coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नेतृत्व लिने कसले ?

काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएको एक वर्ष हुन लाग्दा पनि विश्वसम्पदामा सूचीकृत काष्ठमण्डप पुनर्निर्माण प्रकृया अघि बढ्न सकेको छैन ।स्थानीयवासीको पहलमा सुरु भएको पुनर्निर्माणमा भाजो हालेका जनप्रतिनिधि स्वयंले समेत काष्ठमण्डप पुनर्निर्माणलाई बेवास्ता गरिरहेका छन्।

महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्य सहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचित भए लगत्तै मेयर शाक्यले काष्ठमण्डप महानगरले पुनर्निर्माण गर्ने घोषणा गरे । तर, उनको घोषणा घोषणामै सीमित भएको छ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पले काष्ठमण्डप भत्काएको थियो । काष्ठमण्डप भत्केको दुई वर्ष पुग्दा पनि पुनर्निर्माणमा सरकारलाई चासो छैन । सरकारले पुनर्निर्माणमा चासो नदिएपछि गत वैशाखमा स्थानीयले काष्ठमण्डप बनाउने घोषणा गरेका थिए।

भूकम्पले भत्काएको दुई वर्षको पुगेका बेला पुनर्निर्माणमा अघि सरेका स्थानीयवासीलाई महानगरले सहयोग गर्नुको साटो उल्टै असहयोग गर्‍यो, आफै बनाउने घोषणा गरेर । तर, अहिलेसम्म न महानगरले पुनर्निर्माण ग¥यो न त अरु कसैलाई बनाउन नै दियो ।स्थानीयवासीले दुई वर्षमा काष्ठमण्डप पुुनर्निर्माण गर्ने उद्घोष गरेका थिए । त्यसका लागि काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान संस्था समेत गठन भयो।

सरकारले काष्ठमण्डपको पुनर्निर्माण गर्ने छाँट नदेखाएपछि काष्ठमण्डप पुनर्निर्माणकै लागि संस्था खडा गरिएको थियो । जीवित देवी कुमारीलाई साक्षी राखेर गरिएको प्रतिबद्धता अनुसार काम भएको भए हालसम्म काष्ठमण्डप पुनर्निर्माणको काम आधा सकिन्थ्यो।

स्थानीयको अभियानमा अवरोध गरेको महानगरले केही नगर्दा हाल काष्ठमण्डप रहेको स्थान उराठलाग्दो भएको छ । काष्ठण्डमप रहेको जमिनलाई पाल र टिनले ढाकिएको छ । काष्ठमण्डप बनाउन कसले नेतृत्व लिने भन्ने अन्यौल कायमै छ । महानगर र यसका नेतृत्वकर्ताले काष्ठमण्डप बनाउन कुनै पहल गरेका छैनन्।

काष्ठमण्डप पुनर्निर्माण अभियान संस्थाका अध्यक्ष विरेन्द्रभक्त श्रेष्ठका अनुसार सुरु भएको काम गर्न पाएको भए अहिले धेरै काम अघि बढिसकेको हुने थियो । ‘काम थालेपछि ताला लगाएर महानगरले काम गर्न दिएन्,’ उनले भने, ‘महानगरले पनि केही गरेन।’

निर्वाचित भएर आएपछि मेयर शाक्यले सार्वजनिक कार्यक्रममा काष्ठमण्डप आफैंले बनाउने भनेर भाषण गर्ने बाहेक अरु केही नगरेको आरोप उनको छ । त्यो बेला मेयर शाक्यले जनप्रतिनिधि नभएको बेला भएको सम्झौता मान्य नहुने तथा काष्ठमण्डप महानगर आफैँले बनाउने बताएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेलले हस्ताक्षर गरेर काष्ठमण्डप पुनर्निर्माणको जिम्मा २०७४ वैशाख २९ गते अभियान संस्थालाई दिइएको थियो।

चार पक्ष बसेर गरेको सम्झौतापत्रमा केही विवाद आएमा प्राधिकरणको निर्णय अन्तिम हुने उल्लेख छ । विवाद आएर पुनर्निर्माणको जिम्मा लिएको वर्ष दिन पुग्नै लाग्दा पनि प्राधिकरणले समेत चासो दिएको छैन । तर, प्राधिकरणका अधिकारी भने चासो नदिएको कुरा स्वीर्कादैनन् । कार्यप्रगती शून्य हुँदापनि प्राधिकरण काष्ठमण्डप बारे काम भइरहेको दाबी गर्छ।

‘काष्ठमण्डप पुनर्निर्माणमा केही काम हुँदै नभएको होइन,’ प्राधिकरणका प्रवक्ता समेत रहेका यमलाल भुषालले भने, ‘क्षेत्रगत प्रगतीचाँही शून्य रहेको छ, नीतिगत रूपमा भने काम धेरै भएको छ ।’ उनका अनुसार स्थानीयलाई काष्ठमण्डप पुनर्निर्माणको जिम्मा दिँदा स्थानीयबीचमै विवाद आएपछि काम रोकिएको हो । त्यसैगरी जनप्रतिनिधि आएर महानगर आफैँले पुनर्निर्माण गर्ने भनेर अघि सारेको तर महानगर सोचेअनुरुप अगाडि नबढेको कारण उनको भनाइ।

महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्य सहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचित भए लगत्तै मेयर शाक्यले काष्ठमण्डप महानगरले पुनर्निर्माण गर्ने घोषणा गरे । तर, उनको घोषणा घोषणामै सीमित भएको छ ।

‘सम्पदा पुनर्निर्माण घर बनाएको जस्तो होइन,’ उनले भने, ‘सबैको विचार र मन्थनलाई समेट्नुपर्छ । बनेपछि भन्दा अगाडि नै विवाद हुनु राम्रो हो । त्यसैले स्थानीय पनि एकमत हुनुपर्छ । र, महानगरले यसको नेतृत्व लिएर अगाडि बढाउनुपर्छ ।’ उनका अनुसार स्थानीयसँग समन्वय गरेर महानगरले अगाडि बढाउन सक्छ।

मेयर शाक्य महानगरले स्थानीयसँग समन्वय गरेर बनाउन अगाडि बढेको बताउँछन्। ‘लागतचाँहि हामीले दिनुपर्ने रे,’ शाक्यले भने, ‘अनि स्थानीय हामीलाई बेवास्था गर्दै काष्ठमण्डप बनाउन अगाडि बढेपछि रोकेर हामी आफैँ बनाउँछौँ भनेका हौँ ।’ विभिन्न कारणले गर्दा काष्ठमण्डप पुनर्निर्माण ढिला भएपनि अब स्थानीयसँग समन्वय गरेर चाँडै अगाडि बढाउने उनले बताए।

‘बिहीबार भएको मन्त्रीस्तरिय बैठकबाट प्राविधिक कुरा पुरातत्व विभाग र स्थानीयसँग समन्वय महानगरले गरेर काष्ठमण्डप पुनर्निर्माण थाल्ने निर्णय भएको छ,’ शाक्यले भने, ‘सबै समस्याको समधान गरेर जेठबाट काष्ठमण्डप पुनर्निर्माण थालिनेछ ।’ उनका अनुसार महानगरकै नेतृत्वमा स्थानीयसँग समन्वय गरेरै काष्ठमण्डप पुनर्निर्माण थालिनेछ । आफूले नेतृत्व लिन नसकेको कुरा भने मेयर शाक्य स्वीर्कादैनन् ।सम्पदाको आ–आफ्नै खालको महत्व हुन्छ । पुनर्निर्माण गर्दा पनि सोही महत्वअनुसार काम गर्नुपर्ने हुन्छ । यी सबै महत्व बुझेर महानगरले गर्न नसक्ने अनुमान स्थानीयको छ।

‘महानगरले बनाउँदा ठेकेदारलाई दिने हो,’ आलोशसिद्धि तुलाधरले भने, ‘ठेक्का दिँदा सम्पदाको संरचना ठडिएला तर आत्मासहितको सम्पदा बन्न सक्दैन।’काष्ठमण्डपमा गाईलाई खानेकुरा खुवाउनेदेखि झन्डा फहराउनेसम्मका संस्कृति तथा परम्परा छन् । यस्ता संस्कृति तथा परम्परालाई ठेकेदारले बुझ्न नसक्ने हुँदा स्थानीय आफैँले बनाउन लागेपनि सरकारले रोकेको उनको दाबी छ।

‘कला, संस्कृति थाहा भएका यहाँका स्थानीय बनाउन लाग्दा सरकारले दिएन,’ अभियानका अध्यक्ष श्रेष्ठले भने, ‘ठेक्का लगाउँदा ठेकेदारबाट कमिसन पाउने हुँदा सरकारी निकाय हामीलाई हटाएर ठेक्काबाट पुनर्निर्माण गर्ने पक्षमा छ ।’ उनका अनुसार ठेक्का प्रणालीमा बनेको सम्पदामा जीवित आत्मा नहुने हुँदा त्यो स्थानीयलाई मान्य हुनेछैन।

काष्ठमण्डप पुनर्निर्माणको लागि प्राविधिक सहयोग पुरातत्व विभागले गर्नुपर्छ । विभाग भने त्यसका लागि तयार रहेको बताउँदै आएको छ । ‘हामी आर्थिक, प्राविधिकलगायतका आवश्यक सबै सहयोग गर्न तयार छौँ,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सम्पदा परम्परागत सामग्री र शैलीमा काष्ठमण्डप बनाउनुपर्छ।’

प्रकाशित: २३ चैत्र २०७४ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App