coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

लेखापाल नहुँदा सामान्य र नियमित खालका सेवा लिँदै बेसीसहर नगरपालिकाका सेवाग्राही । तस्बिर : किसान संगीत

लमजुङ – लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

नगरपालिकाका लेखापाल गएको पुसमा खानेपानी कार्यालयमा सरुवा भएपछि उनको सट्टामा लेखा अधिकृत वा लेखापाल नहुँदा नगरपालिकाको नियमित काम प्रभावित बन्नुका साथै सेवाग्राहीलाई सास्ती भएको हो। 

लेखापाल नभएपछि लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा निकै समस्या हुँदै आएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । भौतिक तथा पूर्वाधार, शिक्षा शाखा, स्वास्थ्य शाखा लगायतमा योजना सम्झौता, पेश्की वा योजनाका किस्ता निकासा, सामाजिक सुरक्षा रकम निकासा, कर्मचारी तलब निकासा आदि प्रभावित बनेको उनी बताउँछन् । नगरपालिका स्रोतका अुनसार कार्यरत लेखापाल रमेश बस्नेत पुसमा खानेपानी कार्यालयमा सरुवा भएका हुन् । उनको सट्टामा अन्य लेखापाल नभएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले बस्नेतलाई नै नगरपालिकामा पुनःकाजमा खटाएको थियो। सातामा ३ दिन नगरपालिकाको काम हेर्ने गरी काजमा रहेपनि नियमित काम कारवाहीमा समस्या भइरहेको नगरप्रमुख अर्यालले बताए। लेखा जस्तो महत्वपूर्ण शाखामा नियमित उपस्थिति नहुँदा सम्बन्धित सबैलाई मर्का परेको उनी स्वीकार गर्छन्।

चैत लागेसँगै बस्नेतले समय नदिएको र पछिल्लो समयमा विरामी भएकाले उपचारका लागि बिदा बस्नु परेपछि सम्पूर्ण कामकाज ठप्पै भएको प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले बताए । नगरपालिकाका कर्मचारीको तलबको निकासा समेत रोकिएको उनी बताउँछन् । सामाजिक सुरक्षाको रकम समयमै वितरण गर्न नसक्दा गुनासो बढेकाले एकसाता अघि बस्नेतलाई नै हारगुहार गरेपछि एकदिन आएर सो रकम मात्रै निकासा गराइएको तिवारीले बताए । कार्यालयमा नियमित लेखापाल नहुँदा तलब बुझ्न नपाए सँगै कक्षा ८ को परिक्षा सञ्चालन खर्च समेत निकासा गर्न नपाउँदा समस्या भएको शिक्षा शाखा प्रमुख रामकृष्ण त्रिपाठीले बताए।

लेखापाल नहुँदा कतिपय सेवाग्राही कार्यालयमा आउँदै फर्किन बाध्य छन् भने कतिपयले लेखापाल नभएको थाहा पाइसकेकाले लेखापाल आउने बाटो हेरेर बसेको नगरपालिकाका कर्मचारीहरू बताउँछन्। अहिले नियमित खालका सेवा दिइरहेको उनीहरुको भनाई छ । कतिपय सेवाग्राहीले कार्यालयमा वा मोवाईलमै फोन गरेर लेखापाल आए, नआएको वा कहिले आउने जस्ता जिज्ञासा सोधेर हैरान बनाउने गरेको समेत कर्मचारीले बताए। 

बेसीसहर नगरपालिकाका लागि गत भदौ–असोज महिनामा यातायात व्यवस्था कार्यालय सवारी गण्डकीबाट अर्जुन पौडेललाई लेखाअधिकृतका रुपमा सरुवा गरिएकोमा उनी कार्यालयमा हाजिरै नभएको नगरपालिका स्रोतले जनाएको छ। उनको सट्टामा लेखापाललाई बेसीसहर पठाउने तयारी भएको भन्ने सुनिएको तर त्यसको आधिकारिक जानकारी नआएको पनि बताइएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका कार्यालयमा लेखाअधिकृत वा लेखापाल व्यवस्थापन गर्ने भएकाले धेरैपटक सो कार्यालयमा कुरा राखिए पनि कार्यान्वयन नभएको नगरप्रमुख अर्यालले बताए। चैत २८ देखि जिल्लाका धेरै कार्यालय नरहने प्रावधान सँगै ति कार्यालयका लेखापालहरू जगेडामा रहेकाले तिनलाई नगरपालिकामा खटाउन सकिने भएपनि त्यस विषयमा कोलेनिकाले कुनै चासो नदिनुको सहस्य आफूले बुझ्न नसकेको पनि अर्यालले बताए।

प्रकाशित: १ वैशाख २०७५ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App