६ वैशाख २०८१ बिहीबार
अन्य

बृहत् गुरुयोजना बनाउन लागेका छाै‌

विन्दु पुडासैनी सिंखडा
उपप्रमुख, कागेश्वरी मनहरा नगरपालिका

जनप्रतिनिधिका हैसियतले के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर काम थालेसँगै धेरै परिर्वतन त ल्याउन सकेका छैनौं । किनकि नगरपालिकासँग सीमित स्रोतसाधन छन्, जसबाट आमूल परिवर्तन गर्न सम्भव छैन । यद्यपि हाम्रोतर्फबाट जनतालाई सरल र सहज सेवा दिने प्रयत्न गरिराखेका छौं । नगरक्षेत्रमा रहेका कच्ची सडकलाई ग्राभेलिङको काम गर्‍यौं ।

नगरपालिकाको अगुवाइमा विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरिराखेका छौं । वडा नं ५ को गागलफेदीमा बर्थिङ सेन्टर स्थापना गरेका छौं । त्यसयता गर्भवती महिलाहरूले सहजरूपमा सुत्केरी सेवा पाइराखेका छन् । बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलाका लागि एक हजार रूपैयाँ यातायात खर्चसमेत उपलब्ध गराइरहेका छौं । अन्य विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि सारेका छौं ।
जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न धेरै नै अप्ठेरोे छ । लामो समयदेखि अल्झिएका विकास निर्माणका कामले गति लिन सकेका छैनन् । जनताले जादूको छडीमा जस्तै काम होस् भन्ने चाहान्छन् । तर, हाम्रो काम गर्ने शैली अत्यन्तै पुरानो ढर्राको छ । त्यसैले काम गर्न समस्या भइराखेको छ।

अघिल्लो आर्थिक वर्षमा अघि सारेका योजनाहरू अन्तिम चरणमा पुगेका छन् । पुराना योजनाको समीक्षा र  पुनर्मूल्यांकन गरिरहेका छौं । नयाँ योजनालाई उपभोक्ता समितिमार्फत तीव्र गतिमा अगाडि बढाइरहेका छौं । अहिले नगरक्षेत्रको बृहत् नीति निर्माण तथा गुरुयोजना बनाउन कस्सिएर लागेका छौं । अबको केही समयपछि मात्रै जनताले महसुस गर्ने काम देखिने छन् ।

जनप्रतिनिधिहरू कार्यालयभन्दा धेरै समय औपचारिक कार्यक्रममा जानुहुन्छ रे नि ?
जनताले आयोजना गरेका औपचारिक कार्यक्रममा नजाँदा जनप्रतिनिधि ‘ठूलो भयो’, ‘भाउ खोज्यो’ भन्ने गुनासा आउँछन् । तर, कार्यक्रममा गयो भने जनप्रतिनिधि कार्यालयमा भेट्टिएनन् भन्ने अर्काे गुनासो आउने गरेको छ । हामीले जनतालाई अनावश्यक कार्यक्रममा नबोलाउनुस् भन्दै आइराखेका छौं ।

नगरपालिका र वडा कार्यालय नै प्रत्यक्ष सहभागिता हुने कार्यक्रममा जानै पर्ने बाध्यता हुन्छ । हामी जनताबाटै निर्वाचित भएर स्थानीय तहमा नै कार्यक्रम गर्ने भएकाले जनताको घरदैलोमा पुग्नैपर्ने हुन्छ । त्यसैले आवश्यक पर्ने कार्यक्रममा मात्रै सहभागिता जनाउँदै आइराखेका छौं ।

तपाईं न्यायिक समिति संयोजक हुनुहुन्छ ? कति मुद्दा आएका छन् ?
जनप्रतिनिधि भएर आउनेबित्तिकै न्यायिक समिति कसरी गठन गर्ने भन्ने कुरामा नै अन्योल रह्यो । जसको कारणले झन्डै तीन महिनासम्म न्यायिक समिति गठन गर्ने सकेनौं । अहिले न्यायिक समिति गठन गरेर काम गरिरहेका छौं । न्यायिक समितिमा ७२ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये १५ वटाको निरूपण÷फैसला गरिसकेका छौं । अधिकांश मुद्दा जग्गा विवाद, साँध सिमाना विवाद, मोही–तहसिल विवाद लगायतका आउने गर्छन् । त्यस्ता मुद्दामा मालपोत कार्यालय र नापी कार्यालयसँग कागजात मगाएर सल्टाउने प्रयास गरिरहेका छौं ।

कार्यालयमा कस्ता मुद्दा आउँछन् ?
संविधानले न्यायिक समितिलाई देवयानी खालका मुद्दा मात्रै हेर्ने अधिकार प्रत्यायोजन गरेको छ । विशेषगरी चार किल्ला सीमाना विवाद, जग्गा मिचेको, बहुविवाह, सम्बन्धविच्छेद, झै–झगडाको मुद्दा आइराखेका छन्।

नगरपालिकामा आएका मुद्दामध्ये ५० प्रतिशत मेलमिलापबाटै टुंग्याउने प्रयास गरिराखेको छु । राजनीतिक क्षेत्रबाट आएका जनप्रतिनिधिलाई न्यायिक समितिमा बसेर काम गर्न केही अप्ठेरो हुने रहेछ । नगरपालिकामा कानुन पढेका आएका जनप्रतिनिधि र कानुनी सल्लाहकारसँग समन्वय गरेर न्यायिक समितिलाई अगाडि बढाइरहेका छौं । सरकारले न्यायिक समितिको लागि तालिम तथा अभिमुखीकरणलगायत कार्यक्रम गर्नु पर्ने देखिन्छ ।
 
अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्काे देखिन्छ, तपाईंको नगरपालिकामा कस्तो छ ?
मेयरसा’प र मबीच कुनै आन्तारिक विवाद छैन । हामी दुवै जना एउटै पार्टीबाट प्रतिनिधित्व गर्छाैं । त्यसैले पनि केही कुरामा मतभेद छैन । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि एकआपसमा समन्वय गरेर नै जाने गर्छाैं । मेयरसा’प सार्वजनिक कार्यक्रममा गएको बेला म कार्यालयमा नै बसेर काम गर्छु । हरेक कुरामा सरसल्लाह गरेर अघि बढिरहेका छौं ।

नगर क्षेत्रमा भइरहेका विकास निर्माण योजनाका अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन् ?  
नगरपरिषद्बबाट अघि सारेका योजना समयमा नै निर्माण भइरहेका छन् । तर, संघीय सरकार मातहत अघि बढेका योजना समयमा नै निर्माण भएको देखिँदैन । ठेकेदार कम्पनीको ढिलासुस्ती, स्थानीयको अवरोध, सरकारको बेवास्तालगायत कारणले विकास निर्माणका कामले गति लिन सकेका छैनन् । समयमा नै विकास निर्माणको काम नहुँदा जनताले सास्ती भोग्नुपरेको छ । हामीले समयमा विकास निर्माणको कामलाई अघि बढाउन बारम्बार अनुरोध गरेका छौं । तर, व्यावहारिक रूपमा काम अघि बढ्नै सकेको छैन।
तपाईको नगरक्षेत्रमा ग्रामीण र सहरी दुवै छन्, कस्ता योजना अघि सार्नुभएको छ ?
कागेश्वरी मनहरा नगरपालिकामा ९ वटा वडा छन् । वडा नं १ देखि ४ सम्म ग्रामीण भेगमा पर्छ । पूर्वतर्फ मनोहरा फाँट र पश्चिमतर्फ बागमती फाँट कृषि उत्पादनका लागि प्रख्यात छन् । यहाँ आलु, गोलभेडासँगै मौसमी तथा बेमौसमी तरकारी तथा अन्य कृषि उपज उत्पादन हुँदै आइराखेको छ । कृषकका लागि तालिम तथा सीपमूलक कार्यक्रम अघि सार्दै आएका छौं । त्यस्तै गरी सहरी क्षेत्रमा व्यवस्थित सडक, खानेपानी, व्यवस्थित बसोबास तथा फोहोरमैला व्यवस्थापनको काम गर्दै आइराखेका छौं ।

तपाईंको नगरक्षेत्रमा सडक लथालिंग छन्, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
नगरक्षेत्रमा ठूलासाना गरेर १४ मुख्य सडक रहेका छन् । नगरक्षेत्रमा रहेका अधिकांश सडक लथालिंग र अस्तव्यस्त देखिन्छन् । वर्षात्को समयमा सडक हिलाम्मे हुनुका साथै सडकमा पानी जम्ने समस्या देखिन्छ।

नगरपालिकाले सडक ग्राभेलिङलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । संघीय सरकार मातहत रहेका योजनालाई समयमा निर्माण सम्पन्न गर्नका लागि दवाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइराखेका छौं । अबको पाँच वर्षभित्र योजना बनाएर नगरक्षेत्रका सम्पूर्ण सडक व्यवस्थित गर्ने लक्ष्य राखेका छौं ।

कस्तो नगरक्षेत्र बनाउने सपना बोक्नुभएको छ ?
कागेश्वरी मनहरा क्षेत्रलाई पर्यटकीय हब बनाउने लक्ष्य सहित गुरुयोजना बनाइरहेका छौं । नगरक्षेत्रमा व्यवस्थित सहर र व्यवस्थित बसोबास बनाउने योजना अघि सारेका छौं । अबको केही समयभित्रै बृहत् गुरुयोजना बनाएर नगरक्षेत्रलाई समृद्ध विकासको गतिमा अघि बढाउने छौं ।

प्रस्तुतिः  हिमाल लम्साल

 

प्रकाशित: २६ चैत्र २०७४ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App