८ वैशाख २०८१ शनिबार
विचार

ओलीको भ्रमण मिसन

‘कूटनीति त्यस्तो क्षेत्र हो, जसले कुनै पनि विवाद, झगडा र लडाइँसमेतलाई अन्त्य गर्ने सुरुवात गर्छ ।’ यसक्षेत्रमा लागेकाहरूले सुनाएको कूटनीतिक वार्तासम्बन्धी एउटा भनाइ बहुतै रोचक मात्र होइन, घोचक पनि लाग्यो ।

दुई देशले वर्षौं लडाइँ गर्दा पनि युद्ध जित्न सकेनन् । देश ध्वस्त प्रायः भएपछि युद्ध कसरी टुंग्याउने भन्ने वार्ता गर्न दुवै सरकारहरू मन्जुर भए । वार्ताकारहरू छानिए । वार्ता गर्ने ठाउँ तोकियो । वार्तास्थल सिसाको घर थियो । उनीहरूका प्रत्येक क्रियाकलाप बाहिरबाट छर्लंगै देखिने । तर उनीहरूले गरेको कुराकानी भने नसुनिने !

यो भ्रमण आतसबाजीको जस्तो एकैछिनको झिलीमिली मात्र नहोस् । सौम्य, शालिन र चुस्त व्यवस्थापनमा प्रधानमन्त्री ओलीको अवतरण, वार्तालाप र फिर्ती होस्। 

वार्ता निकै दिन चलिरह्यो । दुवै देशका सर्वसाधारण वार्ता भएको ठाउँ हेर्न आउँथे । भित्र वार्ताकारहरूको कुराकानी चलिरहेकै थियो । उनीहरू चिया–कफी पिइरहेका, खाना–खाजा खाइरहेका, हात–मिलाइरहेका, एकले अर्कालाई सम्मान गरिरहेका, मस्तसँग हाँसिरहेका देखिन्थे । यो सबै देखिरहेका सामान्य मानिसहरू ठानिरहेका थिए, आफ्नो देशको वार्ताकारलाई शत्रुपक्षले किनिसक्यो कि क्याहो ?

नकिनिएका भए लडाइँमा आफ्नै सिपाही मारिरहनेहरूसँग बसेर वार्ता गर्नेहरू भोजभत्तेर खादै हाँसीहाँसी कसरी बस्न सक्थे ? उनीहरू टेबुल ठोकाठोक गरेर तेरो देशले यस्तो अन्याय ग¥यो, यतिमानिस मा¥यो र यति आर्थिक लुट लुट्यो भनेर लडभीड पो गर्नुपथ्र्यो । तर वार्ताकारहरू त वर्षौंदेखिका मित्र जसरी पो गफ गरेर बसिरहेका छन् ! त्यसैले यिनीहरू पक्कै मिले र देशप्रति गद्दारी गरे !

कूटनीतिक वार्ताहरू यति जटिल, संवेदनशील र बुझ्नै मुस्किलका हुन्छन् । वार्तामा बसेकाहरूका गतिविधिलाई हेरेर शत्रुसँग मिल्यो कि आफ्नो अडान राखिरहेको छ ? सहजै बुझ्नै नसकिने ! केहो केहो ? अहिले यस्तै अवस्था हाम्रा प्रधानमन्त्री केपी ओलीमाथि आइपरेको छ । 

हिजो भारतले लगाएको ज्यानमारा नाकाबन्दीसँग जुधेका, चीनसँग व्यापार पारवहन सन्धि गरेर बाटो खुलाएका, ०७२ फागुनमा भ्रमण गर्न भारतले निम्तो गर्दा पहिले नाकाबन्दी खोल, होइन भने तिम्रो निमन्त्रणा स्वीकार्दिनँ भन्ने अडान लिएका र ०७४ सालको निर्वाचनमा जनताले जिताएर शक्तिशाली प्रधानमन्त्री बनेका केपी ओली भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेपछि उनका विरोधीहरूमा हल्का कोकोहोलो मच्चिएको देखिएको छ–ओलीले अडान छाड्छ, भारतको पोल्टोमा जान्छ । देश बेचेर आउँछ आदि आदि ।

के साँच्चै प्रधानमन्त्री ओली भारतमा त्वम्शरणम् गर्न जान लागेका हुन् ? हिजो अर्काको वैशाखीमा टेकेर कमजोर प्रधानमन्त्री रहेका बेलामा भारतले ज्यानमारा नाकाबन्दी लगाउँदासमेत देशको सार्वभौमसत्ता र स्वाधीनताको पक्षमा पहरो बनेर उभिने ओली आज सर्वशक्तिमान प्रधानमन्त्री बनेका बेला भारतमा गएर देशको अहित गर्लान् ? आलोचकका विरोध र तिनका हावादारी आरोपहरू सुन्दा लाग्छ, हाम्रा आरोपीहरू पनि कूटनीतिक वार्ता भइरहेको सिसाको घरबाहिर उभिने दर्शक जस्तै अल्पशंका, दीर्घशंका र लघुशंकामा जेलिएका प्राणी हुन् ! होइन भने, तीनतिरबाट घेरिएको निकट छिमेकी भारतसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले औपचारिक यात्रामा निस्कन लागेका र देशलाई स्वाधीन, समृद्ध र सम्पन्न बनाउने जनादेश पाएको प्रधानमन्त्रीमाथि यस्ता काँचा आरोप उनीहरूले कदापि लगाउन नपर्ने हो !

प्रधानमन्त्री ओलीमाथि आरोप लगाउनेहरूले के थाहा पाउन सकेनन् भने यो यात्रामा सबैभन्दा बढी दबाबमा ओली नै रहनेछन् । नाकाबन्दीले बेहोस बन्न लागेका जनतालाई ब्यूँताएर स्वाभिमानको ठाडो शिर बनाउने साहसी काम ओलीले नै सम्भव गरेका थिए । त्यसैले ओलीको भारत भ्रमण एकदमै संवेदनशील विषय हो । यो लरतरो काम किमार्थ होइन । शत्रुता र युद्धको जस्तो अवस्थामा पुगेको नेपाल–भारत सम्बन्धलाई सुधार्ने मात्र होइन, अझ उचाइमा पु¥याउनुपर्ने चुनौती ओलीमाथि छ । उनीमाथि तीन करोड नेपालीको स्वाभिमान बढाउँदै राष्ट्रियतालाई प्रगाढ बनाउने जिम्मेवारी पनि छ ।

ओली त्यतिबेला भारतको राजकीय भ्रमणमा गइरहेका छन्, जतिबेला भारतमा आमचुनावको सरगर्मी सुरु भइसकेको छ । हिजो नेपालमा संविधानसभाले संविधान जारी गर्दा त्यसलाई रोक्न खोज्ने भारतले आज ओलीलाई भारत भ्रमण गर्ने निमन्त्रणा दिएको छ । ओलीले नेपालमा भएको निर्वाचनमा विजय हासिल गर्दादेखि नै उनलाई बधाइ शुभकामना दिने मात्र होइन, प्रचण्ड बहुमत प्राप्त प्रधानमन्त्रीको सपथ नखाँदै ओलीलाई भेटेर बधाइ दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो परराष्ट्रमन्त्री सुषमा स्वराजलाई विशेषदूतको रूपमा काठमाडौँ पठाए । यसले दिएको स्पष्ट सन्देश हो, हिजो नेपालप्रति भारतले जुन दुष्कर्म ग¥यो त्यसमा भारतीय सरकार पश्चात्ताप गर्दै सम्बन्धलाई नयाँ शिराबाट थालनी गर्न चाहन्छ ।

ओली नेपालको परराष्ट्रमन्त्री भइसकेका व्यक्ति हुन् । उनले नेपाल भारतबीचको सम्बन्धमा धमिलो पानीमा माछामार्न पल्केकाहरूलाई चिनेकै होलान् । त्यसैले उनले भारत भ्रमण गर्नु अगाडि देशभित्र जुन व्यापकस्तरको भेटघाट कुराकानी गर्दै तयारी गरिरहेका छन्, त्यसले उनमा रहेको परिपक्वता प्रदर्शन भएको छ । भ्रमणको तयारी र एजेन्डाबारे उनले संसद्लाई जानकारी गराइसके । प्रमुख प्रतिपक्ष, पूर्वप्रधान र परराष्ट्रमन्त्रीहरू, नेपाल–भारत सम्बन्धमा काम गरिरहेको इपिजी लगायत विषयविद् र अनुभवी विद्वान्हरूका कुरा सुनिरहेका, हेरिरहेका र पढिरहेका छन् । उनी प्रष्ट दृष्टिकोण बनाएर भ्रमणमा निस्कँदै छन्, यो वास्तवमा नेपालको कूटनीतिक यात्राको नयाँ अध्यायको सुरुवात नै हो । यसले राजनीतिक, आर्थिक र कूटनीतिक क्षेत्रमा ‘भाइब्रेसन’ सिर्जना गरेको छ ।

ओलीले आसन्न भारत भ्रमणबारे जानकारी गराउँदै संसद्मा भने, मेरो यो भ्रमण दुई एजेन्डाको मात्र रहेको छ । पहिलो–छिमेकी भारतसँग मित्रताको गाँठो बलियो बनाउने र दोस्रो–विगतका सहमतिसम्झौताहरू कार्यान्वयन गर्ने । यसमा कुनै पनि माननीयहरूले नियमापत्ति जनाएनन् । तर सावधानी अपनाउनुपर्ने विषय के भने विगतमा देउवा सरकारले गरेको भारतको योजना आयोगसँग मिलेर दुई देशले विकास गर्ने भन्ने सहमति र प्रचण्डसरकारले संयुक्त विज्ञप्तिमा समावेश गरेको अन्तर्राष्ट्रिय फोरमहरूमा भारत र नेपालको एउटै नीति हुन्छ भन्ने कुरा खारेजी गर्नुपर्छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा बीपी कोइरालाले प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसंघमा सन् १९६० मा सम्बोधन गर्दा नेपालले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा कसैले उपदेश दिनु पर्दैन, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरे पुग्छ भनेको कुरा स्मरणीय छ । 

प्रधानमन्त्री ओलीलाई यी कुरा छ्यांग हुनुपर्छ । तर धमीलो पानीमा माछा मारेर खान पल्केका एकथरीलाई लागेको छ, ओलीले भारतसँग टक्कर लिनुपर्छ । उनलाई गएको चुनावमा भारतसँग टक्कर लिनका लागि नै नेपाली जनताले भोट दिएका हुन् । अर्काथरी भन्छन्, भारतको गुलामी नगरी नेपालमा केही हुनसक्दैन । त्यसैले भारतले जेजे भन्छ, त्यसैलाई जी–हजुरी गर्नुपर्छ । भारतसमक्ष आत्मसमर्पण नै गर्नुपर्छ भनेर उनीहरू लम्पसार पर्छन् । 

तर, ओलीले के भनिरहेका छन् भने छिमेकसँग सौहाद्र्रपूर्ण सम्बन्ध नै राख्नुपर्छ । लामोसमयपछि नेपालमा बनेको दुई तिहाइ बहुमतको सरकारले एक्काइसौँ शताब्दीको छिमेकीसँगको सम्बन्धलाई प्रगाढ बनाउने सरकारी सक्रियता बढाउनेबित्तिकै विदेशी भजन गाएर खानेहरूको मुहान सुक्नेछ । भनिन्छ नि, सूर्यनारायण नै उदाइसकेपछि टुकी बाल्नेहरूको दोकान आफैँ बन्द हुन्छ । मोदीलाई नै ओलीले निर्वाचनमा बधाइ दिँदा जसरी नेपाल भ्रमण गर्ने निमन्त्रणा दिएका थिए, ओलीको भ्रमणपछि त्यो कार्यान्वयन भयो भने जनस्तरको कूटनीतिले नयाँ गति पाउनेछ ।

भारतसँग नेपालको भौगोलिक, सांस्कृतिक, पुरातात्विक, सामाजिक अनेक खालको सम्बन्ध छ र यसलाई ख्याल गरेर नै अगाडि बढ्नुपर्छ । भावनात्मक रूपमा बहकिएर हुँदैन, दुई देशको सम्बन्धलाई प्रवद्र्धन ग¥यो भने दुवैै देशले लाभ प्राप्त गर्न सक्छन् । दुवै वीन–वीन बन्न सक्छन्।  

नेपालमाथिको नाकाबन्दीमा भारतको असफलताले भारत सरकारका प्रमुख मोदीलाई ठूलो शिक्षा प्राप्त भएको हुनुपर्छ । ओलीसँगको मोदीको निरन्तरको संवादले भारतको अडान नै सिफ्ट भएको बुझ्न सकिन्छ । बेलायती बाबुले छाडेको ठाउँमा बसेपछि आफूलाई नयाँबाबु ठान्ने भारतीय ब्युरोक्रेसीले स्वयं आफ्नो प्रधानमन्त्रीलाई कति गुमराहमा राख्दै ‘मिसरिपोर्टिङ’ ग¥यो यसको पीडा मोदीलाई नै थाहा होला । किनभने, संविधानसभामा भाषण गरेर मोदीले सांसदको मात्र होइन, नेपाली जनताकै ताली खाएका थिए । नेपालीहरूको मित्रता, पारस्परिकता र सौहार्द्रतालाई भारतीय नाकाबन्दीले खरानी बनाइदियो। 

यो भ्रमणमा दुवै प्रधानमन्त्री, नेपालका ओली र भारतका मोदीले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ । दक्षिण एसियाली सहयोग संगठन, सार्कको वर्तमान अध्यक्ष नेपाल नै भएकाले आठवटै सदस्य राष्ट्रहरूको कुलदेवताकारूपमा पुनर्परिभाषित गर्ने अवसर पनि ओलीले यो भ्रमणलाई बनाउन सक्नुपर्छ। ओली आश, विश्वास र नेपाली जनताको साथ पाएका राजनेता हुन् । ओली र मोदीमा धेरै समानता पनि छन् । दुवै भुइँबाट उठेका त्यस्ता नेता हुन्, जसका राजकुमार र राजकुमारीहरू छैनन् । युवराज र युवराज्ञीको बोझ पनि उनीहरूमाथि छैन । देशको सम्मान र जनताको समृद्धि नै दुवैको एकमात्र लक्ष हो । दुवै नेताका अगाडि व्याख्या विश्लेषण होइन, डेलिभरी गर्ने चुनौती छ।

यो भ्रमण आतसबाजीको जस्तो एकैछिनको झिलीमिली मात्र नहोस् । सौम्य, शालिन र चुस्त व्यवस्थापनमा प्रधानमन्त्री ओलीको अवतरण, वार्तालाप र फिर्ती होस् । किनभने सूचना प्रविधिको चमत्कारले प्रधानमन्त्री जाँदादेखि फर्किंदासम्मका हरेक स्टेपहरूलाई चनाखो, स्वाभिमानी र गौरवकासाथ तीन करोड नेपालीका छ करोड आँखाले रिट्ठो नबिराई हेरिरहेका हुनेछन् । प्रधानमन्त्रको भ्रमण सेल्फी भ्रमणमा सीमित नहोस्, शुभकामना! 

प्रकाशित: २२ चैत्र २०७४ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App