २१ घन्टा उडान सञ्चालनको जानकारी गराइसकेको छ । विमानस्थलमा रहेका प्रिपेड ट्याक्सीलाई पनि यसबारे जानकारी गराइसकिएको र उनीहरूले तोकिएको समयसम्मै ट्याक्सी सञ्चालन गर्ने बताएका छन्।

‘दुईवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले दिउँसोको आफ्ना उडान समय सारेर साढे १२ बजेपछि लाने जानकारी गराएको छ,’ क्षेत्रीले भने ।त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । त्रिभुवन विमानस्थल बिहान ११ बाट साँझ ५ बजेसम्म र राति ८ बाट ११ बजेसम्म सबैभन्दा बढी व्यस्त हुने गर्छ । अधिकांश वायुसेवाको उडान–अवतरण यही समयमा हुने गरेको छ।

६९ वर्षअघि सन् १९४९ बाट सञ्चालनमा आए पनि त्यसको छैठौं वर्ष १९५५ मा तत्कालीन राजा महेन्द्रले ‘त्रिभुवन विमानस्थल’ नामकरण गरी उद्घाटन गरेका थिए । सन् १९६४ मा पुनः यसको नाम परिवर्तन गरी ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ राखिएको थियो।

सञ्चालनमा आएको आठ वर्षसम्म १ हजार १ सय ४० मिटर लामो घाँसे धावनमार्ग रहेको त्रिभुवन विमानस्थललाई सन् १९५७ मा पहिलो पटक कालोपत्रे गरी २ हजार मिटर लम्बाइ कायम गरिएको थियो । त्यसपछि १९७५ मा धावनमार्ग विस्तार गरी ३ हजार मिटर बनाइएको थियो ।  त्रिभुवन विमानस्थलमा पहिलो पटक सन् १९६७ मा जेट जहाज अवतरण गरेको थियो । हाल धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर र चौडाइ ५० मिटर रहेको छ।

 

 

प्रकाशित: १४ वैशाख २०७५ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App