८ वैशाख २०८१ शनिबार
खेल

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

इलाम- राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

खेलको १५औं मिनेटमा आर्मीका दिनेश हेमजनले विपक्षीको पोस्टमा गोल गरे । सन्तोष तामाङले दिएको पासलाई सदुपयोग गर्दै अन्डर–१९ का खेलाडी दिनेशले गरेको गोलले आर्मीलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलायो।

दोस्रो हाफ चलिरहेका बेला विपक्षी सिक्किमका इन्द्रजीत क्षेत्रीले ७१औं मिनेटमा जवाफी गोल फर्काए । विपक्षीको डि–बक्सनजिकैबाट सिक्किमका करण राईले प्रहार गरेको फ्रिकिकलाई इन्द्रजीतले आकर्षक हेडमार्फत् विपक्षीको गोल पोस्टमा जाली चुमाए । उनको गोलसँगै बराबरी भएपछि दुवै टिमले नतिजाका लागि आक्रामक खेल प्रदर्शन गरे। आर्मीका नवयुग श्रेष्ठले खेलको ७६औं मिनेटमा सिक्किममाथि अर्को गोल थपे । आफ्नो डि–बक्सछेउबाट आएको लामो पासलाई नियन्त्रणमा लिएका राष्ट्रिय टिमका स्ट्राइकर नवयुगले विपक्षी टिमका बलरक्षक पिनिसो शेर्पा बिट भएको अवस्थाको सुन्दर सदुपयोग गरेका थिए।

दोस्रो हाफमा विपक्षीलाई निकै दबाबमा राखेको आर्मीका कप्तान भरत खवासले इन्जुरी समयमा सिक्किममाथि थप गोल गरे । आर्मीकै विवेक बस्नेतले विपक्षीको डि–बक्सभित्रै दिएको पासलाई नवयुगले नियन्त्रणमा लिएर भरतलाई दिए । अनि, भरत पेनाल्टी एरियाबाट विपक्षीको कोर्टमा सजिलै गोल गर्न सफल भए । भरतको गोल नै तेस्रो क्वार्टरफाइनलको अन्तिम गोल बन्यो ।

खेल अवधिभर आर्मी र सिक्किम दुवै टिमका खेलाडीले निकै राम्रा अवसर चुकाएका थिए । इलामकै मंगलबारे घर भएका आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले गृहजिल्लाको माइभ्याली गोल्डकपमा सहभागिता जनाएको यो नै पहिलो हो। उनले २०६१ र ०६२ सालमा अन्डर–१४ टिमबाट ठूलो टुँडिखेलमा खेलेका थिए। नवयुगले बुधबारको खेलमा विपक्षीको डि–बक्सभित्रैबाट गरेको प्रहार सिक्किमका बलरक्षक पिनिसो शेर्पाले असफल पारिदिए । आर्मीका दिने हेमजनले दिएको सुन्दर पासलाई नवयुगले प्रहार गरे तर फ्रेममा पार्न सकेनन् । नवयुगले दिएको सुन्दर पासलाई आर्मीका जर्जप्रिन्स कार्कीले विपक्षीविरुद्ध प्रहार गर्न सकेनन् ।

सिक्किमका सञ्जय क्षेत्रीले आफ्नै साथीले दिएको सुन्दर पासको सदुपयोग गर्न सकेनन्। सिक्किमकै करण राईले विपक्षीको गोल पोस्टनजिकै पाएको अवसर चुकाउँदा पहिलो हाफमा सिक्किम १–० गोले पछि धकेलिन बाध्य भयो। दोस्रो हाफमा आर्मीका नवयुगले विपक्षीको पोस्टमा गरेको प्रहार रिबाउन्ड भयो । सिक्किममा करण राईले प्रहार गरेको फ्रिकिकलाई राम्रो मौकामा बदलेका सिक्किमकै इन्द्रजित क्षेत्रीले विपक्षीमाथि स्कोर गर्न भने सकेनन्। बुधबारको खेलको म्यान अफ् दि म्याच हुँदै आर्मीका सन्तोष तामाङले नगद १० हजार र चाँदीको मेडलमा कब्जा जमाए।

सिक्किमका प्रशिक्षक मायलडुक लेप्चाले नेपाल आर्मीजस्तो बलियो टिमसँग आफ्ना खेलाडीले कमजोरी नगरी खेल प्रदर्शन गरेको बताए । ‘हाम्रा खेलाडी नयाँ र पुराना दुवैखाले छन्,’ उनले भने, ‘जितको परिणाम आफ्नो पक्षमा नपरेपनि बुधबारको खेलप्रति सन्तुष्ट छु ।’ उनले सिक्किममा फुटबलको यो वर्षको सिजन सुरु मात्र भएकाले आफ्नो टिम खँदिलो बनाउन बाँकी नै रहेको बताए । ‘हामी आउँदा खेलमा अझ राम्रो रणनीतिसहित अघि बढ्ने छौं,’ उनले भने, ‘गत ८ गते यहाँ प्रि–क्वार्टर खेलेर पुनः सिक्किम पुगेर महेन्द्र कार्की मेमोरियल गेम खेल्नुप¥यो, खेलाडीलाई रेस्ट पनि कम भएकाले उनीहरूले नजिता हात पार्न सकेनन् ।’

आर्मीका प्रशिक्षक नवीन नेउपानेले आफ्नो टिमले जित हासिल गरेपनि खेलको सुरुमा निकै राम्रा अवसर गुमाएको बताए । ‘पहिलो हाफमा त हामी आफ्नो रणनीतिअनुसार नै खेल्न सफल भयौं, जब १–१ को बराबरी भयो, हामीलाई निकै प्रेसर पर्‍यो,’ उनले भने, ‘हामीले निकै राम्रा अवसर पहिला नै चुकाइसकेका थियौं ।’ उनले खेलमा फिनिसिङ रामो नहुँदा सोचेजस्तो परिणाम चाहिँ हात नलागेको प्रतिक्रिया दिए। ‘योभन्दा निकै राम्रो प्रदर्शन गर्न सक्ने थियौं तर फिनिसिङमा कमजोरी रह्यो,’ उनले भने । उनले माइभ्यालीको चौथो संस्करण जित्ने आफ्नो लक्ष्य रहेको पनि बताए।

माइभ्यालीको चौथो संस्करणमा आर्मी सोझै क्वार्टरमा प्रवेश गरेको हो भने युनाइटेड सिक्किमले संकटा क्लबलाई १–० को गोलअन्तरले प्रि–क्वार्टरमा पराजित गरेको थियो । विजेता आर्मीले राष्ट्रिय टिमका भरत खवासको कप्तानीमा राष्ट्रिय टिमकै नवयुग श्रेष्ठ, विकेश कुथु, अन्डर–१९ का सन्तोष तामाङलगायतलाई मैदान उतारेको थियो। आर्मी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा रमपम झापा–११ सँग पराजित भएको थियो । माइभ्यालीमा पहिलो सहभागिता जनाएको ए–डिभिजन क्लब युनाइटेड सिक्किम गत सिजनको झापा गोल्डकपमा पहिलो चरणबाटै झापा–११ सँग बाहिरिएको थियो । सिक्किमले यसअघि भारतका प्रतिष्ठित फेडेरेसन, सिक्किम लिग, सुपरकप र इन्डिपेन्डेन्ट कपको उपाधि उचालिसकेको छ ।

बुधबारको विजेता आर्मीले शुक्रबार मनाङमस्र्याङ्दी क्लबसँग पहिलो सेमिफाइनल खेल्नेछ । आर्मी र मनाङ गत सिजनमा दुहबी, झिलझिले, काँकडभिट्टा र धनगडी गोल्डकपमा ४ पटक आमने–सामने भएका थिए । तीमध्ये दुहबी गोल्डकपमा मनाङले र बाँकी ३ वटामा आर्मीले बाजी मारेका थिए।

 

प्रकाशित: १२ वैशाख २०७५ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App