७ वैशाख २०८१ शुक्रबार
खेल

पाँचथर गोल्डकपको उपाधि झापालाई

पाँचथर– साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाले फिदिममा सम्पन्न दोश्रो पाँचथर गोल्ड कपको उपाधि चुमेको छ। आइतबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्टाइकर समेत रहेका नवयुग श्रेष्ठको दुई गोल प्रेरित झापाले न्यू स्टार क्लव सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

फाइनल खेलमा सुनसरी विरुद्ध झापाका खेलाडी हाबी भएका देखिन्थे। निरन्तर दबाव सृजना गरेका झापाका खेलाडीले सनुसरीलाई गोल गर्ने मौका नै दिएनन्। सुनसरीले पाएका केही मौका गुमाउँदा उपविजेतामा चित्त बुझाउन पर्यो। खेल सुरु भएको ३ मिनेटमै नवयुगले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। बुद्ध चेम्जोङको पासलाई गोलकिपरलाई विट गर्दै नवयुगले गोल गरे। खेलको ३३ औँ मिनेटमा सुनसरीका निशान लिम्बुले गोल फर्काउदै बराबरी गरे। हेमन्त थापामागरको पासलाई उनले जाली चुमाएका थिए। यो गोलनै सुनसरीको अन्तिम गोल बन्न पुग्यो। पहिलो हाफमा १–१ गोलको बराबरी गरेपनि दोश्रो हाफमा झापाले ३ गोल गर्यो।

खेलको ४७ औँ मिनेटमा पुष्प मादेनले गोल गर्दै झापालाई अग्रता दिलाए। विशाल राईको क्रसलाई जाली चुमाएका थिए। ५७ औँ मिनेटमा पुजन ओभरकोटिले गोल गरे। कर्नर प्रहारलाई हेडगर्दै पुजनले गोल गरेका थिए। खेलको ७५ औ मिनेटमा डिफेण्डरको कमजोरीलाई फाइदा उठाउँदै नवयुगले गोल थप्दै जितलाई निक्कै फराकिलो बनाए। ५६ औ मिनेटमा सुनसरीका टंक बस्नेतले गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर फर्किएको  थियो। ६१ औं मिनेटमा सुनसरीका दिपक गुरुङको प्रहार पनि पोलमा ठोकिएको थियो। नवयुगले झापाबाट खेलेपनि आर्मीका अनुभवी  खेलाडीहरुले सुनसरीबाट खेलेका थिए।  आफ्ना खेलाडीले राम्रोसँग खेलेको झापाका प्रशिक्षक भुपेन लिम्बुले बताए। खेल्दा खेल्दै हार भएको सनुसरीका प्रशिक्षक श्याम मानन्धरले प्रतिक्रिया दिए। सेमीफाइलनमा झापाले रेडहर्ष इलाम र सुनसरीले मिसन युनाईटेड ताप्लेजुङलाई हराएको थियो। 

प्रतियोगितामा नवयुग उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट खेलाडी हुँदै उनले मोटरसाइकल पाए। विजेता झापाले ३ लाख ५५ हजार ५ सय ५५ रुपैंया र ट्रफि उचाल्यो। उपविजेता सुनसरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउन पर्यो। प्रतियोगिताको उच्च गोलकर्ता पनि नवयुग नै भए। उनले प्रतियोगिता अवधिमा ६ गोल गरेका थिए।

फाइनलको म्यान अफ दि म्याच भने सनुसरीका हेमन्त भए।  प्रतियोगिता पाँचथर क्लबको आयोजनामा चैत २५ गतेबाट सुरु भएको थियो। प्रतियोगितमा आठ टिम सहभागी थिए।

 

प्रकाशित: २ वैशाख २०७५ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App