४ वैशाख २०८१ मंगलबार
खेल

माइभ्याली गोल्डकप : घरेलु टिमले घर फर्कायो कास्कीलाई

इलाम– घरेलु मैदानमा अन्डर–१६ का मनिष थापा चम्किँदा माइभ्याली फुटबल क्लबले पाहुना टिम कास्की–११ लाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उद्घाटन खेलबाटै घर फर्काएको छ। मनिषका आकर्षक २ र टिम कप्तान सुवास राईको पेनाल्टी प्रहारले आयोजक माइभ्याली २ का विरुद्ध ३ गोलले विजयी बन्यो। 

बिहीबारको खेलमा माइभ्यालीका मनिषले खेलको १९औं मिनेटमा पहिलो गोल गरे। क्रस पासलाई सुन्दर सदुपयोग गर्दै मनिषले बललाई जाली चुमाउँदा घरेलु दर्शकको हुटिङ आकाशियो। विपक्षी टिमका खेलाडीले माइभ्यालीका भुवन बस्नेतलाई डि–बक्समै फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा माइभ्यालीका कप्तान सुवास राईले ५७औं मिनेटमा अर्काे गोल थपे। खेलको ६४औं मिनेटमा कप्तान सुवासकै पासमा मनिषले अर्काे सुन्दर गोल गरेपछि माइभ्याली ३–० गोलले अगाडि बन्यो।

खेलको उत्तरार्धमा कास्की–११ का खेलाडीको प्रदर्शन हेर्न लायक रह््यो। कास्कीका कप्तान उत्तम गुरुङले ६९औं मिनेटमा टाढैबाट प्रहार गरेको फ्रिकिकले सोझै जाली चुम्यो। ९०औं मिनेटमा अन्डर–१६ कै सन्दीप पौडेलले आफ्नो सुन्दर प्रहारलाई गोलमै परिणत गरेपछि कास्कीले सन्तोषको सास फेरेपनि जितका लागि पर्याप्त हुन सकेन। दुवै टिमका आधा दर्जनभन्दा बढी आकर्षक प्रहार खेर गए। खेलको पूर्वार्धमै कास्कीका रन्दीपले विपक्षीको कोर्टमा गरेको उत्कृष्ट प्रहार पोलमा ठोक्किएर फर्कियो। इलामका बल रक्षक सोजित गुरुङले नजिकैबाट र कर्नरबाट आएका निकै गहकिला प्रहारमा बचाउ गरे। माइभ्यालीका भुवन बस्नेत र कास्कीका प्रवेश दनुवारले निकै राम्रा अवसर सदुपयोग गर्न सकेनन्। उद्घाटन खेलको म्यान अफ् दि म्याच हुँदै माइभ्यालीका छिरिङ गुरुङले १० हजार नगद र चाँदीको मेडल पाए।

कास्की–११ का प्रशिक्षक किरण गुरुङले आफ्ना खेलाडीले राम्रा अवसर गुमाउँदा हार बेहोर्नुपरेको बताए। ‘हाम्रो टिमका खेलाडीको कम्बिनेसन नै ग्याप भयो,’ उनले भने, ‘तर, पाएका दर्जनौं अवसर चुके।’ उनले बिहीबारको खेल जित्ने लक्ष्यले खेलेपनि डिफेन्डर र रक्षकको कम्बिनेसन कमजोर भएको प्रतिक्रिया दिए। ‘हामीले राम्रो अभ्यास गर्न पनि पाएका थिएनौं, त्यसैले राम्रो तालमेल मिल्न सकेन,’ उनले भने। 

माइभ्यालीका प्रशिक्षक याम राईले आफ्नो टिमका खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरेपनि निकै राम्रा अवसर गुमाएको बताए। ‘हामीले सोचेकामा त शतप्रतिशत प्रदर्शन खेलाडीले गरेका हुन्, तैपनि निकै राम्रा अवसर खेर गए, आउँदो खेलमा सुधार हुन्छ,’ उनले भने। उनले घरेलु टिमले १ महिनासम्म क्लोज क्याम्पमा अभ्यास गरेकाले आउँदा टिमसँग पनि आफ्नो टिमका खेलाडीले राम्रो प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे। ‘कम्तीमा दोस्रो चरणमा पुग्ने हाम्रो लक्ष्य थियो नै,’ उनले भने, ‘अब झन् आत्मविश्वास बढेको छ।’ 

माइभ्याली अनुभवी खेलाडी सुवास राईको कप्तानीमा अन्डर–१९ र अन्डर–१६ का खेलाडीसहित मैदानमा उत्रिएको थियो। केन्याका खेलाडी बबी ओगालासहित उत्तम गुरुङको कप्तानीमा कास्की–११ प्रतिस्पर्धामा थियो। विजेता माइभ्यालीले वैशाख १० मा मनाङमस्र्याङ्दीसँग खेल्ने छ। शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच हुने आयोजकको तालिका छ। 

सदरमुकामको ठूलो टुँडिखेलमा सुरु माइभ्याली गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा)को सूचीमा सिजनको पहिलो प्रतियोगिता हो। नेपाल, भारत र बंगलादेशका ए–डिभिजनसहित १२ टिम प्रतियोगितामा सहभागी छन्। ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघ प्रतियोगितामा भिड्दैछन्। पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगिता विजेताले नगद ५ लाख, मेडल र ट्रफी पाउने छ। उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। 

प्रकाशित: ६ वैशाख २०७५ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App