७ वैशाख २०८१ शुक्रबार
अर्थ

खानेपानीलाई उठ्यो पौने ४ करोड

इलाम – सदरमुकामका लागि सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि उपभोक्ताबाट पौने ४ करोड रुपैयाँ संकलन भएको छ। आयोजनामा लाग्ने कुल ८५ करोडको बजेटमध्ये लागत सहभागिताअनुसार उपभोक्ताबाट उठाउनुपर्ने ४ करोड २७ लाख रुपैयाँ रहेकामा ३ करोड ८० लाख रुपैयाँ उठिसकेको हो।

खानेपानी उपभोक्ता समितिले यहाँका २ हजार ८ सय हाराहारी धारामध्ये २ हजार ५ सयबाट रकम संकलन भइसकेको जनाएको छ। प्रत्येक धाराको भागमा परेको १५ हजार र समितिको सदस्यताको थप २ सय रुपैयाँ संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जनाए। ‘रकम संकलन धमाधम भइरहेको छ,’ उनले भने, ‘आयोजनाका लागि उपभोक्ताबाट उठाउनुपर्ने रकमको लक्ष्य अब केही दिनभित्रमा पुग्ने आशा छ।’

उपभोक्ता समितिले यहाँका प्रत्येक व्यक्तिगत धाराबाट १५ हजार र सरकारी, गैरसरकारी संघ–संस्था, होटल, स्कुल, कलेजलगायतबाट त्योभन्दा बढी रकम संकलन गर्ने निर्णय गरेको थियो। ‘अहिलेसम्म व्यक्तिगत धाराको रकम संकलन हुँदैछ, सरकारी तथा गैरसरकारी संघ–संस्था, होटल, स्कुल, कलेजलगायतबाट मात्र रकम संकलन गर्न बाँकी रहेकाले अब धेरै दिन लाग्दैन,’ अध्यक्ष थापाले भने। आयोजनाका लागि अहिले इलाम नगरपालिकाअन्तर्गत पानी उपभोग गरिरहेका धारा मात्र नभई घडेरीहरूबाट समेत रकम संकलन भइरहेको छ।

एसियाली विकास बैंक (एडिबी)को ७० प्रतिशत अनुदान, इलाम नगरपालिकाको २५ प्रतिशत ऋणको जमानत र उपभोक्ताबाट ५ प्रतिशत लगानीमा आयोजना सञ्चालन हुन लागेको हो। उपभोक्ताबाट रकम संकलन गरी टंकीका लागि जमिन व्यवस्थापन भएपछि नगरपालिकाले नगर विकास कोषबाट लिने ऋण रकमको प्रक्रिया सुरु हुने उनले बताए। ‘रकम संकलन भइसक्न लागेको छ, अब केही दिनमा जमिन व्यवस्थापनको पनि अन्तिम काम हुनेछ,’ थापाले भने, ‘५ मध्ये ३ स्थानको टंकीका लागि जमिन व्यवस्थापन भयो, अब एउटा बाँकी छ।’

इलाम नगरपालिकाको बरबोटे, महेन्द्ररत्न बहुमुखी क्याम्पस परिसर, आदर्श मावि परिसर र अहिले फिल्टर टंकी रहेको चारखाँदेमा जमिन व्यवस्थापन भइसकेको छ। अब साविक वडा ३ मा रहने टंकीको जग्गा खरिदप्रक्रियामा जाने उनले बताए। ‘रकम संकलन र जग्गा व्यवस्थापनको काम सकिएपछि खानेपानी विभाग र एडिबीको टोली स्थलगत निरीक्षणमा आउने छ, त्यसपछि टेन्डरप्रक्रिया अघि बढ्ने छ,’ अध्यक्ष थापाले भने। ५० करोड रुपैयाँभन्दा माथिको आयोजना भएकाले यसमा ग्लोबल टेन्डर आह्वान गरिने उनले जनाए।

आयोजना सुरु गर्नुपूर्वको काम बाँकी नै रहेकाले कहिलेसम्ममा आयोजनाको भौतिक काम सुरु हुने भन्ने यकिन छैन। तर, सकेसम्म चाँडो काम थाल्नेगरी तयारी भइरहेको उपभोक्ता समितिको भनाइ छ। ‘आयोजनाको काम चैत मसान्तसम्ममा सुरु गर्ने लक्ष्य रहेपनि पूरा भएन,’ उनले भने, ‘तर, अब चाँडै नै सुरु गर्ने तयारीसाथ अघि बढेका छौं।’

आयोजना सम्पन्न भएपछि सदरमुकामलाई आउँदो २० वर्षसम्म चौबीसै घण्टा खानेपानी पुग्ने लक्ष्य राखिएको छ। अहिले सदरमुकाममा २ हजार ७ सय ९८ धारा छन्। घडेरीसहित करिव ३ हजार उपभोक्ताबाट रकम संकलन गरिँदैछ। उपभोक्ताले अहिले १५ हजार रुपैयाँ सहयोग गरेवापत् आयोजनाले घर–घरमा धारा निःशुल्क जोडिदिने, बढीमा १२ मिटर पाइप पनि निःशुल्क गरिदिने उपभोक्ता समितिको प्रतिबद्धता छ। १ वर्षसम्मको मर्मतको जिम्मा पनि आयोजनाले नै लिने भएकाले उपभोक्तालाई सहुलियत नै हुने समितिको भनाइ छ।

टेक कन्सल्ट प्रालि र इन्टिग्रेटेड नेपाल प्रालिले गत असोजमा आयोजनाको विस्तृत अध्ययन गरेका थिए। करिव ३० किलोमिटरमा रहेको गिताङ खोलाबाट १६ तथा मेवा र रातेखोला प्रतिसेकेन्ड १०–१० लिटर पानी सदरमुकाम ल्याउने योजनासहित काम हुन लागेको हो। नगरपालिकाकै सुम्बेकबाट ४ लिटर थपिएर ४० लिटर पानी सदरमुकाम ल्याइनेछ। आयोजना सम्पन्न भएपछि सदरमुकाममा चौबीसै घण्टा खानेपानी आपूर्ति हुनेछ। अहिले प्रतिसेकेन्ड ८ देखि १० लिटर खानेपानी आइरहेपनि उपभोक्ताको माग २२–२३ लिटरको छ।

आर्थिक वर्ष २०७७–०७८ मा सम्पन्न गर्नेगरी आयोजनाको काम सुरु हुनेछ। आयोजना सम्पन्न भएपछि इलाम नपाको वडा ६, ७, ८ र ९ का बासिन्दा लाभान्वित हुनेछन्। आयोजनाको सुरुको वर्ष यहाँका २ हजार ८ सय ९६ घरका २१ हजार ४ सय ३३ उपभोक्तालाई दिनको सय लिटरका दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ। २० वर्षपछि (सन् २०३९) यही आयोजनाको पानी उपभोग गर्नेको संख्या ३० हजार ३ सय २५ पुग्ने अनुमान छ। सदरमुकामका घरका धारामा अहिले १ दिन बिराएर डेढ घन्टामात्र पानी आइरहेको छ। पानी अभावले उपभोक्ता सास्ती खेप्न बाध्य छन्।

प्रकाशित: ४ वैशाख २०७५ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App