६ वैशाख २०८१ बिहीबार
अन्य

रमणीय सिन्धुलीगढीको ट्राफिक दुरावस्था

बिपी राजमार्गले उपत्यकालाई पूर्वी तराईसँग जोड्छ। यहीँ राजमार्गअन्तर्गत पर्छ– सिन्धुलीबजार–सिन्धुलीगढी सडकखण्ड।

यहाँको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ– चारैतिर हरियाली पहाड, नदीको कलकल आवाज। यहाँ आउने जोकोहीलाई पनि यसले लोभ्याउँछ । त्यससँगै यो क्षेत्र सफा र व्यवस्थित छ। यहाँका थुप्रै ठाउँमा पिकनिक स्पट छन्। ती ठाउँमा सेल्फीमा मस्त युवाको दृश्य देख्न सकिन्छ।

यहाँका सडक गुणस्तरीय त छन्। तर, फराकिला छैनन्। पर्यटकको आकर्षणको केन्द्र मानिने यस क्षेत्रमा सडक एक लेनको मात्रै छ। यसले सवारी चालकले कठिनाई भोग्नुपर्ने बाध्यता छ।

प्राकृतिक सौन्दर्यमा धनी यो क्षेत्रका युवामा भने चेतना देखिँदैन। स्थानीय युवाले मापसे सेवन गरी तीव्र गतिमा बाइक चलाउने र हेल्मेट नलगाउने पाइएको छ।

केही दिनअघि पूर्वी नेपालको यात्राका क्रममा सिन्धुलीबजार–सिन्धुलीगढी खन्डमा दुर्घटना भएको देखियो। बिस्तारै गुडिरहेको गाडीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । त्यो दृश्य देखेपछि म दुर्घटना भएको ठाउँनेर गएँ। गाडीमा सानो स्क्रयाच भएको थियो। मोटरसाइकल चालकले न हेल्मेट लगाएका थिए न त उनीसँग लाइसेन्स नै थियो। उनी त्यहीका स्थानीय रहेछन्।

‘हेल्मेट नलगाएर मोटरसाइकल चलाउने ? ल हिँड पुलिसकहाँ ? मैले मोटरसाइकल चालकलाई भने।

‘हामी पुलिसकहाँ किन जाने ? पुलिसले हामीलाई केही गर्न सक्दैन,’ उनले जवाफ फर्काए। उनी आफूलाई राजनीतिक दलको कार्यकर्ता भएकाले पुलिसले केही गर्न नसक्ने बताइरहेका थिए।

सोही दिन त्यही राजमार्गमै अर्काे दुर्घटना पनि भएको स्थानीयले बताए। स्थानीयका अनुसार यस क्षेत्रमा चार–पाँच वर्षयता लाइसेन्स नभएकाहरू निर्धक्कसँग मोटरसाइकल हुइँकाउँछन्। तर, प्रहरी प्रशासनले यसलाई रोक्न चासो दिएको छैन।

प्रहरीले दुर्घटनामा घाइते हुनेलाई १०–१२ हजार रूपैयाँ क्षतिपूर्ति दिलाएर पीडकलाई छाडिदिने उनीहरू बताउँछन्। लाइसेन्स नभएका, मादक पदार्थ सेवन गर्ने र तीव्र गतिमा गाडी हुइँकाउनेलाई दण्ड दिएको देखिँदैन।

प्रकाशित: ८ वैशाख २०७५ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App