७ वैशाख २०८१ शुक्रबार
खेल

माइभ्याली गोल्डकप : इन्जुरी समयमा चम्कियो पुलिसको भाग्य

इलाम– खेल सकिएको ह्विसेल बज्नैलाग्दा चम्किएको भाग्यले नेपाल पुलिस क्लबलाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा उकालेको छ। इन्जुरी समयमा दुई गोलसहित पुलिसले ३–१ गोलान्तरले पाहुना टिम भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पाखा लगायो। 

ठूलो टुँडिखेलमा आइतबार भएको अन्तिम प्रि–क्वार्टरफाइनमा पहिलो हाफको ३६औं मिनेटमा पुलिसका रेजिन सुब्बाले पहिलो गोल गरी आफ्नो टिमलाई अघि बढाए। ४५औं मिनेटमा विपक्षी दुर्गापुरका नाइजेरियन खेलाडी सगौनले जवाफी गोल फर्काए। पहिलो हाफ सकिँदै गर्दा पाएको कर्नरको अवसर सदुपयोग गर्दै उनले कर्नरबाट सोझै बललाई जाली चुमापछि खेल १–१ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफको इन्जुरी समयमा दुर्गापुरका नाइजेरियन खेलाडी इम्मानुअलले पुलिसका सन्तोष हेमरनलाई डि–एरियामा फाउल गरेपछि पाएको पेनाल्टीमा पुलिसका सुमन लामाले गोल गरे। लगत्तै पुलिसका सुमन लामाले तेज तामाङलाई दिएको पास तेजले रेजिनलाई दिए। रेजिनले दिएको पासको उत्कृष्ट सदुपयोग गर्दै पुलिसका रवि पासवानले विपक्षीविरुद्ध तेस्रोपटक बललाई जाली चुमाएसँगै खेल समय सकिएको ह्विसेल बजेको थियो। विजयी भएसँगै पुलिस क्वार्टरफाइनल प्रवेश गरेको छ।

खेलको पूरै अवधि पुलिसले दुर्गापुरलाई दबाबमा राखेको थियो। पाएका दर्जनौं अवसर पुलिसले चुकाएको थियो। पुसिलका हेम तामाङले आफ्नो पोस्टमा छिर्न लागेको गोलको उत्कृष्ट बचाउ गरे। दुर्गापुरका बल रक्षक बिट्टु किस्कु र इमानुयलले विपक्षीका निकै गहकिला प्रहार गोल हुनबाट टिमलाई बचाएका थिए। 

दुर्गापुरका टिम प्रशिक्षक असिम रोयले अन्तिमको १५ मिनेट आफ्नो टिमका लागि निकै दबाबपूर्ण रहेको बताए। ‘पछिल्लो हाफमा हामी निकै दबाबमा प¥यौं तर त्यही समय हाम्रा लागि महत्वपूर्ण थियो,’ उनले भने, ‘खेलको अन्तिम समयमा नसोचेको अवसर विपक्षीलाई मिल्नु नै हाम्रो पराजयको कारण बन्यो।’ आफ्ना खेलाडीको प्रदर्शन र निर्णायकको निर्णय राम्रो हुँदाहुँदै पनि जितका लागि पर्याप्त नभएको उनले बताए। 

विजयी पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेजिन सुब्बा खेलमा प्रवेश गरेपछि आफ्नो टिमको प्रदर्शन उच्च भएको बताए। ‘जब रजिन खेलमा प्रवेश गरे, हामीले सफलताको बाटो लिइहाल्यौं,’ उनले भने, ‘त्यसअघिसम्म हाम्रो टिमको कम्बिनेसन त्यति मिलेको पनि थिएन।’ उनले आफ्नो टिममा नयाँ खेलाडीसमेत भएकाले टिमवर्क चाहिँ राम्रो हुन नसकेको प्रतिक्रिया दिए। विजेता पुलिस आउँदो १३ गते क्वार्टरफाइलनमा थ्रिस्टारसँग भिड्नेछ। प्रिजन तामाङको सट्टामा मैदान प्रवेश गरेका रेजिनले नै आइतबारको खेलको म्यान अफ् दि म्याच हुँदै नगद १० हजार र चाँदीको मेडल जिते। 

अन्डर–१९ का रेजिनसहित रविन श्रेष्ठको कप्तानीमा पुलिस र सुशान्त सुरको कप्तानीमा दुर्गापुर मैदानमा उत्रेका थिए। सोमबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक माइभ्याली फुटबल क्लब र मनाङमर्स्याङ्दी क्लबबीच हुनेछ।

प्रकाशित: ९ वैशाख २०७५ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App