८ वैशाख २०८१ शनिबार
अन्य

नागरिक नायक २०७५- दानवीर दम्पती

‘जब अस्पतालका नाममा दान दिन पाएँ, आफैंले पुनर्जीवन पाएझैं लागेको छ, हर्षले छाती चौडा भएको छ, ‘स्वर्ग’ अनुभूत गर्न पाएको छु,’ श्रीजंग शाहले नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालमा नागरिक अभिनन्दनपछि यसो भनिरहँदा त्यहाँका धेरै सहभागी भावुक देखिए।

नेपालगन्ज फुल्टेक्रामा हुर्किएका ९३ वर्षे श्रीजंगले आफ्ना बुबाको पालादेखि नै दान गर्ने संस्कार देखेका र सिकेका थिए । बुबाको त्यही कर्म पछ्याउँदा अहिले श्रीजंग दम्पती अस्पताललाई दान दिएरै ‘दानवीर जोडी’का रूपमा चर्चा कमाउन सफल छ । दानवीर दम्पतीको कर्मको प्रशंसा गर्ने धेरै छन् नेपालगन्जमा।

ऐतिहासिक सहर नेपालगन्जमा तीन दशकअघि आँखा अस्पतालको आवश्यकता महसुस गरियो । तर, अस्पताल खोल्न कसरी सुरु गर्ने भन्ने अन्योल भयो । फत्तेजंग शाह र बालदिव्येश्वरी शाहले आफ्नो नामको फुल्टेक्राकास्थित १४ कोठाको भवन र करिब २ बिघा जमिन अस्पताललाई दान दिए । शाह जोडीको दानले नै अस्पतालको स्थापनाको आधार तयार भयो । बिस्तारै दाता थपिँदै गए।

नेपालगन्ज फुल्टेक्रामा हुर्किएका ९३ वर्षे श्रीजंगले आफ्ना बुबाको पालादेखि नै दान गर्ने संस्कार देखेका र सिकेका थिए । बुबाको त्यही कर्म पछ्याउँदा अहिले श्रीजंग दम्पती अस्पताललाई दान दिएरै ‘दानवीर जोडी’का रूपमा चर्चा कमाउन सफल छ।

सबैको सहयोगले अस्पतालको स्तर र सुविधा पनि बढ्दै गयो । भारत गएर उपचार गर्ने सीमाक्षेत्रका ठूलो संख्याका नेपाली दाजु–भाइ त यो अस्पतालतिर आकर्षित भए नै, भारत लखनउसम्मका बिरामीसमेत यतै आउन थाले। मध्य र सुदूरपश्चिमसँगै भारतीय विभिन्न सहरका बिरामीको उपचार गर्ने थलो बनेको फत्तेजंग आँखा अस्पतालले सर्वसुलभ रूपमा धेरैलाई निःशुल्क उपचार गर्न थाल्यो। तर, मागअनुसार सेवा–सुविधा थप्न नसकेर कठिन मोडमा पुगेको अस्पताललाई श्रीजंग र उनकी पत्नी रुद्रकुमारीले काठमाडौंको करिब १ अर्ब रुपैयाँ मूल्यको सम्पत्ति आफ्नो निधनपछि अस्पताललाई दान दिनेगरी हस्तान्तरण गरे।

शाह जोडीको महादानले अस्पतालले कोल्टे फेर्ने निश्चित भएको छ। अस्पताल निर्देशक डा.कौशलकुमार बर्मा शाह दम्पतीको दानले अस्पताललाई हौसला मिलेको बताउँछन्। कर्मचारीमा काम गर्ने हौसला जागेको भन्दै बर्मा थप्छन्, ‘अस्पतालले चाहेअनुसार सेवा–सुविधा बढाउन सकेको थिएन । कठिन मोडमा थियौं । श्रीजंग र रुद्रकुमारीले गर्नुभएको दानले कर्मचारीको मनोबल उच्च भएको छ।’

श्रीजंगको दानले अस्पताललाई तत्कालै फाइदा नभए पनि भविष्यमा उच्च प्रगति गर्ने निश्चित भएको उनले बताए । ‘अस्पताललाई अब आर्थिक रूपले अप्ठ्यारो पर्नेछैन,’ उनी भन्छन्, ‘यो महादानले अस्पतालको भविष्य मात्र सुनिश्चित गरेको छैन, समाजमा शाहजस्ता दानवीर पनि छन् भन्ने उदाहरण देखाएको छ।’

वृद्ध श्रीजंगमा समाज र देशलाई योगदान गर्नुपर्छ भन्ने जोस ताजै छ । मानव सेवा कसरी गर्न सकिन्छ भन्नेमा उनी सधैं चिन्तनमा हुन्छन् । धार्मिक ग्रन्थमा विश्वास गर्ने श्रीजंग तिनको मर्म बुझेर काम गर्नुलाई पुण्य ठान्छन् । र, त्यसमा सफल पनि भएका छन् । ‘जीवन सदा रहिरहने होइन । म समय–समयमा भगवतगीताको पुस्तक र बाइबल पढ्छु । श्रीकृष्ण भगवान्को अमर वाणी (येतो धर्म तत्व जये) र जिसस क्राइस्टले भन्नुभएको ‘डस्ट दो आर टु डस्ट टिनर्थ वाज नट स्पोकन बाई द सोल’शब्दले मेरो सोचाइमा ठूलो परिवर्तन ल्याएको हो,’ श्रीजंग भन्छन्, ‘अस्पतालका लागि हाम्रो सहयोग पनि त्यही सोचाइको परिणाम हो । मानिसको सेवाका लागि मेरो धन ठूलो कुरा होइन, मानिसकै उपचारमा खर्च होस् भन्ने हो।’

बुबाले ‘आफ्नो सम्पत्ति कुपात्रको हातमा परे कमाएको सम्पत्तिको कुनै अर्थ हुनेछैन, पुण्य काममा लगाउनू’ भन्ने उपदेश दिएकाले आफूले समाजको काममा सम्पत्ति दान गरेको श्रीजंग बताउँछन् । श्रीजंग र रुद्रकुमारीकी एक छोरी छिन् ईश्वरी राणा । छोरीज्वाइँकै सहमतिमा आफूले काठमाडौं कान्तिपथस्थित ३ रोपनीभन्दा बढी जग्गा र घर अस्पताललाई दिएको उनले बताए। 

हुन त, सुरुमा उनले जग्गादानको प्रस्ताव राख्दा न परिवारबाट सहयोग पाएन न समाजको ‘ग्रिन सिग्नल’ नै । उनको प्रस्तावमा कतैबाट सहमति जुटेन । काठमाडौं जिल्ला प्रशासनबाट उनको सम्पत्ति रोक्कासमेत गरियो । अदालतमा उनीविरुद्ध मुद्दा प-यो । सरकारी ओहदाका व्यक्तिले धम्की, प्रभाव र प्रलोभन देखाए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ठाडो आदेशमा उनको सम्पत्ति रोक्का गर्ने प्रयास पनि गरेको उनी सुनाउँछन् । ‘अख्तियारमा पनि उजुरी प-यो, महिनौंसम्म दुःख पाएँ । न्यायका लागि अदालत धाएँ । तर, भगवान् पशुपतिनाथ र बागेश्वरी माताको कृपाले म दान दिन सफल भएँ,’ उनले हर्षसाथ सुनाए। 

सुरुमा समाजले आफूलाई ‘पागल’को संज्ञा दिए पनि अहिले नेपालगञ्जबासीले सम्मान गर्दा उनी गद्गद् छन् । नेपालगन्जमा उनलाई नागरिक अभिनन्दन गरियो । रथयात्रा गराइयो । ‘जिउँदै स्वर्ग पुगेको अनुभव गरेको छु,’ सम्मानको क्षण सम्झिँदै उनले भने, ‘मलाई फसाउन नर्भिक अस्पतालबाट पागल भएको प्रमाणसमेत ल्याएको समय सम्झिँदा आँसु आउँछ अहिले पनि । त्यतिबेला मैले पनि वीर अस्पतालबाट आफू स्वस्थ भएको प्रमाण ल्याउनुपरेको थियो ।’ वीरको प्रमाण अदालतमा पेस गरेर अदालतमा बयान दिएपछि न्यायाधीशले ज्यादै निष्पक्ष भएर फैसला गरेको र आफू अस्पताललाई जग्गा दान दिन सफल भएको उनले बताए।

श्रीजंग फत्तेवाल आँखा अस्पतालका संरक्षक हुन् । उनले यो जिम्मेवारी पूरा गरेको २०४३ सालदेखि नै हो । हरेकपटक काठमाडौंबाट नेपालगन्ज आउनेबित्तिकै उनी सबैभन्दा पहिले त्यही आँखा अस्पताल पुग्छन्, जहाँ उनका पितापुर्खा र आफ्नो ‘पवित्र साइनो’ गाँसिएको छ। 

सुन्दर र शान्त देखिने अस्पताल परिसरमा छिर्नेबित्तिकै खुला चौरको बीचमा श्रीजंगका बुबा फत्तेजंग र आमा बालदिव्येश्वरी शाहको अर्धकदको शालिक देखिन्छ । बुबा–आमाको शालिक ढोगेर गरेर मात्र श्रीजंग अन्य काममा लाग्छन् । अस्पताल परिसरका राणाकालीन महलमा उनका बाल्यदेखि युवाकालका सम्झना जोडिएका छन् । उनी भन्छन्, ‘सानो छँदा यहीं खेलेर हुर्कें । अहिलेजस्तो नेपालगन्ज पहिले थिएन, सडकमा पानी जमेर हिँड्न कठिन थियो । जंगल मात्र थियो । पछि पढ्न बाहिर गएँ । जतिपटक फर्केर आउँथें, अस्पतालले राम्रो काम गरिरहेको अनुभव हुन्थ्यो । अस्पताललाई कसरी अझ राम्रो बनाउन सकिएला भनेर सोचेको हुन्थें । पछि विभिन्न जिम्मेवारीले काठमाडौं बस्न थालें । नेपालगन्ज आउने क्रम पातलिँदै गयो । तर, बुबा–मुमाले दान दिएर सुरु भएको अस्पताल सधैं मेरो प्रिय हुन्थ्यो।’ 

शाहले भारतको कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, नेपाल राष्ट्र बैंक, नेपाल वायुसेवा निगमको निर्देशकजस्तो महŒवपूर्ण पदमा रहेर काम गरे । अध्ययनकै क्रममा पूर्वप्रधानमन्त्री स्व.बिपी कोइरालासँगको कुराकानीले आफ्नो जीवनमा नयाँ काम गर्ने हौसला जागेको शाह सम्झन्छन्। 

बिपीसँग त्रिपुरेश्वरमा भेट्दाको स्मरण ताजै छ उनमा । ‘हामी सम्पन्न परिवारका शाह होइनौं । काठमाडौंमा हामीलाई पहिले जग्गा किन्ने अधिकारसम्म थिएन । पछि प्रजातन्त्र आयो । बिपीसँग भेटेर कुराकानी भयो,’ शाहले भने, ‘उहाँ (बिपीले) मलाई काठमाडौं आएर बस्न सल्लाह दिनुभयो, घर बनायौं र काठमाडौं नै बस्न थाल्यौं । जागिरेका रूपमा विभिन्न क्षेत्रमा काम गर्ने अवसर पाएँ।’

शाह परिवारको दानले बनेको अस्पताल अहिले लाखौं बिरामीको उपचार गर्ने केन्द्र बनेको छ । २०४३ सालमा नेपालगन्जमा फत्तेवाल आँखा अस्पताल स्थापना गर्दा कृष्णगोपाल टण्डन, डा.रामप्रसाद पोखरेलले नेतृत्वदायी भूमिका निर्वाह गरे । १० शड्ढयाबाट सुरु भएको अस्पताल अहिले अढाई सय शड्ढयामा पुगेको छ । ३१ वर्षदेखि अस्पतालले गुणस्तरीय र प्रभावकारी आँखा उपचार सेवा प्रदान गर्दैछ । १७ वर्षदेखि सहुलियत शुल्क र दानबाटै अस्पताल सञ्चालन भइरहेको छ । भारतको बहराइच, गोण्डा, गोरखपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फौजावाद, सुल्तानपुरजस्ता सहरबाट आउने बिरामीको बाक्लो संख्याले पनि फत्तेवाल आँखा अस्पतालमा गुणस्तरीय सेवा पाइन्छ भन्ने पुष्टि गरेको छ।

नेपालगन्ज आएका बेला श्रीजंगले आफ्ना भाञ्जा तथा नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल समशेर राणासँग त्रिवेणी मोडदेखि आँखा अस्पतालसम्मको मार्गको नाम ‘फत्तेवाल आँखा अस्पताल मार्ग’ राख्न अनुरोध गरे । मेयर र नगरका केही वडाध्यक्षले शाहको अनुरोधमा तत्काल सहमति जनाए । मेयर राणा यो सडकको नाम मामाको प्रस्तावमा दानवीर व्यक्तिको नामसँग जोडेर राख्न पाउनु पवित्र काम भएको बताउँछन् । ‘उहाँहरू (मावली) को दानले अस्पताललाई दिगो बनाइदिएको छ । यस्तो पुण्य काम सबैले गर्न सक्दैनन् । उहाँको सोचले समाजमा एउटा तरंग ल्याएको छ । आफ्ना पुर्खाले देखाएको बाटोमा हिँड्न सहज छैन । तर, मामा त्यो गर्न सफल हुनुभयो,’ मेयर राणाले भने। 

नव सेवालाई हरेक धर्मशास्त्रले पुण्य कामका रूपमा परिभाषित गरेको छ । तर, सबैले यसलाई पालना गर्न सक्दैनन् । पुण्य काम हो भनेर थाहा पाएर पनि  समाजमा मानव सेवालाई त्यति चासोका साथ हेरिन्न । आर्थिक रूपमा सम्पन्न भएर पनि सामाजिक काम गर्न अगाडि नसर्नेको संख्या धेरै छ देशमा।

नागरिकले देश विकासमा योगदान गर्न सक्नु उसको कर्तव्य हो । तर, धेरैले नागरिक कर्तव्य पूरा गरिरहेका हुँदैनन् । ‘धन धेरैसँग हुन्छ तर समाजसेवा गर्ने मन हुँदैन’ भन्ने भनाइको जवाफ शाह परिवारले चाहिँ दानमार्फत् दिइसकेको छ । नेपालगन्जका पत्रकार नरेन्द्र थापा दानवीर श्रीजंग शाहको जोडी समाजका लागि आदर्श भएको बताउँछन् । ‘यो जोडी युवाका लागि प्रेरणा हो । समाजसेवा गर्न धन भएर मात्र हुँदैन । मानव सेवामा खर्च गर्न सक्ने उदार हृदय पनि चाहिन्छ,’ पत्रकार थापा भन्छन्, ‘शाह जोडीले युवा पिँढीलाई समाजप्रतिको सद्भाव र सेवामा प्रेरित गरेको छ, देश र समाजसेवाको ज्ञान दिएको छ।’

दानवीर श्रीजंग भने आफूलाई ‘महान्’ भन्न रुचाउँदैनन् । ‘तपाईंको जीवनबाट युवा पिँढीले के सिक्ने ?’ यो जिज्ञासाको जवाफमा श्रीजंग भन्छन्, ‘म महान् व्यक्ति होइन र विज्ञ पनि छैन । तर, प्राणी भएर जन्मिएपछि समाजको हितका लागि काम गर्नुपर्छ । नागरिक भएर जन्मिएपछि राष्ट्रको विकासमा योगदान दिन सक्नुपर्छ । राष्ट्रको उन्नतिमा सहयोग गर्न सक्नुपर्छ भन्ने बुझेको छु । अझै पनि त्यसै गर्छु ।’

श्रीजंग आफूले पाएको आत्मसन्तुष्टिको आनन्द बेग्लै भएको बताउँछन् । ‘मानव सेवा गरेपछि मात्र यस्तो अनुभव हुँदोरहेछ,’ उलने सुनाए, ‘म पुर्खाले देखाएको बाटोमा हिँडेको हुँ । पुर्खाको सम्पत्ति असल कामका लागि दिएको हुँ । यसबाट मलाई धर्म गरेको अनुभूति हुन्छ ।’

प्रकाशित: ६ माघ २०७५ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App