६ वैशाख २०८१ बिहीबार
राजनीति

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

इलाम महोत्सव उद्घाटन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गर्दै इलामका बालिका। तस्बिर : भीम चापागाईं/नागरिक

इलाम – उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २००औं वर्षको अवसरमा आयोजित इलाम महोत्सव शनिबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रदेश–प्रदेश र स्थानीय तहबीच समृद्धिको प्रतिस्पर्धा हुनु आवश्यक रहेको पनि बताए। ‘सबैले विकास र समृद्धिको यात्रा तय गर्नुपर्छ तर महŒवपूर्ण र स्वच्छ प्रतिस्पर्धाका आधारमा,’ उनले भने, ‘सबै नेपालीलाई सुखी बनाउने हामी सबैको एजेन्डा हुनुपर्छ।’

उनले लामो राजनीतिक संघर्षपछि बितेको २०७४ साल ‘गौरवमय निर्वाचनको वर्ष’ भएर बितेको बताए। ‘अबको समय आर्थिक समृद्धिको हो, त्यतैतिर अघि बढ्नुपर्छ,’ उनले भने। इलामले देशलाई योगदान गर्ने विशिष्ट राजनीतिक व्यक्तित्व जन्माएको भन्दै उपराष्ट्रपति पुनले यो जिल्लाले देशको समृद्धिमा योगदान गरेको बताए।

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको हो। तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गरेका हुन्।

महोत्सव उद्घाटन अवसरमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवालगायतको सहभागिता थियो। सुगौलीको सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो।

प्रकाशित: १ वैशाख २०७५ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App