coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

पोखरा – प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशको पहिलो नीति तथा कार्यक्रममो पर्यटन क्षेत्रलाई प्रखुमता दिने उल्लेख छ । प्रदेशको समृद्धिको मूल आधार नै ‘पर्यटन’ व्यवसाय भएको ठहर गर्दै नयाँ योजना ल्याएको प्रदेश सरकारले जनाएको छ । त्यसले प्रदेशलाई समृद्ध बनाउन सघाउने सरकारको भनाइ छ।

प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले प्रवर्द्धनात्मक गतिविधि गर्ने र पर्यटनका सम्भावित गन्तव्य पहिचान गर्ने काम भइरहेको प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रायलले जनाएको छ । मन्त्रालयका उपसचिव दिवाकर पौडेलका अनुसार सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउने गरी अहिले गन्तव्य पहिचान र सम्भावित होमस्टेबारे अध्ययन भइरहेको बताए । त्यसबाहेक सञ्चालनमा रहेका होमस्टेको अवस्थाबारे पनि अध्ययन भइरहेको उनले बताए।

‘आन्तरिक पर्यटनका लागि नयाँ गन्तव्यको रुपमा होमस्टे हुन सक्छ । होमस्टेमा आन्तरिक पाहुना पुर्‍याउन सकियो भने त्यसले गाउँलेको जीवनस्तर पनि उकास्छ,’ उनले भने, ‘त्यसैले हामीले आन्तरिक पर्यटक लक्षित गर्दै होमस्टे प्रवद्र्धन गर्न खोजेका छौं ।’ प्रदेशभित्रका ११ जिल्लामा हालसम्म सञ्चालित होमस्टे र सम्भावित होमस्टेबारे पनि अध्ययन भइरहेको उनले बताए।

उनका अनुसार होमस्टेबाहेक धार्मिक पर्यटनका लागि सम्भावित मठमन्दिर, पदयात्रामार्गको अवस्था, घुम्नलायक ठाउँको विवरण पनि मन्त्रालयले तयार पारिरहेको छ । ‘प्रदेशको समृद्धिको आधार नै पर्यटन हो । त्यसका लागि पर्यटनलाई जोड दिनुपर्छ,’ उनले भने, ‘समृद्धिको मुख्य आधारको अवस्था के छ भनेर अध्ययन भइरहेको छ । त्यसबाहेक संरक्षण गर्नुपर्ने पूर्वाधारबारे पनि अध्ययन भइरहेको छ।’

‘आन्तरिक पर्यटन वर्षको काम हामीले सुरु गरेका छौं । केही समयभित्र गन्तव्य पहिचानसहित अवस्था पत्ता लगाउने गरी प्रतिवेदन ल्याउँछौ,’ पौडेलले भने, ‘त्यसपछि बल्ल प्रवर्द्धनको काम सुरु हुन्छ । पहिचान नै नगरी प्रवर्द्धन गर्दा राम्रा र सम्भावित गन्तव्य छुट्न सक्छन् । त्यसैले पहिचानको काम भइरहेको छ ।’ पोखरामा आन्तरिक पाहुनाको आगमन यत्ति नै संख्यामा हुन्छ भनेर कसैले तथ्यांक नराखेपनि वर्षमा करिब ६ लाख पाहुना पोखरा भित्रिने अनुमान छ।

२०२० लाई छिमेकी देशबाट पर्यटक आकर्षित गर्न ‘छिमेकी देश पर्यटन वर्ष’को योजना प्रदेश सरकारले नीतिमा छ । पर्यटन बोर्डका अनुसार अहिले नेपालमा दुई छिमेकी (भारत र चीन)को पाहुनाको योगदान ठूलो छ । नेपालमा चिनियाँ पाहुनाको संख्या वार्षिक एक लाखभन्दा बढी छ । भूकम्पअघि त्यो संख्या वार्षिक करिब ७० हजार थियो । भूकम्पको वर्ष घटेर करिब ५० हजारमा झरेको थियो । तर पछिल्लो दुई वर्षको आगमन करिब एक लाख कटेको छ । यी सबै चिनियाँ हवाईमार्गबाट आएका हुन्।

स्थलमार्ग खुला हुन्थ्यो भने यो आगमन करिब दोब्बर (दुई लाख) हुने व्यवसायीको अनुमान छ । आगमन दोब्बर बनाउन स्थलमार्गको पहुँच नभएको बोर्डको भनाइ छ। चिनियाँ पर्यटकलाई अहिले नेपाल आउन स्थलमार्ग सहज छैन । त्यस्तै भारतीय पाहुनाको आगमन पनि वर्षमा करिब दुई लाख हुने बोर्डको अनुमान छ । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाका अनुसार नेपालको पर्यटन आगमनमा करिब २० प्रतिशत हिस्सा भारतीयको रहेको छ । उनका अनुसार वर्षमा करिब एक लाख भारतीय पर्यटक हवाईमार्ग हुँदै नेपाल आउँछन् ।
त्यसबाहेक स्थलमार्गबाट भित्रिनेको कुनै आधिकारीक तथ्यांक छैन।

तरपनि स्थलमार्ग हुँदै भित्रिनेको संख्या पनि एकलाख भन्दा बढी हुने अनुमान छ । ‘स्थलमार्ग हुँदै कम्तिमा एकलाख भन्दा बढी भारतीय पर्यटक आउने अनुमान छ,’ थपलियाले भने, ‘गाडीबाट आउने भारतीयको पनि तथ्यांक राख्ने हो भने नेपालको पर्यटक आगमन संख्या माथि पुग्छ । तर, अहिलेसम्म स्थलमार्गबाट भित्रिने भारतीयको तथ्यांक नै छैन । हवाइमार्गबाट आउनेलाई मात्र गणना गरेका छौं ।’ ‘दुई छिमेकी मुलुका पर्यटनबाट पोखराले ठूलो राहत लिएको छ,’ थपलियाले भने, ‘ती मुलुकमा अझै प्रवर्द्धन गर्ने र पहुँच बढाइदिने हो भने आगमन थपिन्छ।’

प्रदेश सरकारले भारत र चीनमा ‘छिमेकी देश पर्यटन वर्ष’को प्रवर्द्धन गर्ने योजना बनाएको मन्त्रालयका उपसचिव पौडेलले बताए । ‘चिनियाँ र भारतीय पर्यटक पर्याप्त मात्रामा भित्र्याउन सकियो भने पनि त्यसले प्रदेश समृद्धिको आधार बढाउँछ,’ उनले भने, ‘छिमेकी मुलुकमा गरेको प्रवद्र्धनले अन्य मुलुकका पर्यटक पनि आकर्षण गर्छ ।’ त्यसबाहेक प्रदेश सरकारले २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने पनि बताएको छ । ‘हामीले प्रवद्र्धनमा जोड दिने हो त्यसो भयो भने पाहुना अभाव हुँदैनन । पाहुना आउँदा प्रदेशको आम्दानी बढाउँछ।

त्यही आम्दानी नै प्रदेशको समृद्धिको आधार बन्नेछ,’ उनले भने।बोर्डका प्रमुख थपलिया अहिलेसम्म केन्द्र सरकारको भरमा मात्र प्रवर्द्धनात्मक गतिविधि भइरहेका बेला प्रदेश सरकारले समेटेका नीतिबाट थप पर्यटन प्रवर्द्धन हुने बताउँछन् । ‘प्रदेश सरकारले यहाँभित्रका सम्भावना र चुनौती पहिचान गर्नुपर्छ । त्यसो भयो भने प्रवर्द्धन गरेर प्रदेशका गन्तव्यमा पाहुना भित्रयाउन सकिन्छ,’ थपलियाले भने, ‘अहिलेसम्म केन्द्र सरकारलाई देखाएर पन्छिने गरिएको थियो । अब त्यो अवस्था रहन्न।’

अहिलेसम्म बोर्ड र निजी क्षेत्रले गर्दैै आएको काममा अब महत्वपूर्ण साझेदारको रुपमा प्रदेश सरकार थपिने भएकाले प्रवर्द्धन प्रभावकारी हुनसक्ने उनले बताए । ‘अब प्रवर्द्धनमा प्रदेश सरकारले पनि बजेट दिनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा जुट्न पनि सहयोग पुग्छ,’ उनले भने, ‘अबको प्रवर्द्धन अझै प्रभावकारी हुनेछ।’

प्रदेश सरकारले पर्यटन प्रवर्द्धन, पशुपालन, अर्गानिक उत्पादन, जडीबुटी खेती, संकलन र प्रशोधन उद्योग स्थापना गर्दै ग्रामीण जीवन पद्धतिको विकास गरी पर्यापर्यटनमा जोड दिइने योजना तय गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक–सांस्कृतिक क्षेत्रलाई पनि गन्तव्यस्थलको रुपमा स्थापित गर्ने नीतिमा समेटेको छ ।

माथिल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्री उपत्यकाको पर्यटन पूर्वाधारमा जोड दिने प्रदेश सरकारको नीतिमा छ । पोखरालाई नेपालका अन्य प्रमुख सहर र प्रादेशिक राजधानीसँग हवाई मार्गद्वारा जोड्न पहल गर्ने पनि सरकारी नीतिमा उल्लेख छ ।पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष भरतराज पराजुली पर्यटन क्षेत्र बल्ल्तल्ल नीतिमा समेटिएको बताउँछन्।

‘प्रदेश सरकारले ल्याएको यो नीतिले बल्ल पर्यटन व्यवसायलाई महत्व दिएको बुझेका छौं । हामीले बारम्बार यसबारे सरकारलाई झक्झकाइ रहेका थियौ,’ पराजुलीले भने, ‘खर्बाै रुपैयाँ लगानी भएको पर्यटन क्षेत्रको महत्व सरकारले बुझेको अनुभव भएको छ ।’ निजी क्षेत्रसँग मिलेर अघि बढेको खण्डमा सरकारले ल्याएको यो नीति सफल हुने उनले बताए।
 

प्रकाशित: ५ वैशाख २०७५ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App