coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

इलाम – इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दिउँसो २ बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली माइभ्याली फुटबल क्लब र कास्की–११ बीच प्रतिस्पर्धा हुँदैछ। माइभ्याली र कास्की–११ बीचको भेट यो पहिलो हो।

आयोजक टिम दोस्रो चरणमा पुग्ने विश्वासमा छ। खेलाडीलाई १ महिनादेखि क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएकाले पनि विपक्षीसँग आफ्ना खेलाडी कडा रूपमा प्रस्तुत हुने प्रशिक्षक याम राईले बताए। ‘कम्तीमा दोस्रो चरणमा पुग्ने हाम्रो लक्ष्य पूरा हुन्छ,’ उनले भने, ‘विपक्षी टिम पनि नयाँ नै भएकाले हामी सफल हुन्छौं भन्ने विश्वास छ।’

माइभ्यालीमा अनुभवी खेलाडी सुवास राईको कप्तानीमा अन्डर–१९ र अन्डर–१६ का खेलाडी सहभागी हुँदैछन्। अन्डर–१९ का छिरिङ गुरुङ, अन्डर–१६ का मनिष थापा पनि टिममा सहभागी छन्। अन्डर–१६ का पूर्वखेलाडी पासाङ शेर्पा र बुद्धिमान राई पनि टिममा सहभागी हुने भएकाले घरेलु टिम ढुक्क छ। ‘आफ्नै ग्राउन्डमा महिनादिनदेखि प्रशिक्षणमा भएकाले पनि हामीले राम्रो तयारी गर्न पाएका छौं,’ प्रशिक्षक राईले भने।

केन्याका खेलाडी बबीसहित उत्तम गुरुङको कप्तानीमा कास्की–११ घरेलु माइभ्यालीसँग भिड्दैछ। राष्ट्रिय टिमका मनबहादुर तामाङसहित विशन लिम्बू, अन्डर–१६ का रन्दिप पौडेल, अन्डर–१६ कै पूर्वखेलाडी सुसन गुरुङ, लक्ष्मण जिसीलगायतको टोली प्रतिस्पर्धामा उत्रिन लागेको प्रशिक्षक किरण श्रेष्ठले बताए। ‘आयोजकमाथि विजय प्राप्त गर्ने लक्ष्यसाथ मैदानमा उत्रिँदैछौं,’ श्रेष्ठले भने, ‘माइभ्यालीसँग हाम्रो भेट यो पहिलो हो।’ कास्की–११ गत सिजनमा बुटवलको तिलोत्तममा गोल्डकपमा पहिलो चरणबाट बाहिरिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सूचीमा सिजनको यो पहिलो प्रतियोगिता हो।

नेपाल, भारत र बंगलादेशका ए–डिभिजनसहित १२ टिम प्रतियोगितामा भिड्दैछन्। ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङमस्र्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघ प्रतियोगितामा भिड्ने भएका हुन्।

आयोजकले बुधबार प्रि–म्याच कन्फरेन्स गरी मैदान, प्यारापिट, खेलाडीलाई होटल व्यवस्थापनलगायत सबै तयारी गरिएको जनाएको छ। प्रतियोगिताका लागि करिब १० हजार दर्शक अटाउनेगरी बाँसको प्यारापिट निर्माण गरिएको क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। उनका अनुसार ८ लाख रुपैयाँ खर्चेर २ हजार बाँस प्रयोग गरी प्यारापिट बनाइएको छ । मैदानको एकापट्टिको पाखामा चाहिँ माटोमै प्यारापिट बनाइएको छ।

प्रतियोगिता विजेताले नगद ५ लाख, मेडल र ट्रफी पाउने छ। उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। जिल्लाकै प्रतिष्ठित माइभ्याली गोल्डकपमा दिनहुँ ४–५ हजार दर्शकको भीड लाग्ने गरेको आयोजकले जनाएको छ।

प्रत्येक दिनका म्यान अफ् दिन म्याच र प्रतियोगिताका विभिन्न विधामा वितरण गरिने पुरस्कार राशि पनि ५ हजारबाट बढाएर १० हजार पुर्याएको छ। यो पटकको प्रथम पुरस्कार राशि इलाम नगरपालिकाले प्रदान गर्ने सहमति भइसकेको छ। प्रथम पुरस्कारलाई ‘मेयर प्राइज’को नाम दिइएको छ। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ६० लाख अनुमान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७५ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App