७ वैशाख २०८१ शुक्रबार
समाज

मनै लोभ्याउने ढकेरी वनस्पति उद्यान

नेपालगन्ज– पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित वनस्पति उद्यान। जसको सुगन्धले जो कोहीको मन लोभ्याउँछ। त्यही भएर पनि यहाँ नपुगेका ब्यक्ति कमै मात्रामा भेटिन्छन्। नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किमी टाढा पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणतर्फ स्थापित रहेको छ, यो उद्यान। समुद्री सतहबाट १ सय ६० मिटर उचाईमा करिव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एव् गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीय स्तरमा पुर्याउने काम गरिन्छ।

२०५६ सालमा स्थापित उद्यान वनस्पतिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण मानिएको छ। बाँकेमै पहिलो वनस्पति उद्यान भएकोले आन्तरिक पर्यटनलाई समेत बढवा दिएको जिल्ला वनस्पति कार्यालयका प्रमुख सुनिलकुमार आचार्य बताउँछन्। ‘यसबाट उद्यान विकास कार्यक्रम अन्तर्गत स्वदेशी शोभनीय फूलबिरुवा अनुसन्धान, मौषमी शोभनिय फूलबिरुवा बेर्ना उत्पादन, प्रर्दशनी स्थल स्थापना, शैक्षिक वाटिका ब्यवस्थापन तथा जाति विशेष उद्यान ब्यवस्थापन ईत्यादी कामहरू सञ्चालनमा छन्,’ उनी भन्छन्।

उद्यान अवलोकनका लागि सजिलैसँग बस, जिप, कार तथा अन्य भाडाका सवारी साधन उपलब्ध छन्। जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले विभिन्न वनस्पति प्रजातिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण कार्य भइरहेको छ। वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि यहाँ दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षण, आर्किड–संरक्षण तथा अन्य प्रदर्शन प्लटहरूको ब्यवस्थापन गरिएको छ।

उद्यानभित्र श्रीखण्ड बगैचा, वनस्पतिक पारिवारीक बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउस इत्यादी रहेका छन्। ‘यहाँ रहेका वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवम् मनोरञ्जन स्थलको रुपमा घुम्न आउँछन्, यसले गर्दा उद्यानलाई शैक्षिक केन्द्रको साथ साथै पर्या—पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ,’ प्रमुख आचार्य भन्छन्। २०७२÷७३ मा गरिएको सर्वेक्षण, अनुसन्धान अनुसार उद्यानभित्र २ सय ८६ प्रजातिका वनस्पति रहेका छन्। हाल वनस्पतिको प्रजाति करिव ४ सय पुगेको छ। ती मध्ये अधिकतम वनस्पति झारका १२१ प्रजाति, त्यसैगरी बुट्यानका ८३, रुख ५६ र २९ प्रजातिका लहराहरू संरक्षण गरिएको छ।

उद्यानभित्र संरक्षित मुख्य प्रजातिमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, करिलो, बेतलौरी, आँक, राजबृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत रहेका छन्।

उद्यानमा दूर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको संकलन तथा संरक्षण एवम् ब्यवस्थापन गर्ने, स्वदेशी शोभनीय फूल विरुवाको अध्ययन तथा अनुसन्धान गर्ने, ल्याण्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्ने, मौषमी शोभनीय फूल विरुवाहरुको उत्पादन तथा उद्यानमा रोपण गरी वनस्पति उद्यानलाई आर्कषक तथा मनमोहक पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने मुख्य क्रियाकलाप थालिएको छ।

यस्तै उद्यानमा सूचना केन्द्र ब्यवस्थापन गरी आम जनमानसमा विभिन्न उपयोगी वनस्पति प्रजातिको संरक्षण संवद्र्धनका लागि सूचना प्रवाह गर्ने, विभिन्न उपयोगी वनस्पतिको प्रर्दशन तथा जर्मप्लाज्म संरक्षण गर्ने, उद्यानलाई विभिन्न वनस्पति प्रजातिको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, उद्यान व्यवस्थापन सम्बन्धमा कार्यरत कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने रहेको छ।

यसैगरी विभिन्न अन्तर्राष्ट्रिय उद्यानमा भगिनी सम्बन्ध स्थापित गरी उद्यान ब्यवस्थापन सम्बन्धमा एक–आपसमा ज्ञानको आदान प्रदान गर्ने, सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरमा वनस्पति उद्यानको पहिचान स्थापित गर्ने लगायत क्रियाकलाप रहेको छ। उद्यान संरक्षणका लागि ७ जना कर्मचारी कार्यरत छन्।

प्रकाशित: १३ वैशाख २०७५ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App